२९ जेठ २०८३, शुक्रबार

नयाँ वर्षमा नेपाली चलचित्रलाई दर्शकको साथ

बैशाख ३, २०८२
काठमाडौं
नयाँ वर्षमा नेपाली चलचित्रलाई दर्शकको साथ

नेपाली चलचित्रका लागि नयाँ वर्ष उत्साहजनक हुने गरेको छ । अर्थात् नयाँ वर्षका दिन प्रदर्शनरत चलचित्र हेर्न दर्शक चलचित्र भवनमा पुग्ने गरेका छन् । 

यस वर्षको शुरूआतमा दर्शकको भीडभाड चलचित्र भवनमा देखिएको छ । प्रदर्शनरत चलचित्र ‘पिताम्बर’, ‘अञ्जिला’, ‘वसन्त’, ‘कर्मा’लगायत हेर्न दर्शकको उत्साहजनक उपस्थिति रहेको निर्माण पक्षले जनाएको छ । निर्देशक कृषा चौलागाईंले चलचित्र ‘पिताम्बर’ले नयाँ वर्षको दिन सोमबार प्राप्त गरेको शोहरू भरिभराउ रहेको बताए । 

उनले भने, 'हामीले काठमाडौं उपत्यकाका अधिकांश चलचित्र भवन पुगेर दर्शकको प्रतिक्रिया लिएका छौँ । चलचित्र हेर्नेले राम्रो प्रतिक्रिया दिनुभएको छ । नेपालमा यस्तो चलचित्र बन्छ भन्ने प्रतिक्रिया दिनु नै हाम्रो सफलता हो,' उनले भने । 

व्यापारिक रुपमा आफ्नो समूह सफल हुने उनको भनाइ छ । उक्त चलचित्रमा अभिनेता सौगात मल्ल, दयाहाङ राई, प्रदीप खड्का, अनुपविक्रम शाही, आर्यन सिग्देल, दिव्यदेव पन्त, प्रमोद अग्रहरी, दिव्या रायमाझी, सुपुष्पा भट्ट, सुरक्षा पन्त, गौरव विष्टलगायत कलाकारले अभिनय गरेका छन् ।

यस चलचित्रलाई ‘मल्टीस्टारर’ भनिएको छ । उल्लेखित कलाकार कथाको मागका कारण राखिएको निर्देशक चौलागाईंले जानकारी दिए । उनले चलचित्र हेरिरहँदा दर्शकले हरेक कलाकारलाई कथासँग जोडिएर प्रस्तुत गरेको अनुभूति गर्ने बताए ।

'हामीले दर्शकलाई एउटा स्तरीय चलचित्र दिने कोसिस गरेका छौँ । कलाकारको भीडभाड देखिए पनि कथाअनुसार सबै आवश्यक छ । यो चलचित्रपछि अन्य निर्मातालाई यी कलाकारलाई लिएर चलचित्र निर्माण गर्ने आँट आउनेछ', निर्देशक चौलागाईंले भने । उक्त चलचित्रले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको ‘सेन्ट्रल म्यानेज्मेन्ट टिकट सिस्टम’ (बक्स अफिस)मा एक करोड ८६ लाख (ग्रस) व्यापार गरेको तथ्याङ्क छ । 

अभिनेता विपीन कार्की, दिव्यदेव पन्त, मुकुन भुसाल, उपासना सिंह ठकुरीलगायतले अभिनय गरेको चलचित्र ‘कर्मा’मा दर्शकको उपस्थिति उल्लेख्य देखिएको छ । सौरभ चौधरीले निर्देशन गरेको चलचित्र द्वन्द्व प्रधान विधामा तयार भएको छ । 

प्रकाश सपूतले अभिनय तथा निर्देशन गरेको चलचित्र ‘वसन्त’, नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’मा पनि नयाँ वर्षमा दर्शकको उत्साहजनक उपस्थिति रहेको छ । ‘बक्सअफिस’ मा यस चलचित्रले एक करोड ७७ लाख (ग्रस) कारोबार गरेको तथ्याङ्क छ ।

‘अञ्जिला’ चलचित्रका निर्देशक मिलन चाम्सले प्रदर्शनको पाँचौँ हप्तामा प्राप्त दर्शकको साथले निर्माण समूह कृतज्ञ रहेको बताए । उनले भने, 'पहिलोपटक खेलाडीको जीवनीमा बनेको नेपाली चलचित्रले सफलता पाएको छ । यसले आगामी दिनमा अन्य क्षेत्र झै खेलाडीको विषयलाई चलचित्रमा ल्याउन निर्मातालाई आँट दिएको छ । साथै, हामीले कप्तान सुब्बाको घर बनाउने भनेका छौँ, यो पनि छिट्टै पूरा हुने भएको छ ।' चलचित्रमा कप्तान सुब्बासँगै दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङलगायत कलाकारले अभिनय गरेका छन् । रासस

salt training

कमेन्ट गर्नुहोस्