२८ जेठ २०८३, बिहीबार
सिद्धिलक्ष्मी स्टील्सको ज्यादती : भाग–१

सिद्धिलक्ष्मी स्टील्सको लापरवाहीले खोलामा बग्न थाल्यो रसायन, स्थानीयको उठीबास [भिडियो स्टोरी]

‘स्थानीयमाथि उद्योगको निरन्तर पेलान, अनियन्त्रित प्रदूषणले बालबालिका र पशु चौपाया बिरामी’
बैशाख ३, २०८२
काठमाडौं
सिद्धिलक्ष्मी स्टील्सको लापरवाहीले खोलामा बग्न थाल्यो रसायन, स्थानीयको उठीबास [भिडियो स्टोरी]

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को रामग्राम नगरपालिका वडा नम्बर ६ र १० मा रहेको सिद्धिलक्ष्मी स्टील्स प्रालिले स्थानीय बासिन्दाको स्वास्थ्यमाथि गम्भीर खेलबाड गरेको पाइएको छ । वरिपरि रहेको बस्ती नै विस्थापित गर्ने गरी सिद्धिलक्ष्मीले गम्भीर लापरवाही गरेको र कानूनको समेत धज्जी उडाएको पाइएको हो ।

उद्योगले फैलाएको प्रदूषणका कारण स्वास्थ्यमा परेको असर त छँदैछ, जीवनयापनका लागि पालिएका पशु चौपाया समेत बिरामी पर्न थालेको स्थानीयले गुनासो गरेका छन् ।

null

उद्योगबाट निस्किने धूलो, धुवाँ, फोहोर पानी र ढलले वरपरको वातावरण दुर्गन्धित बनेको छ । साथै, उद्योगले फाल्ने हानिकारक रसायनले खेतिपाती समेत प्रभावित भएको छ ।

फ्याक्ट्रीवरपर दुर्गन्ध फैलिएको छ भने सास फेर्न पनि गाह्रो हुन थालेको छ । फिल्ड रिपोर्टिङका लागि लोकान्तर टीम त्यहाँ पुग्दा उकुसमुकुसको स्थिति थियो ।

उद्योगभित्रको ढल सिधै स्थानीयको घरआँगनमै पठाउने गरेको, नजिकै बग्ने खोलामा उद्योगबाट निस्कने हानिकारक रसायन छाड्ने गरेको वास्तविकता समेत पत्ता लागेको छ ।

null

लक्ष्मी समूहले ७ वर्षअघि उक्त स्थानमा सिद्धि लक्ष्मी स्टील कारखाना खोलेको थियो । कारखानाका लागि स्थानीयबाट जग्गा किनिएको भनिए पनि कतिपय जग्गा यत्तिकै हडपेको आरोप लाग्दै आएको छ ।

त्यसमाथि उक्त उद्योगका लागि आवश्यक विद्युतको ट्रान्सफर्मर र पोलहरू पनि आफ्नो जग्गामा जबरजस्ती राखेको र गुनासो कहीँकतै सुनुवाइ नभएको आरोप लगाएका छन् । 

null

यसरी गरिँदैछ स्थानीयको स्वास्थ्यमा खेलबाड

स्थानीय रामकिसुन केवटले उद्योगबाट निस्केको फोहोरले आफ्ना बालबालिका र पशु चौपाया असुरक्षित बन्न थालेको गुनासो गरे ।

null

‘यति धेरै प्रदूषण भइरहेको छ कि हामी यहाँबाट भाग्नुपर्ने अवस्था आइसक्यो । रातदिन फ्याक्ट्रीले टेन्सन दिएको छ । धुवाँ उस्तै फालेको छ । फ्याक्ट्री चलाउँदा यहाँ धुँवाको बादल लाग्छ । धूलोले सास फेर्न गाह्रो हुन्छ । बालबालिकालाई खोकी र आँखा पोल्ने समस्या छ अनि छालाको रोग देखिएको छ,’ केवटले लोकान्तरसँग भने । 

