बिहीबारसम्म सत्ता समीकरण नै टुट्ने भनेर जोडतोडले चर्चा भइरहेकोमा कांग्रेस सभापति शेरबहादुर देउवा थाइल्यान्ड भ्रमणबाट फर्किएपछि यो विषय साम्य बनेको छ ।
उपचार, कार्यक्रम र पारिवारिक घुमघामका लागि बैंककबाट फर्किएका देउवा तथा परराष्ट्र मन्त्री एवं देउवापत्नी आरजुले यस्तो हल्लाको खण्डन गरेका छन् ।
संक्षिप्त प्रतिक्रिया दिँदै सभापति देउवाले ‘सत्ता समीकरण फेरबदल हुँदैन’ भनेका छन् । सञ्चारकर्मीले फेरि सोधेपछि देउवा ‘केही भएको छैन, गठबन्धन टिक्छ’ भन्दै एयरपोर्टबाट बूढानीलकण्ठस्थित निवासतर्फ लागेका थिए ।
आरजुले छोटो बोले पनि परराष्ट्रमन्त्रीले ‘इन्टरटेन्मेन्ट’का लागि सरकार परिवर्तनको हल्ला चलाइएको बताइन् । यसबारे गएराति प्रधानमन्त्री ओली र सभापति देउवाबीच कुराकानी भएको आरजुको भनाइ छ ।
‘देशमा सरकार परिवर्तनको हल्ला भएछ, हामीले समाचारहरूमा देख्यौं । तर, इन्टरटेन्मेन्टका लागि समाचार आउँछन् । सरकार परिवर्तन त नेपालभित्रै बसेर गर्ने होला, विदेशमा बसेर हुँदैन । हामी यो कुरा सुन्दा छक्क पर्यौं,’ आरजुले भनिन्, ‘यस्तो हल्लापछि हिजो बेलुका सभापति र प्रधानमन्त्रीबीच टेलिफोनमा कुराकानी भएको छ । फोनमा दुवैजनाले सरकार परिवर्तनबारे हल्ला भएको कुरा गर्नुभयो । अरू केही होइन भन्ने भएको छ ।’
देउवा उपचार र व्यक्तिगत काममा गएकाले राजनीतिक भेटघाट नभएको उनले प्रस्ट्याइन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिनदिनै सरकार फेरिने हल्ला गरिरहेकै थिए । त्यसमा २/३ दिनयता कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापासहित नेताले पनि सरकारको काम गराइबारे गम्भीर प्रश्न उठाइरहेका थिए ।
खड्काले सभापति आएलगत्तै प्रधानमन्त्रीसँग निर्णायक संवाद हुने बताएपछि समीकरणको निरन्तरतामाथि नै प्रश्न उठ्ने आकलन थियो ।
यसमा झन् थापाले कांग्रेसको चासो पूरा नभए सरकारमा नबस्ने प्रस्टै बताए । प्रधानमन्त्रीको कार्यशैली नसच्चिए गठबन्धनमा नै समस्या आउने चेतावनी उनले दिए ।
सिनियर नेताले नै सरकारका विषयमा गम्भीर प्रश्न उठाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बिहीबार ‘यूथ सेलिब्रेसन’ कार्यक्रममा आफ्नो चासो सरकार बचाउने र गिराउनेमा नभएको अभिव्यक्ति दिए । यसपछि भने धेरैले समीकरण नै तलमाथि हुने आशंका गरेका थिए ।
तर, भृकुटीमण्डपबाट फर्किएपछि बिहीबार ओलीले बैंककमा रहेका देउवालाई फोन गरे । उच्च स्रोतका अनुसार ओलीले प्रचण्डको भनाइ र कांग्रेस नेताका अभिव्यक्तिबारे कुरा गरेका थिए । देउवाले टेलिफोनमा ‘पत्रपत्रिकामा के–के हल्ला सुनिन्छ त, के छ त्यतातिर ?’ भनेर सोधेका थिए ।
जवाफमा ओलीले ‘ल शेरबहादुर दाइ आउनू, यस्तो हल्ला चलाइराख्छन्, भ्रमित हुनुहुन्न,’ भनेका थिए । उच्च स्रोतका अनुसार ५/७ मिनेटको टेलिफोन संवादमा दुई जनाबीच आशंका नभएकाले समीकरणलाई अगाडि बढाएरै जाने विषयमा कुराकानी भएको थियो । प्रचण्डसहितले अनेक अर्थ लगाए पनि त्यतातिर ध्यान नदिने निचोडमा पुगेर कुरा टुंग्याएका थिए ।
