
काठमाडौंको सामाखुशीस्थित आर्जन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ८४ जना बचतकर्ताको ९ करोड ४ लाख ७८ हजार ८ सय १० रुपैयाँ १७ पैसा ठगी गरेको निष्कर्षसहित अदालतमा अभियोग पत्र दर्ता भएको छ ।
सहकारी सञ्चालक समितिका अध्यक्ष दलबहादुर आले र अन्य पदाधिकारीसहित १३ जनालाई प्रतिवादी बनाउँदै जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा परेको शुरूको जाहेरीमा २०६५ सालमा स्थापना भएको यो सहकारीले आकर्षक ब्याजदर दिने प्रलोभन देखाएर ११ करोड ५५ लाख ४३ हजार ४ सय ६ रुपैयाँ ९४ पैसा ठगी गरेको उल्लेख थियो ।
सीआईबीको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले थप बयान गराई मुद्दाको अभियोजन गर्दा ९ करोड ४ लाख ७८ हजार ८ सय १० रुपैयाँ १७ पैसा ठगी गरेको तथ्य फेला परेको हो ।
अभियोग पत्र अनुसार सहकारी सञ्चालक समितिका अध्यक्ष दलबहादुर आले, उपाध्यक्ष लीलाधर सापकोटा, सचिव राजकुमार गुरुङ, कोषाध्यक्ष सीता भट्टराई, सञ्चालक समिति सदस्य अनिल शर्मा, कोपिला राना, अरुणकुमार खनाल, व्यवस्थापक कविता गुरुङ, ऋण समिति सदस्य विष्णुप्रसाद खनाल, हरि श्रेष्ठ, लेखा समिति संयोजक दीपक थापा, लेखा समिति सदस्य शिवमाया श्रेष्ठ र यमप्रसाद अधिकारीलाई प्रतिवादी बनाइएको छ ।
पीडितमध्ये जाहेरवाला ईश्वरी अधिकारीकै मुद्दती र साधारण बचत गरी २१ लाख १० हजार ४ सय ६९ रुपैयाँ ४१ पैसा सहकारीले ठगी गरेको देखिन्छ ।
‘सहकारी अध्यक्ष दलबहादुरसहित सदस्यले मलाई आकर्षक ब्याज दिने प्रलोभन देखाएर पैसा जम्मा गर्न लगाए । मैले जिन्दगीभर कमाएको पैसा खाइनखाई जम्मा गरें, तर फिर्ता दिएनन्,’ जाहेरीमा भनिएको छ ।
पटक–पटक सावाँ मात्रै माग्न जाँदा पनि पैसा नदिएपछि जाहेरी दिएको अधिकारीले उल्लेख गरेका छन् । सहकारीकै खातावालाद्वय सुजनकुमार श्रेष्ठ र सवित्री श्रेष्ठको १ करोड ५६ लाख ८१ हजार ४४६ रुपैयाँ ठगी भएको छ ।
आकर्षक ब्याज पाउने प्रलोभनमा सहकारीमा जम्मा गरेको उक्त रकम फिर्ता नपाएपछि जाहेरी दिएका थिए । सहकारीका अध्यक्षसहितले बदनियत राखेर पैसा जम्मा गर्न लगाएर फिर्ता नदिई ठगी गरेको श्रेष्ठद्वयले जाहेरीमा उल्लेख गरेका छन् ।
अनुसन्धान मिसिलअनुसार सहकारीकै शेयर सदस्यहरूले गरेको आन्तरिक छानबिनबाट समेत सहकारीले बदनियत राखेको स्पष्ट खुलेको देखिन्छ ।
आन्तरिक छानबिनबाट सहकारीको अधिकांश लगानी नक्कली रहेको, संस्थामा मुनाफा देखाउन काल्पनिक लेखा परीक्षण गराएको, सहकारीका अध्यक्षले एड्भान्स खातामा निरन्तर रकमान्तर गरेको, बचत भएको रकममा अध्यक्षले कमिसन लिने गरेको, कार्यसमितिका सदस्यहरू नै ऋण असुल कार्यमा संलग्न रही तलब सुविधा लिने गरेको र लेखा समितिका पदाधिकारीहरूले समेत दशैं बोनस लिने गरेको लगायतका तथ्य खुलेका थिए ।
सहकारीले पीडितका बाबुआमादेखि दिदी, भान्जा र भाउजूलाई समेत ठग्यो
अभियोग पत्रमा उल्लेख भएअनुसार जाहेरवाला बूढानीलकण्ठका उमेश सापकोटाको आफू मात्रै नभएर परिवारका सबै सदस्यहरूको गरी १ करोड १७ लाख १ हजार रुपैयाँ ८ पैसा ठगी भएको छ ।
सापकोटाले दिएको जाहेरीअनुसार उनको १ लाख ८ हजार ७ सय ५१ रुपैयाँ, बुबा लीलाधरको १३ लाख ४४ हजार ३ सय १९ रुपैयाँ २१ पैसा ठगी भएको छ ।
त्यस्तै उनकी दिदी उषा सापकोटाको ४३ लाख ९० हजार ८ सय ७० रुपैयाँ ६९ पैसा, भान्जी अमिशाको २ लाख १४ हजार ७५ रुपैयाँ, दाजु उज्ज्वलको २ लाख ७२ हजार एक सय ९५ रुपैयाँ ६९ पैसा तथा भाउजू, भतिजलगायत परिवारका अन्य सदस्यका नाममा रहेको थप रकम समेत रहेको छ ।
अर्का जाहेरवाला काठमाडौंको तारकेश्वर नगरपालिका बस्ने नारायण पौडेलको पनि आफू, श्रीमती र घर धितोसहित गरी १ करोड ११ लाख ९० हजार ८ सय ९५ रुपैयाँ सहकारीले ठगी गरेको जाहेरीमा उल्लेख छ ।
यस्तो छ सजायको मागदाबी
प्रतिवादीहरू दलबहादुर आले, लीलाधर सापकोटा, राजकुमार गुरुङ, सीता भट्टराई, अनिल शर्मा, कविता गुरुङ, कोपिला राना, अरुण खनाल, विष्णुप्रसाद खनाल, हरि श्रेष्ठ, दीपक थापा, शिवमाया श्रेष्ठ, यमप्रसाद अधिकारी, योगराज गुरुङ, राजकुमार श्रेष्ठ र लक्ष्मण थापा क्षेत्रीको हकमा मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ (१) र (२) अन्तर्गतको कसूरमा सोही संहिताको दफा २४९ (३) (ग) बमोजिम सजाय हुन माग दाबी लिइएको छ ।
अरू प्रतिवादीरू राजकुमार श्रेष्ठ, योगराज गुरुङ र लक्ष्मण थापा क्षेत्रीको हकमा थप बिगोको सम्बन्धमा प्रतिवादी कायम गरिएको छैन ।
प्रतिवादी कविता गुरुङ र राजकुमार गुरुङ हाल कारागार कार्यालय जगन्नाथ देवलमा र प्रतिवादी आले कारागार कार्यालय डिल्लीबजारमा थुनामै छन् ।
अन्य प्रतिवादीहरू लीलाधर सापकोटा, सीता भट्टराई, अनिल शर्मा, कोपिला राना, अरुण खनाल, विष्णुप्रसाद खनाल, हरि श्रेष्ठ, दीपक थापा, शिवमाया श्रेष्ठ र यमप्रसाद अधिकारी समेत धरौटी तारेखमा रहेका हुँदा तारिखमा उपस्थित भएका बखत बयान गराई थप कारबाहीको माग दाबी गरिएको छ ।