
उमेरले जम्मा ३५ पुग्न लागेका, खाइलाग्दा, हँसिला अनि फुर्तिला । जिउ-ज्यान हेर्दा जो कोहीलाई पनि पत्यार लाग्दैन, उनी चिकित्सक हुन् भन्ने कुरा । तर, उनी आयुर्वेदिक चिकित्सक हुन् । जसले कर्णालीको प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रको नेतृत्व गरेर हाल त्यहाँबाट बिदा भएका छन् ।
उनी हुन् दैलेखको साविकको रावतकोट गाविस-३ हुमेगाउँ, हालको भैरवी गाउँपालिका-३ मा जन्मिएका डा. शंकर रिजाल । उनले आफ्नो कार्यकालमा प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रमा कर्णालीकै जडिबुटीको प्रयोग गरि बाह्रै महिना औषधि पाउने व्यवस्था मिलाएका छन् । उनकै नेतृत्वमा केन्द्र औषधि उत्पादन गर्नलायक बन्यो ।
डा. रिजालका आठ बाजे थिए । तीमध्ये एक बाजे वैद्य थिए । उनका हजुरबुवाले पनि वैद्यको काम गर्दै आइरहेका थिए । जजमानी गर्ने काम त सामान्य नै भयो उनको परिवारका लागि । उनका पिता कृष्णप्रसाद उपाध्याय हाल उमेरले ८२ वर्षका भए ।
उनका बुवाले २०२३/०२४ तिर सुर्खेतको कटकुवा स्वास्थ्यचौकीबाट ग्रामीण स्वास्थ्य कार्यकर्ताको जागिर शुरू गरेका थिए । उतिबेलाका उनी दैलेखको पश्चिम क्षेत्रका ‘एकमात्र डाक्टर’ भनेर चिनिन्थे । उनको घरमा हरेक दिन बिरामीहरू औषधि उपचारका लागि आउने गर्दथे ।
‘म सानै हुँदा मैले आफैंले देखेको छु । दैनिक रूपमा तीन/चार जना टाढा-टाढाबाट बिरामी लिएर आउँथे । उपचार गर्थे । सञ्चो भएको खण्डमा कसैले बाख्रा ल्याइदिन्थे, कसैले अनाज’, डा. रिजाल भन्छन्, ‘बुवाको जागिरले हामी ११ जनाको परिवार पालिन सम्भव नै थिएन । जजमानी गर्ने, औषधि उपचार गर्नेगरि बुवाले हामीलाई हुर्काउनु भएको हो । २०२७/०२८ तिर सुर्खेतमा औलो रोग विरुद्धको खोप अभियानमा मेरो बुवा सुर्खेतका सबै गाविसमा खोप लगाउन जानुभएको हो ।’
डा. शंकरको घरमा उनका बुवा, आमासहित ११ सदस्य छन् । उनको परिवारका नौ जना दाजुभाइ र बहिनीमध्ये आठ जना सरकारी सेवामा कार्यरत छन् । उनका दाजु गोविन्द रिजाल सहसचिव छन् भने ओम रिजाल लेखा उपसचिव छन् । भाइहरू विद्यालय निरीक्षक, नायब सुब्बा, लेखापाल छन् ।
एक जना बहिनी स्टाफ नर्स छन् भने अर्को बहिनी बैंकमा काम गर्दै लोकसेवाको तयारी गरिरहेकी छन् ।
जीवन यात्रा
पञ्चदेवल माध्यमिक विद्यालय रावतकोटमा कक्षा ८ सम्म अध्ययन गरेका रिजाल कहिल्यै कक्षा प्रथम भएनन् । कहिल्यै चौथो पनि भएनन् । ८ कक्षासम्म पढ्दा कहिले दोस्रो कहिले तेस्रो भए ।
कक्षा ९ र १० अध्ययन गर्न भनेर उनी सुर्खेतको वीरेन्द्रनगरस्थित जन नमूना माध्यमिक विद्यालयमा भर्ना भए । यहाँबाट उनले २०६३ मा एसएलसी उत्तीर्ण गरे । त्यसपछि उनी कक्षा ११ र १२ पढ्न भन्दा पनि सीप सिक्नतिर केन्द्रित भए ।
‘त्यतिबेला मैले र मेरो गाउँको एक जना जजमानले एसएलसी पास गर्यौं । त्यसपछि धनगढीमा अमिन पढ्ने मेरो चाहना थियो । सोही चाहनाअनुसार मेरो बुवाले ती जजमानका बुवाको हातमा सर्टिफिकेट दिएर भर्ना गरिदिन अनुरोध गरेका थिए । तर, त्यहाँ सर्टिफिकेट लिएर गएका जजमानले भने अमिन पढेर काम नै छैन भनेर अन्यले भनिदिएकै भरमा फाराम नै भरिदिएनन् । त्यसपछि ती जजमानका छोरा नेपालगञ्जमा आईकम अध्ययन गर्न लागे’, उनले भने, ‘मेरो घरमा बुवाले एक जनालाई जसरी पनि वैद्य बनाउने चाहना राख्नु भएको थियो । सबै दाजुहरूलाई आयुर्वेद पढ्न भन्नुभएको थियो । तर, कसैको पनि त्यो विषय पढ्ने अवसर नै जुरेको रहेनछ । पछि मैले नेपाल संस्कृत विश्वविद्यालयमा तीन वर्षे आयुर्वेद एचए अध्ययन गरेँ । त्यो अध्ययन गरिसकेपछि मेरो बुवाको रहर पनि पूरा भयो ।’
