२८ जेठ २०८३, बिहीबार
वैद्यका सन्तान डा. शंकर

अनुसन्धान केन्द्रलाई कर्णालीमै आयुर्वेदिक औषधि उत्पादन गर्नलायक बनाएका डा. शंकर

बैशाख ६, २०८२
सुर्खेत
अनुसन्धान केन्द्रलाई कर्णालीमै आयुर्वेदिक औषधि उत्पादन गर्नलायक बनाएका डा. शंकर

उमेरले जम्मा ३५ पुग्न लागेका, खाइलाग्दा, हँसिला अनि फुर्तिला । जिउ-ज्यान हेर्दा जो कोहीलाई पनि पत्यार लाग्दैन, उनी चिकित्सक हुन् भन्ने कुरा । तर, उनी आयुर्वेदिक चिकित्सक हुन् । जसले कर्णालीको प्रदेश आयुर्वेद  अस्पताल तथा अनुसन्धान केन्द्रको नेतृत्व गरेर हाल त्यहाँबाट बिदा भएका छन् । 

उनी हुन् दैलेखको साविकको रावतकोट गाविस-३ हुमेगाउँ, हालको भैरवी गाउँपालिका-३ मा  जन्मिएका डा. शंकर रिजाल । उनले आफ्नो कार्यकालमा प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रमा कर्णालीकै जडिबुटीको प्रयोग गरि बाह्रै महिना औषधि पाउने व्यवस्था मिलाएका छन् । उनकै नेतृत्वमा केन्द्र औषधि उत्पादन गर्नलायक बन्यो । 

डा. रिजालका आठ बाजे थिए । तीमध्ये एक बाजे वैद्य थिए । उनका हजुरबुवाले पनि वैद्यको काम गर्दै आइरहेका थिए । जजमानी गर्ने काम त सामान्य नै भयो उनको परिवारका लागि । उनका पिता कृष्णप्रसाद उपाध्याय हाल उमेरले ८२ वर्षका भए ।

उनका बुवाले २०२३/०२४ तिर सुर्खेतको कटकुवा स्वास्थ्यचौकीबाट ग्रामीण स्वास्थ्य कार्यकर्ताको जागिर शुरू गरेका थिए । उतिबेलाका उनी दैलेखको पश्चिम क्षेत्रका ‘एकमात्र डाक्टर’ भनेर चिनिन्थे । उनको घरमा हरेक दिन बिरामीहरू औषधि उपचारका लागि आउने गर्दथे । 

‘म सानै हुँदा मैले आफैंले देखेको छु । दैनिक रूपमा तीन/चार जना टाढा-टाढाबाट बिरामी लिएर आउँथे । उपचार गर्थे । सञ्चो भएको खण्डमा कसैले बाख्रा ल्याइदिन्थे, कसैले अनाज’, डा. रिजाल भन्छन्, ‘बुवाको जागिरले हामी ११ जनाको परिवार पालिन सम्भव नै थिएन । जजमानी गर्ने, औषधि उपचार गर्नेगरि बुवाले हामीलाई हुर्काउनु भएको हो । २०२७/०२८ तिर सुर्खेतमा औलो रोग विरुद्धको खोप अभियानमा मेरो बुवा सुर्खेतका सबै गाविसमा खोप लगाउन जानुभएको हो ।’

डा. शंकरको घरमा उनका बुवा, आमासहित ११ सदस्य छन् । उनको परिवारका नौ जना दाजुभाइ र बहिनीमध्ये आठ जना सरकारी सेवामा कार्यरत छन् । उनका दाजु गोविन्द रिजाल सहसचिव छन् भने ओम रिजाल लेखा उपसचिव छन् । भाइहरू विद्यालय निरीक्षक, नायब सुब्बा, लेखापाल छन् ।

एक जना बहिनी स्टाफ नर्स छन् भने अर्को बहिनी बैंकमा काम गर्दै लोकसेवाको तयारी गरिरहेकी छन् । 

जीवन यात्रा 
पञ्चदेवल माध्यमिक विद्यालय रावतकोटमा कक्षा ८ सम्म अध्ययन गरेका रिजाल कहिल्यै कक्षा प्रथम भएनन् । कहिल्यै चौथो पनि भएनन् । ८ कक्षासम्म पढ्दा कहिले दोस्रो कहिले तेस्रो भए ।

कक्षा ९ र १० अध्ययन गर्न भनेर उनी सुर्खेतको वीरेन्द्रनगरस्थित जन नमूना माध्यमिक विद्यालयमा भर्ना भए । यहाँबाट उनले २०६३ मा एसएलसी उत्तीर्ण गरे । त्यसपछि उनी कक्षा ११ र १२ पढ्न भन्दा पनि सीप सिक्नतिर केन्द्रित भए ।

‘त्यतिबेला मैले र मेरो गाउँको एक जना जजमानले एसएलसी पास गर्‍यौं । त्यसपछि धनगढीमा अमिन पढ्ने मेरो चाहना थियो । सोही चाहनाअनुसार मेरो बुवाले ती जजमानका बुवाको हातमा सर्टिफिकेट दिएर भर्ना गरिदिन अनुरोध गरेका थिए । तर, त्यहाँ सर्टिफिकेट लिएर गएका जजमानले भने अमिन पढेर काम नै छैन भनेर अन्यले भनिदिएकै भरमा फाराम नै भरिदिएनन् । त्यसपछि ती जजमानका छोरा नेपालगञ्जमा आईकम अध्ययन गर्न लागे’, उनले भने, ‘मेरो घरमा बुवाले एक जनालाई जसरी पनि वैद्य बनाउने चाहना राख्नु भएको थियो । सबै दाजुहरूलाई आयुर्वेद पढ्न भन्नुभएको थियो । तर, कसैको पनि त्यो विषय पढ्ने अवसर नै जुरेको रहेनछ । पछि मैले नेपाल संस्कृत विश्वविद्यालयमा तीन वर्षे आयुर्वेद एचए अध्ययन गरेँ । त्यो अध्ययन गरिसकेपछि मेरो बुवाको रहर पनि पूरा भयो ।’