उनले यहाँ बस्न निकै गाह्रो भएको गुनासो गरे । ‘यहाँ मान्छेलाई बस्न निकै गाह्रो भएको छ । न नालाको पानी व्यवस्थित गरेको छ, न त फोहोर पानी खोलामा हाल्न बन्द गरेको छ । हामी निकै धेरै दुर्गन्ध सहेर बसेका छौं । जानाजान बदमासी भएको छ ।’

null

फ्याक्ट्रीबाट पीडित अर्का स्थानीय वसन्तकुमार केवटले उद्योगबाट निस्किने फोहोर पानी खेत र नहरमा मिसिँदा बालीमा असर परेको र जमिनको उर्वराशक्ति घटेको गुनासो गरे ।

‘उद्योग चलाएको छु भन्दैमा मनोमानी गर्न पाइन्छ ? हाम्रा बाख्रा, कुखुरा र हाँस छन् । फोहोर पानीले सबै बिरामी छन् । हाम्रो क्षति हुँदैन ? यत्तिको दुर्गन्ध आएको छ, तपाईंहरू आफैंले थाहा पाउनु भएको छ नि । हामीले यो दुर्गन्धमा भात कसरी खाने ?’ आक्रोशित हुँदै उनले प्रश्न गरे ।

उनले आफ्नो घरसँग जोडिएको खेतमा फ्याक्ट्रीले सिधै ट्वाइलेटको फोहोर पानीको पाइप लगाएको बताए । ‘हेर्नुहोस्, त्यो ट्वाइलेटको पानी बाहिर फ्याँकेको छ । सेफ्टीट्यांकी छैन । यस्तो अवस्थामा हामी कसरी बाँच्ने ? मैले भैँसीको उपचार धेरैपटक गराइसके ।’

null

उनले आफूहरूले यसबारे धेरैपटक फ्याक्ट्रीका सुरक्षागार्डलाई भनेको बताए । ‘यहाँको कमान्डरलाई हामीले धेरैपटक भन्यौं । तर, केही सुनुवाइ छैन,’ वसन्तले गुनासो गरे ।

उनले फ्याक्ट्री स्थापना गर्ने बेलामा जग्गा माग्न आउँदा रोजगारी दिन्छु भनेको, तर अहिले नदिएको बताए । ‘हामीसँग जग्गा माग्दा छोराछोरीलाई रोजगारी दिन्छु भनेको थियो । जग्गाको व्यवस्थापन गर्ने एकजना लच्छु भन्ने छ, अहिले त्यसले रोजगारी दिन्नौं, जे गर्न सक्छस् गर, भन्दै हिँडेको छ,’ वसन्तले आक्रोश पोखे ।

अर्का स्थानीय बालकुमार साहनीले आफ्नो घरअगाडि बनेको नालालाई फ्याक्ट्रीको गेटबाट अगाडि लैजान नदिएको भन्दै आक्रोश पोखे । 

null

‘नक्सामा सरकारी नाला ८ फिटको छ, तर अहिले हेर्नुस् त, फ्याक्ट्रीको गेटअगाडि नाला रोकिएको छ,’ बालकुमार साहनीले भने, ‘अब वर्षामा पानी जाम हुन्छ । त्यसमा ढल मिसाउन ह्युमपाइप ल्याएर राखेको छ, हेर्नुस् त !’

उनले आफ्नो जग्गामा बिजुलीको पोल जबर्जस्ती राखेको बताए । 

‘त्यो बिजुलीको पोल जबर्जस्ती हाम्रो जग्गामा राखेको छ । न त्यो जग्गा बेच्न सकिन्छ, न त घर बनाउन नै मिल्छ, हामी कहाँ जाने ?’ उनले भने । 

null

उनले आफ्नो एक कठ्ठा जग्गा उद्योगले खाइदिएको र त्यसका लागि लडिदिने कोही नभएको समेत गुनासो गरे । 

अर्का एक वृद्ध स्थानीयले फ्याक्ट्री बन्नुअघि खोलाको पानी पिउन मिल्नेजस्तै सफा भएको, तर अहिले दुर्गन्धले वरिपरि पर्न पनि नसकिने गरेको बताए । 

