१९ असार २०८३, शुक्रबार
कांग्रेस बैठकको भित्री कुरा

सरकारका विषयमा गम्भीर सवाल उठेपछि जब देउवाले गरे अर्थपूर्ण खुलासा

बैशाख ४, २०८२
काठमाडौं
सरकारका विषयमा गम्भीर सवाल उठेपछि जब देउवाले गरे अर्थपूर्ण खुलासा

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि माथ दिनेगरी पार्टीभित्रै सरकारका विषयमा प्रश्न उठेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले अर्थपूर्ण खुलासा गरेका छन् । 

एमालेसँगको ७ बुँदे सहमतिपछि प्रधानमन्त्रीमा देउवा आफ्नो पालो पर्खेर बसेका छन् । तर, एमाले अध्यक्ष केपी शर्मा ओलीको पालो अझै १४ महिना बाँकी हुँदा समीकरणमाथि नै प्रश्न उठ्न थालेपछि देउवाले बिहीबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा अर्थपूर्ण खुलासा गरेका हुन् ।

संयुक्त सरकारको डेलिभरी, सन्तुलन र समन्वयमा पेचिलो हुने गरी प्रश्न उठेपछि देउवाले प्रधानमन्त्रीसँग कांग्रेसले पर्याप्त छलफल गरेको प्रस्ट्याएका हुन् । सरकारलाई निरन्तरता दिनेगरी प्रभावकारी समन्वय, उपयुक्त नियुक्ति र सन्तुलनका लागि प्रधानमन्त्री ओलीसँग छलफल भएको भन्दै देउवाले सरकारबारे अनावश्यक टिप्पणी नगर्न नेताहरूलाई निर्देशन दिएका थिए । 

पार्टीका प्रमुख सचेतक समेत रहेका श्याम घिमिरेले ‘सरकारलाई हेर्ने दृष्टिकोणमा पक्ष र विपक्षमा कुरा आएको छ, हामी कता उभिने ?’ भन्दै गम्भीर प्रश्न उठाएका थिए ।

उनले प्रश्न गरिनसक्दै देउवाले– ‘कता उभिने भन्नेमा दायाँबायाँको कुरा नै छैन, सरकारको पक्षमा उभिने हो । असन्तुष्टि भए पार्टीभित्र राख्नुस्, यी कुरा म प्रधानमन्त्रीसमक्ष राख्छु, राखिरहेको छु,’ भनेका थिए । 

प्रधानमन्त्रीसँग निरन्तर कुरा भइरहँदा बाहिर अनावश्यकरूपमा नेताहरूले बोलेकोप्रति देउवाले असन्तुष्टि राखेको एक नेताले जानकारी दिए । 

‘प्रधानमन्त्रीसँग अहिलेसम्म नियमित संवाद भइरहेको तथा नियुक्तिको विषयमा पनि कांग्रेसको कुरा सुन्ने र उपयुक्त सन्तुलन मिलाउँछु भन्ने प्रधानमन्त्रीको कुरा रहेको सभापतिले सुनाउनुभयो,’ कांग्रेसका एक नेताले भने, ‘यसैले आफ्ना र चासोका कुरा सम्बोधन हुने स्थितिसम्म ठूला दलको सत्ता समीकरणमै सहजता हुने सभापतिको आशय थियो ।’ 

सबैभन्दा ठूलो दल कांग्रेसका माग सुनुवाइ हुने स्थितिसम्म समीकरण बदल्दा साना दलको दबाब झेल्नुपर्ने स्थिति हुन्छ । यसैले कांग्रेसका चासोलाई सम्बोधन गर्ने स्थिति भएसम्म एमालेसँगको समीकरण टुटाउन नहुने आशय देउवाले व्यक्त गरेको नेताहरू बताउँछन् । 

पदाधिकारीहरूले गभर्नरसहितका नियुक्तिप्रति चासो व्यक्त गरेपछि देउवाले अहिलेको अर्थतन्त्रका चुनौतीलाई चिर्ने व्यक्तिले जिम्मेवारी पाउने बताएका थिए । देउवाको प्रस्ट आशयपछि बैठकले गठबन्धन दलबीच समन्वय र सन्तुलनमा जोड दिने निष्कर्ष निकालेको थियो । 

‘समग्रमा सरकारको पर्फर्मेन्स अझै बेटर हुनुपर्छ । गठबन्धन दलबीच बढी समन्वय हुनुपर्‍यो, सन्तुलन हुनुपर्‍यो । सरकारले सशक्तरूपमा डेलिभरी दिनुपर्छ ।  गठबन्धनमा राम्रो तालमेल हुनुपर्छ,’ बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले सञ्चारकर्मीसँग भने, ‘यस सम्बन्धमा नेतृत्व तहले निरन्तर कुरा गरेको छ, जहाँ सुधारको आवश्यकता छ, त्यसमा थप समन्वयको आवश्यकता छ, हुन्छ र गराउँछौं भन्ने सभापतिको कुरा छ ।’

यतिखेर कांग्रेसको बोली बिक्ने स्थिति रहेकाले हरेक कुरामा सहमति जुट्ने दाबी देउवाले बैठकमा गरेका थिए । ‘गठबन्धन सरकार भन्नेबित्तिकै एउटै दलको सबैथोक हुँदैन । चाहे प्रधानमन्त्री भएकै दल नै किन नहोस्, त्यसमा समन्वयको आवश्यकता हुन्छ । सबैको कुरा समेट्न आवश्यक छ । नियुक्तिका कुरामा पनि सन्तुलनको आवश्यकता छ,’ महतले भने, ‘पार्टीगत एफिलेसनभन्दा प्रोफेसनल्ली डेलिभरी गर्ने मान्छे आउनुपर्छ भन्नेमा हामी स्पष्ट छौं । त्यसकै आधारमा सभापतिले कुराकानी गरिरहनुभएको छ । यसमा सहमति जुट्छ भन्ने कुराकानी भएको छ ।’ 