उच्चस्रोतका अनुसार देउवा बैंकक पुगेको केही दिनमै ओलीसँग पहिलोपटक संवाद भएको थियो । समीकरणमा खटपट आएको दाबी गरिए पनि ओली हरेक विषयमा देउवासँग संवादमै रहेको बुझिएको छ । शिक्षामन्त्री नियुक्तिदेखि ऊर्जा राज्यमन्त्रीको बर्खातस्तीसम्ममा ओली र देउवाबीच पर्याप्त छलफल भएको निकटस्थहरू बताउँछन् ।
गत बुधबार साँझ यूएईका उपप्रधान एवं विदेशमन्त्री शेख अब्दुल बिन जायेद अल नाह्यानसँगको शिष्टाटार भेटपछि पनि ओली र देउवाबीच टेलिफोन संवाद भएको थियो । पछिल्लो समय देउवाका विश्वासपात्र नेता एवं गृहमन्त्री रमेश लेखक बालुवाटार पुगेपछि दुईबीच टेलिफोन संवाद भएको थियो ।
शिक्षक आन्दोलनको रापतापका बीच विद्या भट्टराईले राजीनामा दिएपछि नयाँ नियुक्तिको तयारीबारे छलफल गर्न लेखक बालुवाटार पुगेका थिए ।
‘गृहमन्त्री लेखकले शिक्षामन्त्री कसलाई बनाउने प्रधानमन्त्रीज्यू ?’ भनेर सोधे । जवाफमा अघिपछिको जस्तै ठट्यौली शैलीमा ओलीले ‘निष्कर्षमा पुगेको छैन । बिहान एउटाको नाम सोच्छु, बेलुकासम्म आइपुग्दा अर्कोलाई बनाऊँ भन्ने लाग्छ’ भनेर मजाक गरेको स्रोत बताउँछ ।
ओलीले फेरि उनै गृहमन्त्रलाई सोधे– ‘कसलाई बनाउँदा उपयुक्त होला ?’ लेखकले ‘उपयुक्त र चुनौतीलाई चिर्न सक्नेलाई बनाउनुपर्छ’ भनेर जवाफ दिए । यो छलफलमा गृहमन्त्री लेखक, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालदेखि मुख्यसचिव एकनारायण अर्यालसम्म थिए । लेखक बोलिनसक्दै ओलीले मुख्य सचिवलाई निर्देशन दिए– ‘ड्राफ्ट बनाउँदै गर्नुहोला’ । मुख्यसचिव अर्यालले ‘नाम भर्न बाँकी राखेर ड्राफ्ट बनाइसकेको छु’ भन्ने जवाफ फर्काए ।
त्यसपछि ओलीले एमाले सांसद रघुजी पन्तलाई फोन लगाउन रिमाललाई निर्देशन दिएका थिए । रिमालले तपाईंसँग प्रधानमन्त्रीले सल्लाह गर्न खोज्नुभएको छ भनेर फोन ओलीलाई दिए ।
‘शिक्षामन्त्री अब कसलाई बनाउने होला पन्तजी ?’ जवाफमा पन्तले भने, ‘अहिले चुनौतीपूर्ण अवस्था छ, यसलाई जसले चिर्न सक्छ, उसैलाई बनाउनुपर्छ ।’

पहिले नै मानसिकता बनाइसकेका ओलीले पन्तलाई भने– ‘तपाईंलाई बनाए चुनौतीलाई चिर्न सक्नुहुन्छ कि हुँदैन ?’ जवाफमा पन्तले भने– ‘मैले सक्ने/नसक्ने भन्दा पनि जिम्मेवारी दिँदा पूरा गर्ने कुरा हो ।’ त्यसपछि केही नभनी प्रधानमन्त्रीले फोन काटेको विश्वस्त स्रोतले बतायो ।
पन्तको प्रसंग सकिएपछि गृहमन्त्री लेखकले ऊर्जा राज्यमन्त्री कान्छाराम तामाङको प्रसंग सम्झाएको स्रोतको दाबी छ । ‘तपाईंको साथी (देउवा)ले कान्छारामको कुरा भन्नुभएको थियो, सम्झना छ ?’ भनेर लेखकले सोधे । ‘ऊर्जा राज्यमन्त्रीको कुरा बिर्सनुभयो ?’ त्यसपछि ओलीले ‘हो त १० दिनअगाडि नै देउवाजीले हटाउन भन्नुभएको थियो, मैले बिर्सेछु’ भने ।
ओलीले बाहिर गलत म्यासेज जान्छ, पार्टीबाटै तपाईंहरूले निर्णय गर्दा सजिलो होला भनेर लेखकलाई भने । लेखकले त्यसो भए सभापतिसँग कुरा गर्नुस्, म फोन लगाइदिन्छु भने ।
