
नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले नाउपाका संरक्षक रेशम चौधरी चाँडै छुट्ने बताएकी छिन् ।
बुधबार पार्टी एकता घोषणा सभाबाट पक्राउ परेका चौधरी चाँडै छुट्ने उनले विश्वास व्यक्त गरेकी हुन् ।
'रेशमजी छिट्टै छुट्नुहुन्छ सम्पूर्णमा विश्वस्त रहन आग्रह गर्दछु,' उनले लेखेकी छिन् ।
नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता घोषणा सभामा पुगेका चौधरीलाई जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले आजै नियन्त्रणमा लिएको थियो ।
२०७२ सालमा कैलालीको टिकापुर घटनामा संलग्नताको आरोपमा जेल बसेका चौधरी राष्ट्रपतिबाट आम माफी पाएर राजनीतिक क्रियाकलापमा संलग्न रहँदै आएका थिए ।
मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले २०८० जेठमा चौधरीलाई आम माफी दिएका थिए । सो निर्णयविरुद्ध कैलालीको टीकापुरमा मारिएका प्रहरी इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा कडायतले सर्वोच्चमा रिट हालेकी थिइन् ।