
आमा तिमी घरपरिवार हौ, मात्र दिन्छौ ।
तिमी सबैथोक हौ, सबैको भलो चाहन्छौ ।
आमा तिमी पृथ्वी, रहेछौ अनवरत त्याग ।
सन्तानको जिन्दगानी, परिवारको हिम्मत र आँट ।
आमा तिमी जन्मियौ अरुका लागि, गर्छौ अरुका लागि ।
मर्छौ, जिउँछौ, हाँस्छौ, घोटिन्छौ आफूलाई त्यागी ।
तिमी छौ, थियौ, रहौ सदा, मेरो साथ जीवनमा ।
क्षमा, दान, त्याग, सबै तिमी हौ, ममताको उपमा ।
मिठाई, कपडा, दक्षिणा, तस्वीरसँग तिमी दाँजिन्नौ ।
विशाल महासागर हौ तिमी, प्रचारमा अटाउन्नौ ।
आमा तिमी आमा हौ, तिमी दुनियाँमा मात्र एक छौ ।
पीडा, दुःख लुकाएर, हाम्रा लागि बाँचिरहेका छौं ।
माफ गर आमा, बुझिन तिम्रो संघर्ष, संसारमा महान ।
छाती, मन र आत्मा सगरमाथा, महासागर समान ।
तिमीले नगरेको, अरुले गरेको देख्छु म बराबर ।
तिमी र तिम्रो माया, जीवनमा सदाबहार ।
बाझ्छु, चिच्याउँछु, कराउँछु, तिमी सहन्छौ पृथ्वीसरी ।
जेजसो गरे पनि मलाई माया मनभरी ।
छैन बदला या बदलाव, सदा तिमी कति महान ।
पृथ्वीमा आमा समान छैन कोही, अमूल्य वरदान ।
आमा औँसीको मात्र होइनन्, न त बन्डाकी रहून् ।
उनी निःस्वार्थ त्यागको पुञ्ज हुन्,आदरणीय बनून् ।