सभापतिले बिहान पनि सम्झाएको भन्दै लेखकले देउवासँग ओलीको कुराकानी गराइदिए ।
‘कान्छारामको कुरा मैले अस्ति नै भनेको हुँ नि,’ भनेर छोटो कुराकानी गरे । अरू शिष्टाचारका केही कुरा गरेर फोन टुंग्याए । देउवाले नै फेरि सम्झाएपछि लेखकले हटाउनेबारे म कुराकानी गर्छु भनेका थिए । प्रधानमन्त्री र सभापतिसँग संवाद भएपछि लेखकले राष्ट्रपति कार्यालयलाई ऊर्जा राज्यमन्त्रीको बर्खास्तीबारे जानकारी गराएका थिए । त्यसपछि शिक्षामन्त्रीको नियुक्ति र कान्छारामको बर्खास्तीपछि राष्ट्रपति कार्यालयले मन्त्रिमण्डल पुनर्गठनको सूचना निकालेको थियो ।
प्रधानमन्त्रीसँग झगडा भएको, कुलमान घिसिङको प्रकरणका कुरा नमिलेको भनेर चर्चा गरिए पनि आपसी संवादमा हटाएको उच्च स्रोत बताउँछ ।
गभर्नरका विषयमा पनि कुनै विवाद नरहेको कांग्रेस स्रोतले दाबी गर्यो । जोसुकै भएपनि देउवाले भनेको पात्र गभर्नर हुने उक्त स्रोतको दाबी छ ।
झण्डै एक महिनादेखि आन्दोलनरत शिक्षकको माग सम्बोधनको विषय पेचिलो बनेको छ । तर, नयाँ शिक्षामन्त्री रघुजी पन्तले वार्ताबाटै शिक्षकका समस्या समाधानमा अग्रसरता लिने बताएका छन् । उनले शुक्रबार शिक्षकहरूलाई वार्तामा बोलाएका छन् ।
शिक्षा विधेयक पारित हुने क्रममा शिक्षकका धेरै माग सम्बोधन हुने, निजामतीसहितको अन्य विधेयक पनि अगाडि बढ्ने सत्तारुढ दलको भनाइ छ । विश्वासको वातावरण कायमै रहेको संकेत गर्दै प्रधानमन्त्री ओलीले संसद् परिसरमा शुक्रबार दोहोर्याएका छन्– '१४ महिनापछि देउवालाई सत्ता हस्तान्तरण गर्छु ।'
कांग्रेस नेताको विरोधको अर्थ
पछिल्लो समय कांग्रेस महामन्त्री गगन थापासहित नेताले सरकारका कामको विरोध गरेका छन् । तर, बाहिर आएजस्तो सरकारको विकल्पमा जान उनीहरू पनि तयार नभएको नेताहरू बताउँछन् ।
‘सभापतिले नै सरकारको कुरा हल्ला भएको बताउनुभयो । संसद्को हिउँदे अधिवेशनको पहिलो दिन कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले पनि स्थिरताको पक्षमा छौं, सरकार फेर्ने हल्लामा नलागौं भनेर बोल्नुभयो,’ एक नेता नेता भन्छन्, ‘कांग्रेसकै कतिपय नेतालाई महाधिवेशन लागेको छ । आफ्नो कुरा गर्न पनि दबाब बढाउनुपरेको छ । यसैले बाहिर अलि चर्कै कुरा गरेका छन् । तर, त्यस्तो बिग्रिने गरी केही भएको छैन ।’
चर्को कुरा गर्ने कतिपय नेताले एआईजी बढुवामा भाग खोजेको र अरू नियुक्तिमा समेत आफ्ना मान्छे पार्न दबाब बढाएको दाबी ती नेताले गरे । समीकरणको पक्षमा रहेका एमाले र कांग्रेस नेताहरूले प्रचण्डले अनावश्यक खेल्न खोजे पनि सफल नहुने बताए ।
‘प्रचण्डले नियमित बोल्नुभएको छ । तर, उहाँले सरकार गिरिहालोस् भनेर गरेको भाषण उहाँकै महासचिव देव गुरुङले खण्डन गर्नुभयो,’ ती नेता भन्छन्, ‘हामी स्थिरताको पक्षमा छौं । सरकारको समीकरण फेरिनेबारे पार्टीमा कुनै संवाद नै भएको छैन भन्नुले प्रचण्डलाई थप रक्षात्मक बनाइदिएको छ ।’
पढ्नुहोस्, यो पनि :
०८४ सम्म सत्ता समीकरणको रोडम्याप र सम्भावित ३ राजनीतिक परिदृश्य