
नवलपुर १३ मंसिर- पूर्व पश्चिम राजमार्ग अन्तरगत पूर्वी नवलपरासीको गैडाकोट नगरपालिकाको मध्यभागमा पर्छ कांग्रेस चोक । चितवनको नारायणी पुलबाट दुई किलोमिटर अगाडि रहेको यो स्थानको नाम २०३८ सालअघि पूरानो मिल थियो ।
स्थानीय सीता पोखरेलका अनुसार पञ्चायतको समयमा कांग्रेसका नेताहरु लुक्न आउने भएका कारण यस ठाउँको नाम कांग्रेस चोक रहन गएको हो । नेपाली कांग्रेसका संस्थापन बीपी कोइराला, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला लगायतका नेताहरु यो ठाउँमा बसेका थिए ।
कांग्रेस नेता सूर्यभक्त अधिकारीले यो ठाउँको नाम कांग्रेस चोक राखेका स्थानीय दामोदर तिवारी बताउँछन् । नाम कांग्रेसचोक भएपनि गत संविधानसभा चुनावमा यो वडामा कांग्रेसको गढ भत्कियो, एमालेले चुनाव जित्यो । गत स्थानीय निर्वाचनमा गैडाकोट नगरपालिकामा एमालेले मेयर जितेपछि राजमार्ग छेउमा रहेको कांग्रेस चोक लेखिएको बोर्ड हराएको छ ।
दुईवटै संविधानसभा निर्वाचनमा नवलपरासी क्षेत्र नम्बर १ बाट विजयी नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला तेस्रो पटक चुनावी मैदानमा छन् । शशांकलाई टक्कर दिइरहेका छन्, वामपन्थी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका भवेश्वर पराजुलीले । प्रदेश सभातर्फ सूर्यप्रसाद न्यौपाने र रोशन गाहाँ वामपन्थी गठबन्धनको तर्फवाट चुनावी मैदानमा छन् ।
यसपटक पनि चुनाव जितेर ह्याट्रिक गर्ने दाउमा रहेका कांग्रेस महामन्त्री शशांकलाई माओवादीका युवा नेता भविश्वरले चुनौती दिएका छन् । ‘उहाँ पर्यटक उम्मेदवार हो, उहाँ बूढो पनि हुनु भयो, नवलपुरको विकासका लागि म नै सक्षम छु’ सोमवार रजहर चोकमा भेटिएका पराजुलीले लोकान्तरसंग भने, ‘उहाँ ह्यावी वेट नेता हो होइन, मंसिर २१ पछि थाहा हुन्छ ।’
कांग्रेसप्रति झुकाव राख्ने गैंडाकोटका नारायण प्रसाद पण्डित शशांक कोइरालाको पल्ला भारी हुँने दावी गर्छन् । ‘विगत देखि नै चुनाव जितेको राष्ट्रिय नेता भएका कारण यसपटक पनि शशांकको सम्भावना देख्छु’ पण्डितले लोकान्तरसँग भने । स्थानीय ८० बर्षीय दण्डपाणी कडेलपनि शशांकको सम्भावना बलियो देख्छन् ।
स्थानीय तहको चुनावको तथ्याङक अनुसार लोकतान्त्रिकको तुलनामा वामपन्थी गठबन्धनको भोट बढी छ । धेरै मतदाता भएको गैंडाकोट नगरपालिकामा एमाले विजयी भएको छ । ७५ वर्षका जयलाल कडेल भने स्थानीय चुनावमा एमाललेले जितेपनि शशांक बलियो उम्मेदवार रहेको दावी गर्छन् ।
‘विगतमा पार्टी माओवादीसंग मिल्यो भनेर कांग्रेस कार्यकर्ता खुम्चिएर बसेका थिए’ कडेंल भन्छन्, ‘ठहरेको पार्टी हो, कसैलाई नविगार्ने भएका कारण जनताले कांग्रेसलाई भनेट हाल्छन् ।’
दुई पटक चुनाव जितेर पनि केही नगरेको भन्दै शशांकप्रति कतिपय मतदाता रुष्ट देखिए । ‘दुईपटक चुनाव जितेर के भयो ? रोयल सेन्चुरी (नारायणगढको होटल)मा आयो बसेर गयो । काम केही गर्नु परेन’ स्थानीय सीता पोखरेलले भनिन् ।
कांग्रेस कार्यकर्ताहरु शशांकलाई भावी प्रधानमन्त्री र पार्टी सभापतिको दावेदार भन्दै जनतासंग भोट मागरिरहेका छन् । अर्वपति व्यापारी विनोद चौधरीलाई साथमा लिएर शशांक जनताकोमा भोट माग्न हिडिरहेका छन् ।