
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आतंकवादविरुद्ध नेपालको सरकार, दल भारतको पक्षमा रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत थापाले अन्तर्राष्ट्रिय आतंकवादको विरुद्धमा नेपालका सबै पक्ष उभिने जनाएका हुन् ।
‘आज मातातीर्थ औँसी, आमाको माया र त्यागलाई श्रद्धापूर्वक सम्झने र सम्मान गर्ने दिन ! हामी कोही आमासँगै बस्न पाएका छौं, कसैले टाढाबाट सम्झेका छौं । तर, बुटवलकी रीमा न्यौपानेका लागि यसपटकको मातातीर्थ औँसीसँगै बज्रपात आयो,’ थापाले लेखेका छन्, ‘अप्रिल २२ गते भारतको कश्मिर, पहलगाममा भएको जघन्य आतङ्ककारी आक्रमणमा आफ्नै आँखा अगाडि छोरा सुदीप न्यौपानेलाई गुमाउनु परेको त्यो बज्रपातको पीडा कुनै शब्दले समेट्न सक्दैन । उक्त आतङ्ककारी आक्रमणको जति नै निन्दा गरे पनि अपुग हुन्छ।’
जुनसुकै स्वरूप र आवरणमा हुने आतंकवादको विरुद्धमा रहने उनको भनाइ छ ।
‘नेपाल, राज्य आतङ्कवाददेखि सीमापार र अन्तर्राष्ट्रिय आतङ्कवादका सबै स्वरूपको आतङ्कवाद र अतिवादको विरुद्धमा सधैं दृढ रहँदै आएको छ। आतङ्कवाद विरुद्धको विश्वव्यापी प्रयासमा नेपालले सदैव साथ दिँदै आएको छ। यहीँ मान्यताका साथ यस आक्रमणका विषयमा नेपाल सरकार तथा नेपाली कांग्रेस लगायतका राजनीतिक दलहरूले आफ्नो धारणा राख्दै, यस दुःखद घडीमा हामी भारत सरकार र भारतीय जनताको साथमा रहेको कुरा प्रस्ट पार्दै भनेका छन,’ थापाले लेखेका छन्, ‘हामी जुनसुकै स्वरूप वा आवरणको आतङ्कवाद होस, त्यसको सदैव खिलापमा र धार्मिक-सामाजिक सद्भावको पक्षमा छौं, रहनेछौं ।'
हामीलाई विश्वास छ- यस आतङ्ककारी आक्रमणको योजनाकारदेखि संलग्न प्रत्येकलाई छिट्टै नै कारबाही हुनेछ, यो आतङ्ककारी क्रियाकलापको परिणाम तिनले भोग्नुपर्नेछ। तब मात्र यो आततायी आक्रमणमा परेका पीडित र रीमा न्यौपाने लगायतका पीडितका परिवारको लागि न्यायको अनुभूति हुनेछ। हामी त्यो समयको प्रतीक्षामा छौं ।’
आतङ्कवाद विश्वव्यापी समस्या रहेको भन्दै थापाले क्षेत्रीय चुनौतीविरुद्ध साझा ऐक्यबद्धता आवश्यक भएको उल्लेख गरेका छन् ।
केही दिन भारतको कश्मिरको पहलगाममा भएको आतंकवादी हमलामा एक नेपालीसहित २८ जना पर्यटक मारिएका थिए ।