२५ जेठ २०८३, सोमबार

दुई दशकपछि नेपथ्यले ल्यायो कर्णालीको गीत

बैशाख २८, २०८२
काठमाडौं
दुई दशकपछि नेपथ्यले ल्यायो कर्णालीको गीत

लोकरक ब्यान्ड नेपथ्यले कर्णालीको सुसेली र सुस्केरालाई लामो अन्तरालपछि फेरि दर्शक/ श्रोतासमक्ष प्रस्तुत गरेको छ । 

गीतको सूत्र फेला परेपछि दुई दशकसम्म लगातार त्यस भेगलाई पछ्याउँदै गायक अमृत गुरुङले तयार पारेको सिर्जना अर्थात् ‘कर्नालीका छाइला’ शनिबार काठमाडौंमा सार्वजनिक गरिएको हो ।

प्रकृतिसँग मिलेर सुदूर जनजीवनले विकास गरेका भाकाहरूलाई आफ्नो आवाज बनाउने ब्यान्डको अभ्यासबाटै जन्मेको यो पछिल्लो गीतमा श्रव्यदृश्य सर्जक भूषण दाहालले तयार पारेको म्युजिक भिडियो छ ।

गीत भर्खर सार्वजनिक भए पनि नेपथ्यलाई पछ्याउँदै आएका धेरैले यसबारे दुई दशक अगावै जानकारी पाइसकेका थिए । ब्यान्डको गीत खोजी प्रयासमा उभिएको वृत्तचित्र ‘भेँडाको ऊनजस्तो’मा गायक अमृत र त्यस गीतका संकलक नारायण वाग्लेले यसलाई उतिबेलै गुनगुनाएका थिए । शनिबारको कार्यक्रममा वृत्तचित्रको त्यो दृश्य पनि देखाइएको थियो ।

विशेष गरी सल्यान र आसपासका जिल्लामा प्रचलित लोकधुन ‘टप्पा’मा उभिएको यस गीतलाई अमृतले त्यसै भेगमा पुगेर तयार पारेका  हुन् । पुरानो नेपाली चलचित्र ‘माइतीघर’मा अटाएको लोकप्रिय गीत ‘काला कुर्तैले छ मैने जागिरै खायाँ’ यसै ‘टप्पा’ धुनमा आधारित छ ।

‘कर्नालीका छाइला’ तयार पार्दा भने अमृतले लोकभाकाको मूललाई समातेर आफ्नै मौलिक शैलीमा विकास गरेका छन् । अमृतका अनुसार ‘भेँडाको ऊनजस्तो’ एल्बममा अटाएको ‘सा कर्णाली’ गीत भेटिएकै बेला यस गीतको मुखडा पनि फेला परेको थियो । 

‘सन् २००१ मा डोल्पातिरबाट आएका अङ्गद हमाल र यसका संकलक लक्ष्मीकान्त उपाध्यायको मुखबाट यो गीत पहिलोपटक सुन्ने मौका पाएको थिएँ’, अमृतले शनिबारको समारोहमा खुलाए, ‘यसबीच सन् २००८ मा एकपटक यस गीतलाई रेकर्ड गरिसके पनि चित्त बुझेन र बाकसमा थन्क्याइदिएँ ।’

त्यसपछि पनि यसलाई दिमागमा बोकेरै धेरैपटक कर्णाली भेगको यात्रा गरेको र पोहोर सल्यानका केही ग्रामीण साङ्गीतिक बैठकमा सरिक भएपछि यो रूप दिन मानसिक हिसाबले आफू तयार भएको उनले प्रस्ट पारे ।

अमृतका अनुसार यो गीत संकलन गर्दा स्थानीय जनजिब्रोका लाइन पर्याप्त भेटिएका थिए । ‘टप्पा’का सीमितताले गर्दा तिनै लाइनलाई बलियो आधारसहित धुनमा समेट्न सबैभन्दा बढी मेहनत गर्नुपरेको थियो ।

समरोहमा शनिबार प्रस्तुत गरिएको यो म्युजिक भिडियो केही दिनलाई शुल्क तिरेर मात्र दर्शकले हेर्न पाउने व्यवस्था मिलाइएको छ । 

‘नेपथ्यका कुनै पनि सिर्जनामा यो ब्यान्ड मन पराउने र यसलाई भरथेग गरौं भन्ने भावना राख्नेको पक्कै पनि पहिलो हक लाग्छ’, नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘त्यसैअनुरूप यो भिडियो तत्काल हेर्न नेपालभित्र कम्तीमा १० रूपैयाँ र विदेशमा कम्तीमा एक डलर तिर्नुपर्ने बन्दोबस्त मिलाएका छौं ।’

स्वेच्छापूर्वक बढी तिर्न खोज्नेलाई पनि आफूहरूले स्वागत गर्ने हिसाबले प्रबन्ध गरिएको उनले जानकारी दिए । गीत हेर्न चाहने दर्शकले नेपथ्यको वेबसाइटमा जानुपर्ने हुन्छ ।

त्यहाँ यस गीतका लागि लिंक दिइएको छ, जसलाई थिचेपछि सोझै ‘गेटवे’मा पुगिन्छ । त्यसमा बैंकको विवरण वा कुनै पनि ‘पे वालेट’ प्रयोग गरेर अर्डर गर्न सकिन्छ । त्यसपछि उक्त व्यक्तिको इमेलमा प्राप्त हुने लिंक थिचेपछि खुल्ने म्युजिक भिडियोलाई जतिपटक पनि हेर्न सकिनेछ ।

पैसा नतिरेरै हेर्न चाहनेका हकमा भने यो म्युजिक भिडियो साता दिनपछि मात्र सार्वजनिक थलोमा उपलब्ध गराइनेछ । ‘हामी दुई दिनमै नेपथ्य सांगीतिक यात्राका लागि अमेरिका प्रस्थान गर्दैछौं’, श्रेष्ठले भने, ‘अमेरिका यात्राकै दौरान उपयुक्त समय हेरेर यो म्युजिक भिडियो युट्युबमा रिलिज गर्नेछौं ।’

salt training

कमेन्ट गर्नुहोस्