२८ जेठ २०८३, बिहीबार

१२ संघीय अस्पतालमा सेवा थप तथा विस्तार

बैशाख २, २०८२
काठमाडौं
१२ संघीय अस्पतालमा सेवा थप तथा विस्तार

देशका १२ संघीय अस्पतालले चैत महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् ।

मन्त्रालयले गत चैत पहिलो साता संघीय अस्पतालमा सेवा थप तथा विस्तार गर्ने तालिका सार्वजनिक गरेको थियो ।

स्वास्थ्य सचिव डा. विकास देवकोटाले संघीय अस्पतालमा तालिकाअनुसार काम सम्पन्न गर्न निर्देशन दिएका थिए । चैत महिनाभित्र प्राप्त विवरणअनुसार अधिकांशले तोकिएको समयभित्र सेवा विस्तार गरेको पाइएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । 

वीर अस्पतालले पाठेघरको मुखको क्यान्सरविरुद्ध काठमाडौं महानगरसँगको सहकार्यमा निःशुल्क शिविर सञ्चालन गरिरहेको छ । यसैगरी, अस्पतालअन्तर्गतको ट्रमा सेन्टरले सीटीस्क्यान तथा एक्सरेमा फिल्म हटाएर डिजिटल रिपोर्ट प्रदान गर्न थालेको छ । 

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले न्युरोलोजी सेवामा इलेक्ट्रोमेलोग्राफी र स्नायु सञ्चालन परीक्षण एनसीभी शुरू गरेको छ ।

कान्ति बाल अस्पतालले बालबालिकाका लागि हेमोडाइलासिस सेवा शुरू गरेको छ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले कुपण्डोल शाखामा सिमुलेसन प्रयोगशाला तथा बर्न युनिट विस्तार गरेको प्रवक्ता डा. बुढाथोकीले बताए । 

तनहुँको दुलेगौंडास्थित जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रले हेमोडाइलासिस सेवा शुरू गरेको छ भने भक्तपुर क्यान्सर अस्पतालले मुटुको इको तथा पीएफटी सेवा आरम्भ गरेको छ ।

कोशी अस्पताल विराटनगरले निःसन्तान उपार सेवा आईभीएफ शुरू गरेको छ । डडेलधुरा अस्पतालले भने एकै स्थानबाट प्रयोगशाला नमूना लिने गरी एकीकृत ल्याब नमूना संकलन शुरू गरेको छ । 

वीरगञ्जको नारायणी अस्पतालले एनआईसीयूमा विद्युतीय चिकित्सा प्रतिवेदन लागू गरेको छ भने हिस्टोप्याथोलोजी, अडियोग्राम तथा कोलोप्सोकोपी र क्रियोथेरापी सेवा एकैसाथ शुरू गरेको छ । 

भेरी अस्पताल नेपालगञ्जले चैत महिनाभित्र आईसीयूमा दुई शय्या तथा बर्न वार्डमा दुई समेत थप गरी आठ शय्या विस्तार गरेको छ ।

चैतभित्रै एमसीएच भवन तथा ल्याब मेसिन थप्ने बताएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्यान ल्याब स्थापना गर्ने बताएको भरतपुर अस्पतालले भने सेवा शुरू गर्न सकेका छैनन् । 

ती दुवै अस्पतालले चाँडै सेवा थप्ने जानकारी मन्त्रालयमा सम्प्रेषण गरेको प्रवक्ता डा. बुढाथोकीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्