
वैशाख २६ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘ऊनको स्वीटर’को प्रचारप्रसारलाई अझ प्रभावकारी बनाउन ‘ऊनको स्वीटर साँझ’ हुने भएको छ ।
चलचित्रका गीत निर्देशकसमेत रहेका गायक सुजन चापागाईंका साथै चलचित्रका प्रमुख कलाकारसहितको टोली देशभरका दर्शकहरूसँग प्रत्यक्ष भेटघाट तथा साङ्गीतिक कार्यक्रममार्फत संवाद यात्रामा निस्किन लागेको हो ।
‘ऊनको स्वीटर साँझ विथ सुजन चापागाईं’ शीर्षकमा पोखरा र धरानमा विशेष कार्यक्रम आयोजना गरिने भएको छ ।
सुजनसँगै चलचित्रका प्रमुख कलाकार विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बू, एलेक्स पारस, विल्समविक्रम राई र निर्देशक नवीन चौहानको विशेष उपस्थिति रहनेछ ।
पोखराको लेकसाइडस्थित हल्लन चोकमा आज अपरान्ह ४ बजेबाट शुरू हुने कार्यक्रम 'ऊनको स्वीटर साँझ प्रचार नेपाल, पोखराको व्यवस्थापनमा आयोजना हुँदैछ ।
उक्त कार्यक्रममा गुरुङ समूहले ‘मखमली’ गीतमा र चलचित्रका कलाकारहरू एलेक्स पारस र परीक्षा लिम्बुले 'काफ्ले' गीतमा नृत्य प्रस्तुति दिनेछन् भने सुजन चापागाईंले ‘फूल’ गीतमा एकल प्रस्तुति दिनेछन् ।

त्यस्तै, झलकमान गन्धर्वको जन्म जयन्तीको अवसर पारेर गन्धर्वको परिवारको उपस्थितिमा सुजनले झलकमानका गीतमार्फत श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम पनि समावेश छ ।
त्यसै गरी, धरानको रङ्गशालामा वैशाख १८ गते साँझ ५ बजे आयोजना हुने कार्यक्रम 'ऊनको स्वीटर साँझ विथ सुजन चापागाईं’लाई सुजनको ‘द इन्फिनिटी ब्यान्ड’ले साथ दिनेछ । कार्यक्रममा ‘काफ्ले’ गीतकी गायिका झुमा लिम्बू र चर्चित गायिका सुनिता थेगिमको पनि विशेष प्रस्तुति रहनेछ ।
हालै सार्वजनिक भएको यस चलचित्रको गीत ‘काफ्ले’ सामाजिक सञ्जालमा निकै चर्चामा छ । यसअघि सार्वजनिक भएका ‘फूल’ र ‘मखमली’ गीतले पनि राम्रो लोकप्रियता कमाएका छन् ।
चलचित्रको ट्रेलर काठमाडौंमै वैशाख १६ गते साँझ ४ बजे सार्वजनिक गर्ने तयारी छ ।