
हिमालय उद्धार सङ्घले वसन्त ऋतुमा हिमाल आरोहणका लागि जाने एक हजार ३६२ बिरामीको उपचार गरेको छ । आज यहाँ आयोजित एक कार्यक्रममा मनाङ, फेरिचे र सगरमाथा आधार शिविरमा एक हजार ३६२ बिरामीको उपचार गरिएको सङ्घले जनाएको हो ।
सङ्घको आज आयोजित ५३औँ वार्षिकोत्सव कार्यक्रममा पछिल्लो समय हिमाली क्षेत्रमा सञ्चालित विभिन्न स्वास्थ्य केन्द्रमा उपचार गराउने बिरामीको सङ्ख्या बढेको जानकारी दिइएको हो । सङ्घका नवनिर्वाचित अध्यक्ष डम्बर पराजुलीले मनाङ, फेरिचे र सगरमाथा आधार शिविरमा उपचार गराउने स्वदेशी तथा विदेशी पर्वतारोहीको सङ्ख्या बढेको बताए ।
सङ्घका अनुसार सबैभन्दा बढी सगरमाथा आधार शिविरमा ६०६, फेरिचेमा ४२० र मनाङमा ३३६ बिरामीले सेवा लिएका छन् । सेवा लिएकामध्ये ९५० नेपाली र ४१२ जना विदेशी रहेका अध्यक्ष पराजुलीले जानकारी दिए । हिमाली क्षेत्रमा हुने आकस्मिक उद्धार र स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन आफूहरू प्रतिबद्ध रहेको बताए ।