त्यसपछि उनी २०६७ देखि २०७२ सालसम्म आयुर्वेद चिकित्सक अध्ययन गर्न नेपाल आयुर्वेद मेडिकल कलेज वीरगञ्जमा भर्ना भए । त्यहाँ पाँच वर्ष अध्ययन गरिसकेपछि उनी जागिरे जीवनको प्रारम्भ गर्न पुगे ।
‘मैले छात्रवृत्तिमा अध्ययन गर्ने मौका पाएका कारण पाँच वर्षको अवधिमा क्याम्पसलाई जम्मा ३५ हजार मात्रै तिरेको थिएँ’, उनी भन्छन् ।
उनी आफ्नो परिवारको शुरूमा आर्थिक अवस्था कमजोर रहेको बताउँछन् । ‘घरमा जग्गा कम थियो । खान, बस्न समस्या नै थियो । बुवा सबैभन्दा कान्छो भएका कारण समस्या भयो । बुवाले जागिर र वैद्य काम गर्दा केही सहज भयो । त्यतिबेला जजमानहरूले नै हाम्रो परिवारलाई माथि उठाएका हुन् ।’
उनका बुवाको माग महाबु, रिठा, वासी, ऐराडी, काँसीकाँध, भैरीकालीका थुम, बडलम्जी, कोइराला गाउँ, सिरोल हुँदै दुल्लुसम्बाट आउँथ्यो । उनी यी क्षेत्रमा औषधोपचार र जजमानी गर्न पुग्थे । त्यही कामबाट घरपरिवारको गुजारा चल्ने गरेको डा. शंकर बताउँछन् ।
उतिबेला उनका बुवाले वीरेन्द्रनगर-७ इत्राममा घर बनाए । ‘इत्राममा एकतले घर बनाउनु भएको थियो । त्यो घर बनाउनुको एकमात्र उद्देश्य भनेको हामी सुर्खेत पढ्दा भाडामा बस्नु नपरोस् भन्ने थियो’, उनले भने ।
तर, अहिले भने अवस्था फेरिएको छ । सबैको जीवन अभावबाट अलि माथि उठेर अघि बढिरहेको छ । उनी आयुर्वेद चिकित्सक भइसकेपछि लोकसेवा आयोगको परीक्षामा पास भएर सुर्खेतको साविक भेरी अञ्चल आयुर्वेद औषधालयमा आए । त्यहाँ उनी आउँदा बिरामीलाई पचास ग्राम, सय ग्राम जति बिरामीलाई धुलो पाउडर पोको पारेर दिइन्थ्यो । सेवाग्राहीको संख्या न्यून थियो भने । औषधि केही पनि उत्पादन हुन्थेन ।
‘२०७३ मंसिरबाट यहाँ काम गर्न शुरू गरेँ । २०७५ सालबाट कार्यालय प्रमुख बनेँ । २०८१ सालमा प्रदेश समायोजन रोज्दै प्रमुख निर्देशक बनेँ’, उनी भन्छन्, ‘म यहाँ आउँदा वर्षमा ५/६ हजारले सेवा लिन्थे । अहिले पाँच गुण भन्दा बढी सेवाग्राही छन् । उतिबेला औषधालय थियो, अहिले भने प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रको रूपमा स्तरोन्नति भएको छ । उतिबेला दरबन्दी कम थियो । भवनहरू थिएनन् । औषधि उत्पादन हुन्थेन । म आउँदा दुई लाख २३ हजार आम्दानी हुन्थ्यो भने अहिले म सरुवा हुनुभन्दा अघि दुई करोड आठ लाग रूपैयाँ अस्पताल विकास समितिको खातामा जम्मा थियो ।’
उनले संघीयतापछि प्रदेश सरकारले अथाह लगानी गरेको र अस्पतालको सेवा प्रवाहमा ठूलो परिवर्तन ल्याउन सम्भव भएको बताए ।
‘हामीले अस्पताललाई व्यवस्थित बनाउन प्रदेश सरकारलाई बारम्बार अनुरोध गर्यौं । दरबन्दी बढाउन दबाब दियौं भने औषधि उत्पादन गर्न लागिपर्यौं । अहिले कर्णालीका जडिबुटीकै प्रयोग गरि बाह्रै महिना औषधि पाउने व्यवस्था मिलाएका छौं’, उनले भने, ‘अस्पतालमा भवन निर्माणका लागि भन्दै प्रदेश सरकारसँग बजेट माग गरेका थियौं । प्रदेश सरकारले ठूलो बजेट दिन नसक्ने भनेपछि म आफैं काठमाडौं गएर भवन निर्माणका लागि संघीय सरकारबाट बजेट जुटाएँ । भवनको ठेक्का भयो । ठेकेदारका कारण हालसम्म भवन निर्माण भने पूरा हुन सकेको छैन ।’
उनले कोरोनाको समयमा उत्कृष्ट आइसोलेसन कक्ष सञ्चालन गरे । फलस्वरूप उनलाई संघीय सरकारले पुरस्कृत समेत गरेको थियो ।