
आख्यानकार गणेशप्रसाद लाठ अब गैरआख्यानकारका रूपमा आएका छन् । यसअघि चारवटा उपन्यास लेखिसकेका उनले ‘सीमान्त सम्झना’ नामक संस्मरण पुस्तक लेखेका हुन् ।
शनिबार कालिकास्थानस्थित नेपालयको आरसालामा सीमान्त सम्झना पुस्तक लोकार्पण गरियो । पब्लिकेसन नेपालयको सार्वजनिकीकरण शैलीअनुरूप हलमा उपस्थितमध्येबाट कसैलाई लेखकले पुस्तक उपहार दिएपछि पुस्तक लोकार्पण गरिन्छ ।
‘पुस्तक कसलाई उपहार दिन चाहनुहुन्छ ?’ भन्ने उद्घोषकको प्रश्नमा लेखक लाठले भने, ‘हाम्रो मधेशको नयाँ अध्येता अदिती साह र लेखक मोहन मैनालीलाई उपहार दिन चाहन्छु ।’
यसरी एलएलबी चौथो सेमेस्टर अध्ययनरत अदिती साह र गत वर्ष मदन पुरस्कारप्राप्त कृति ‘मुकाम रणमैदान’का लेखक मोहन मैनालीका साथै पुस्तकका टिप्पणीकार यादव देवकोटासहित लेखक लाठले पुस्तक लोकार्पण गरे ।
लोकार्पित पुस्तक ‘सीमान्त सम्झना’बारे लेखक यादव देवकोटाले टिप्पणी गरे । इतिहास र संस्कृति विषयमा कलम चलाउँदै आएका टिप्पणीकार देवकोटाले भने, ‘म शहरमा आलोचक यदाकदा निन्दकका रूपमा चिनिन्छु । तर, म आज यहीँबाट एकमुष्ट रूपमा भन्न चाहन्छु- सीमान्त सम्झनाजस्ता राम्रा पुस्तक लेखे सारा मानिस धुइरिएर नराम्रो छ भन् भने पनि म यो पुस्तक ज्ञानवर्द्धक र पठनीय छ भन्छु ।’
वीरगञ्जका अर्का लेखक धच गोतामेको उपन्यास ‘घामका पाइलाहरू’बाट आफ्नो मन्तव्य शुरू गरेका देवकोटाले ‘सीमान्त सम्झना’ले सरदार भीमबहादुर पाँडेले लेखेको ‘त्यस बखतको नेपाल’कै स्तरमा वीरगञ्ज शहरको सामाजिक, आर्थिक इतिहास लिपिबद्ध गरेको बताए । उनले भने, ‘त्यस बखतको वीरगञ्ज बुझ्न यो पुस्तक पढ्नैपर्छ ।’
‘सीमान्त सम्झना’ पुस्तक कोरा कल्पनामा आधारित नभएको र आत्मश्लाघाबाट पनि मुक्त रहेको देवकोटाले टिप्पणी गरे । पुस्तकका लेखक गणेशप्रसाद लाठ वीरगञ्जमा बस्छन् । ‘क्षमादान’ उपन्याससहित यसअघि उनका चार पुस्तक प्रकाशित छन् ।
आफूहरूले ‘सीमान्त सम्झना’मा साहित्यको रसिलो शैली र गैरसाहित्यको शोध शैली संयुक्त रूपमा भेटेको हुँदा पुस्तक प्रकाशन गरेको पब्लिकेसन नेपालयका सम्पादक विमल आचार्यले बताए ।
‘सीमान्त सम्झना शोधपत्र र सोचपत्र दुवै हो’, सम्पादक आचार्यले भने, ‘लेखक गणेशप्रसाद लाठ एक जनाको मात्र नभएर पुस्तकमा धेरै जनाको भोगाइ समेटिएको छ, त्यसैले यो पुस्तक सामूहिक स्मृतिपुञ्ज र लोकइतिहास हो । सन्दर्भसामग्री, अनुसूची, कुराकानीसूची र तस्वीरसूचीले पुस्तक संग्रहणीय बनेको छ ।’
हरेक अंग्रेजी महिनाको दोस्रो शनिबार आरसालामा पुस्तक लोकार्पण गर्दै आएको नेपालयले सन् २०२५ भरिका लागि पुस्तक लोकार्पण क्यालेन्डर तयार पारिसकेको कार्यक्रममा जानकारी दिइयो ।
केही रंगीन पृष्ठसहित ३३२ पृष्ठको ‘सीमान्त सम्झना’को मूल्य ७४५ रूपैयाँ रहेको छ ।