बैठकमा पूर्व पदाधिकारी र कांग्रेसका मन्त्रीहरूलाई पनि बोलाइएको थियो । गृहमन्त्री रमेश लेखकले सरकारले अर्थतन्त्र सुधारका लागि नतिजा दिनेगरी काम गरेको भन्दै सरकारको बचाउ गरेका थिए । उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले पनि सरकारको समग्र कार्यसम्पादन राम्रो रहेको दाबी बैठकमा गरेका थिए । 

देउवा निवास बुढानीलकण्ठ

महामन्त्रीद्वयको आलोचना

बैठकमा महामन्त्रीद्वयले सत्ता समीकरणको विपक्षमा शृंखलाबद्ध अभिव्यक्ति दिएको भन्दै केही नेताले प्रश्न उठाएका थिए, जसमा प्रवक्ता महत, प्रमुख सचेतक श्याम घिमिरे, सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनासहितले दोहोरो अर्थ लाग्ने गरी आइरहेको अभिव्यक्तिप्रति प्रश्न उठाएका थिए । 

जिम्मेवार नेताले पार्टीभित्र असन्तुष्टि नराख्दै बाहिर राख्नु अनुचित रहेको उनीहरूको भनाइ थियो ।  

‘मैले आफैंले पनि महामन्त्रीहरूले आफ्ना असन्तुष्टि बाहिर राख्नुभन्दा सम्बन्धित संरचनामा राख्नुपर्‍यो, अनि त्यहाँबाट आएको निष्कर्षका आधारमा बाहिर बोल्नुपर्ने वा नबोल्नुपर्ने हुनुपर्थ्यो भनेर बोलेँ,’ महतले भने, ‘यस विषयमा उहाँहरूले आफ्नो कुरा पनि राख्नुभयो । कतिपय कुराहरूमा यसरी जानुपर्छ भन्ने कुरा आएको छ । हामीले भनेको कुरालाई महामन्त्रीद्वयले महसुस गर्नुभएको छ ।’ 

महामन्त्री गगन थापाले सरकारको गति कमजोर रहेको र प्रधानमन्त्रीको बेडरूमसम्मै बिचौलिया हावी भएको भन्दै सार्वजनिक रूपमा पटक–पटक गम्भीर सवाल उठाएका थिए । 

अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि शिक्षक आन्दोलन, नियुक्ति, कुलमान घिसिङ प्रकरण, गभर्नर, त्रिविका उपकुलपति, सामाजिक सञ्जाल विधेयकसहितका विषयमा ७ बुँदेमार्फत असन्तुष्टि जनाएका थिए । पार्टीका जिम्मेवार नेताले बाहिर कुरा उठाएको भन्दै बैठकमा आलोचना भएपछि दुवैले प्रस्टीकरण दिएका थिए । 

‘सरकारलाई निरन्तर खबरदारी गरेको, तर सरकार ढाल्ने हिसाबले होइन भन्ने महामन्त्रीद्वयको प्रस्टोक्ति थियो,’ बैठकमा सहभागी भएका एक नेताले भने, ‘आलोचना र विकल्पभन्दा पनि सरकारलाई सुधारौं, कार्यसम्पादन बढाऊँ र नागरिकलाई ठूला दल हुनुको आभाष गराऊँ भन्ने उहाँहरूको भनाइ थियो ।’

प्रचण्डले बोल्दैमा सरकार ढल्ने र बन्ने हुँदैन

बैठकपछि प्रवक्ता महतले प्रमुख प्रतिपक्षीको धर्म नै सरकार ढलिहालोस् भन्ने भए पनि स्थिति त्यस्तो नरहेको प्रस्ट्याए । 

‘प्रमुख प्रतिपक्षी दलले सरकार ढलिहालोस् भन्नु स्वाभाविक धर्म नै हो । त्यसकारण उहाँहरूले भन्नुभएको कुरामा कुनै टिप्पणी छैन,’ महतले भने, ‘उहाँहरूले के भन्नुहुन्छ भन्ने आधारमा सरकार बन्ने र भत्किने हुँदैन ।’ 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पछिल्लो केही दिनयता दिनहुँजस्तो सरकार ढल्ने दाबी गर्दै आएका छन् । कांग्रेस र एमालेका नेतासँगकै छलफलपछि आफूले यस्तो दाबी गरेको प्रचण्डले बताउँदै आएका छन् ।  

कांग्रेस बैठकमा आन्दोलनरत शिक्षकका जायज मागलाई सम्बोधन गर्नुपर्ने विषय जोडतोडका साथ उठेको महतले बताए । त्यस्तै, बैठकमा महाधिवेशनका लागि चैतसम्मको समय दिएका भ्रातृ संस्थाको प्रतिवेदन मागेको र त्यसकै आधारमा केन्द्रीय समितिमा बैठकमा समीक्षा हुने उनले बताए । ‘हामीले भ्रातृ संस्थाको प्रतिवेदन मागेका छौं । अधिवेशन हुन सक्ने आधार छ कि छैन ? हेर्छौं,’ महतले भने, ‘यसको आधारमा केन्द्रीय समितिको प्रस्ताव तयार हुन्छ ।’ 

salt training

कमेन्ट गर्नुहोस्