सबै हानिकारक रसायन खोलामा  

वडा नम्बर १० मा पर्ने खोला पनि मिचेर सिद्धिलक्ष्मी स्टील्सले नयाँ संरचना बनाउन शुरू गरेको छ । सोही खोलामा ६/७ वटा ठूला ह्युम पाइपमार्फत भित्रको हानिकारक रसायन छाड्ने गरेको छ । 

null

उक्त रसायनका कारण वरिपरिका बालबालिकाहरू बिरामी पर्न शुरू गरेका छन् । विशेष गरेर स्वासप्रश्वास र छालामा समस्या देखिन शुरू भएको छ । रातिको समयमा चल्ने फ्याक्ट्रीले निकाल्ने आवाज र भित्रको धूलो तथा धुँवाका कारण स्थानीय सुत्न समेत सकेका छैनन् । 

उक्त उद्योगले स्थानीय तहका जनप्रतिनिधि, जिल्ला प्रशासन र प्रहरी सबैलाई आफ्नो हातमा लिएर स्थानीयमाथि आतंक मच्चाएको आरोप छ । 

‘उद्योगबाट रातको समयमा समेत ठूलो आवाज, धूलो र धुवाँ निस्कने गरेको छ, जसका कारण हामी सुत्न पनि सकेका छैनौं,’ अर्का एक स्थानीयले भने, ‘हामीले बारम्बार उद्योग प्रशासनलाई यो समस्या समाधान गर्न आग्रह गर्‍यौं, तर कुनै सुनुवाइ भएको छैन ।’

वातावरणविद्हरूका अनुसार, स्टील उद्योगबाट निस्किने धूलोमा फलाम, कार्बन र अन्य रासायनिक कणहरू हुन्छन्, जसले फोक्सो, आँखा र छालासम्बन्धी रोगहरू निम्त्याउँछ । 

उद्योगनजिकैको खेतमा सिँचाइका लागि प्रयोग हुने पानीमा रासायनिक फोहोर मिसिँदा बाली उत्पादनमा समेत कमी आएको छ । ‘पहिला हाम्रो खेतमा धान र गहुँ राम्रो फल्थ्यो, तर अहिले बाली पहेँलिन्छ र उत्पादन घटेको छ,’ गुनासो गर्दै स्थानीयले भने ।

null

के भन्छ स्थानीय तह ?

वडा नम्बर ६ का अध्यक्ष विद्या सागर त्रिपाठीले स्थानीयको समस्या समाधान गर्न आफ्नो वडा र पालिकाले पहल गरिरहेको बताए ।

‘प्रदूषण र रोजगारीको विषय निरन्तर उठिरहेको छ । त्यसबारे हामीले समन्वय गर्ने प्रयास गरिरहेका छौं । हाम्रो निरन्तर छलफल भइरहेको छ,’ उनले लोकान्तरसँग भने ।

वातावरण संरक्षण ऐन, २०७६ मा उद्योगहरूले बाहिर प्रदूषण गर्न नपाउने उल्लेख छ । तर, सिद्धिलक्ष्मी स्टील्सले उक्त ऐन पालना गरेको देखिन्न । 

null

त्यसो त उक्त कम्पनीले गराएको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन पनि गोप्य राखिएको छ । वातावरण विभागले सिद्धिलक्ष्मी स्टील्सको ईआईए प्रतिवेदन आफूसँग नरहेको बताएको छ । 

महानिर्देशक ज्ञानराज सुवेदीले लोकान्तरसँग भने, ‘जे जति कम्पनीको ईआईए छ, त्यो हामीले वेबसाइटमा अपलोड गरेका छौं । वेबसाइटमा अपलोड नभएको प्रतिवेदन हामीसँग छैन ।’

null

ठूलो उद्योग भएकाले उक्त प्रतिवेदन पालिकामा पनि नरहेको वडाध्यक्ष त्रिपाठीले बताए । उक्त फ्याक्ट्रीले प्रत्येक ६/६ महिनामा गर्नुपर्ने ईआईए अडिट पनि नगरेको स्रोतको दाबी छ ।

४६ वर्षको व्यापारिक अनुभव बोकेको दाबी गर्ने लक्ष्मी समूह र यसका निर्देशक एवं उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले आफ्नो कम्पनीमा काम गरिरहेका एक मजदुरको हातको औँला काटिँदा पनि क्षतिपूर्ति दिएका छैनन् । 

बरु, उल्टै उनलाई कामबाट निकालेर बिचल्लीमा पारेका छन् । यसबारे विस्तृत रिपोर्टिङ हामी अर्को अंकमा गर्नेछौं :

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्