त्यसपछि उनी २०६७ देखि २०७२ सालसम्म आयुर्वेद चिकित्सक अध्ययन गर्न नेपाल आयुर्वेद मेडिकल कलेज वीरगञ्जमा भर्ना भए । त्यहाँ पाँच वर्ष अध्ययन गरिसकेपछि उनी जागिरे जीवनको प्रारम्भ गर्न पुगे ।

‘मैले छात्रवृत्तिमा अध्ययन गर्ने मौका पाएका कारण पाँच वर्षको अवधिमा क्याम्पसलाई जम्मा ३५ हजार मात्रै तिरेको थिएँ’, उनी भन्छन् ।

उनी आफ्नो परिवारको शुरूमा आर्थिक अवस्था कमजोर रहेको बताउँछन् । ‘घरमा जग्गा कम थियो । खान, बस्न समस्या नै थियो । बुवा सबैभन्दा कान्छो भएका कारण समस्या भयो । बुवाले जागिर र वैद्य काम गर्दा केही सहज भयो । त्यतिबेला जजमानहरूले नै हाम्रो परिवारलाई माथि उठाएका हुन् ।’ 

उनका बुवाको माग महाबु, रिठा, वासी, ऐराडी, काँसीकाँध, भैरीकालीका थुम, बडलम्जी, कोइराला गाउँ, सिरोल हुँदै दुल्लुसम्बाट आउँथ्यो । उनी यी क्षेत्रमा औषधोपचार र जजमानी गर्न पुग्थे । त्यही कामबाट घरपरिवारको गुजारा चल्ने गरेको डा. शंकर बताउँछन् । 

उतिबेला उनका बुवाले वीरेन्द्रनगर-७ इत्राममा घर बनाए । ‘इत्राममा एकतले घर बनाउनु भएको थियो । त्यो घर बनाउनुको एकमात्र उद्देश्य भनेको हामी सुर्खेत पढ्दा भाडामा बस्नु नपरोस् भन्ने थियो’, उनले भने ।

तर, अहिले भने अवस्था फेरिएको छ । सबैको जीवन अभावबाट अलि माथि उठेर अघि बढिरहेको छ । उनी आयुर्वेद चिकित्सक भइसकेपछि लोकसेवा आयोगको परीक्षामा पास भएर सुर्खेतको साविक भेरी अञ्चल आयुर्वेद औषधालयमा आए । त्यहाँ उनी आउँदा बिरामीलाई पचास ग्राम, सय ग्राम जति बिरामीलाई धुलो पाउडर पोको पारेर दिइन्थ्यो । सेवाग्राहीको संख्या न्यून थियो भने । औषधि केही पनि उत्पादन हुन्थेन ।

‘२०७३ मंसिरबाट यहाँ काम गर्न शुरू गरेँ । २०७५ सालबाट कार्यालय प्रमुख बनेँ । २०८१ सालमा प्रदेश समायोजन रोज्दै प्रमुख निर्देशक बनेँ’, उनी भन्छन्, ‘म यहाँ आउँदा वर्षमा ५/६ हजारले सेवा लिन्थे । अहिले पाँच गुण भन्दा बढी सेवाग्राही छन् । उतिबेला औषधालय थियो, अहिले भने प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रको रूपमा स्तरोन्नति भएको छ । उतिबेला दरबन्दी कम थियो । भवनहरू थिएनन् । औषधि उत्पादन हुन्थेन । म आउँदा दुई लाख २३ हजार आम्दानी हुन्थ्यो भने अहिले म सरुवा हुनुभन्दा अघि दुई करोड आठ लाग रूपैयाँ अस्पताल विकास समितिको खातामा जम्मा थियो ।’

उनले संघीयतापछि प्रदेश सरकारले अथाह लगानी गरेको र अस्पतालको सेवा प्रवाहमा ठूलो परिवर्तन ल्याउन सम्भव भएको बताए । 

‘हामीले अस्पताललाई व्यवस्थित बनाउन प्रदेश सरकारलाई बारम्बार अनुरोध गर्‍यौं । दरबन्दी बढाउन दबाब दियौं भने औषधि उत्पादन गर्न लागिपर्‍यौं । अहिले कर्णालीका जडिबुटीकै प्रयोग गरि बाह्रै महिना औषधि पाउने व्यवस्था मिलाएका छौं’, उनले भने, ‘अस्पतालमा भवन निर्माणका लागि भन्दै प्रदेश सरकारसँग बजेट माग गरेका थियौं । प्रदेश सरकारले ठूलो बजेट दिन नसक्ने भनेपछि म आफैं काठमाडौं गएर भवन निर्माणका लागि संघीय सरकारबाट बजेट जुटाएँ । भवनको ठेक्का भयो । ठेकेदारका कारण हालसम्म भवन निर्माण भने पूरा हुन सकेको छैन ।’

उनले कोरोनाको समयमा उत्कृष्ट आइसोलेसन कक्ष सञ्चालन गरे । फलस्वरूप उनलाई संघीय सरकारले पुरस्कृत समेत गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्