
चार दशकदेखि माओवादी घटक दललाई खेलाएर राजनीति गर्दै आएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा टिक्न अर्को कार्ड प्रयोगको तयारीमा लागेका छन् ।
लामो कालखण्ड नै राजनीतिमा गुजार्ने क्रममा प्रचण्डले अझै पनि नेतृत्व छाड्ने मानसिकता बनाएका छैनन् । यसअघि जस्तै साना पार्टीसँग एकता गर्ने, पार्टीको नाम नै फेर्ने र नेतृत्वमा टिकिरहने उनको प्रयास देखिन्छ ।
शान्ति प्रक्रियामा आएपछि प्रचण्डले २०६५ मा नारायणकाजी श्रेष्ठको नेकपा एकता केन्द्रसँग पार्टी एकीकरण गरे । त्यसपछि पार्टीको नाम नेकपा एकीकृत नेकपा माओवादी भयो । श्रेष्ठसँग एकता भएपछि २०६९ माघमा हेटौंडामा सातौं एकता महाधिवेशन गर्दा पनि प्रचण्डले नेतृत्व छाड्नु परेन । हलले प्रचण्डलाई अध्यक्ष छान्यो ।
गणेश साहको नेकपा संयुक्तसँग प्रचण्डले २०७३ मा एकता गरे । यो एकता पनि नेतृत्वमा ५ वर्ष पुग्ने बेला गरिएको थियो । त्यसपछि माओवादीको नाम नेकपा (माओवादी केन्द्र) रह्यो । २०७३ मा माओवादी केन्द्र पार्टी बन्यो । पार्टीको नाम नयाँ भएपछि महधिवेशनको बाध्यता टर्यो ।
यसपछि संवैधानिक बाध्यताअनुसार पनि माओवादीलाई कुनै हालतमा २०७८ मा महाधिवेशन गर्नुपर्ने दबाब थियो । महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्नुपर्ने पनि थियो । तर, राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा बदलेर प्रचण्डले फेरि नेतृत्व परिवर्तनको विकल्पलाई पछाडि धकेलिदिए ।
२०७८ पछि माओवादी नवौं महाधिवेशनको वर्षमा प्रवेश गरेको छ । यस्तोमा २०८३ पुसभित्रै माओवादीलाई नवौं महाधिवेशन गर्नैपर्ने दबाब छ । तर, महाधिवेशनको वर्ष नजिकिँदै गर्दा अध्यक्ष प्रचण्डले फेरि अर्को कार्ड तयार गरेका छन् । २०७९ को चुनाव आफ्नै पार्टीबाट लडेको महिन्द्रराय यादवको नेसपासँग एकता गर्ने, पार्टीको नाम फेर्ने र फेरि पनि नेतृत्वमा आफैं आउने रणनीतिमा प्रचण्ड लागेका छन् ।
यसअघि जस्तै महाधिवेशनको वर्ष नजिक पुगेर माओवादीले नेसपासँग एकता गर्ने विषयलाई प्राथमिकतामा राखेको छ । जनतामा असाध्यै ठूलो प्रभाव राख्ने नेता र संगठित शक्ति नेसपामा छैन । तर, यसअघि जस्तै कुनै सानो पार्टी मिसाउने र रणनीतिक रूपमा लाभ लिन प्रचण्डले नेसपासँग वार्ता गर्ने र पार्टी एकतासम्म पुग्ने रणनीति बनाएका हुन् ।

शुक्रबार नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव पार्टी एकताको कुरा गर्न भन्दै अध्यक्ष प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेका थिए । यही भेटको भोलिपल्टै शनिबार माओवादीको कार्यकारिणीको बैठकले नेसपासँग एकता गर्ने निर्णय गरेको थियो । तर, नेताहरूले यसलाई रणनीतिक मानेका छन् ।
‘यसअघि नारायणकाजी श्रेष्ठ र गणेश साहसँग एकता गर्नेदेखि राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा बदल्ने काम हुँदै आएको छ । पार्टी एकता र नाम फेर्नुमा पनि रणनीतिक मुभ देखिन्छ,’ माओवादीका एक नेता भन्छन्, ‘फेरि महाधिवेशनको मुखमा माओवादी छ । तर, यही बेला नेतृत्व र संगठनमा पकड नभएका दलसँग एकता गर्न खोज्नुमा पनि पार्टीगत स्वार्थभन्दा नेतृत्वको व्यक्तिगत स्वार्थ बढी देखिन्छ ।’
डा. बाबुराम भट्टराईसँगै यादव नेसपाका सह–अध्यक्ष थिए । तर, २०८० चैत ३ गते माओवादीसँग एकता गर्ने निर्णयमा यादवसहितका नेताले हस्ताक्षर गरे । त्यसपछि बाबुराम र यादव अलग–अलग भएका हुन् । त्यसयता पटक–पटक पार्टी एकता गर्ने दाबी गरिएता पनि अहिलेसम्म कुनै टुंगो नलागेको हो ।
केही समय अघिसम्म विप्लव नेतृत्वको नेकपासँग पनि माओवादीले एकताको कुरा अगाडि बढाएको थियो । तर, विप्लव आफैंमा प्रभावशाली नेता हुन् । उनको पार्टीको उच्च वरीयतामा ल्याउनुपर्ने स्थिति छ । उनीपछि पनि प्रभावशाली नेताको व्यवस्थापन गर्नुपर्दा पार्टी एकता सहजै नटुंगिनेमा माओवादी नेतृत्व पुगेको छ । यसैले यादवलाई मात्रै व्यवस्थापन गर्न कुनै कठिनाइ नपर्ने, तर रणनीतिक रूपमा बढी फाइदा हुने बुझाइ माओवादीको छ ।
माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले नेसपासँग एकताको कुराकानी भइरहेको जानकारी दिए ।
‘नेसपासँग एकता गर्ने कुराकानी केही लामो समयदेखि नै चलेको हो । तत्काल अध्यक्षबाहेकका नेताहरू माओवादीमा आउनुहुन्छ,’ पौडेलले लोकान्तरसँग भने ।
अर्का नेता लीलामणि पोखरेलले नेसपा अध्यक्ष यादवले पार्टीको नाम फेर्न गरेको प्रस्ताव माओवादीले नमानेकाले एकता टर्दै आएको बताए । ‘एकता गर्ने भन्नेमा छौं । तर, उहाँहरूले माओवादीको नाम फेर भन्नुभएको छ । हामीले नाम फेर्ने सम्भावना छैन भन्दै आएका छौं,’ पोखरेलले भने, ‘तत्काल गंगाजी आउनुहुन्छ, अरू नेता विस्तारै आउँछन् ।’
अर्का एक नेता पार्टी बनाउने र संगठन गर्ने कुरा नेतृत्वले रणनीतिक हिसाबले मात्रै हेर्न नहुने बताए ।
‘महिन्द्र यादव आउँदा पार्टीलाई सांगठनिक रूपमा कुनै ठूलो फाइदा हुँदैन । तर, एउटा म्यासेज जान्छ,’ माओवादीका ती नेता भन्छन्, ‘तर, नेतृत्वले रणनीतिक हिसाब मात्रै गरेर एकता गर्न चाहेको भए पार्टीको हितमा हुँदैन ।’
वर्षौंसम्म महाधिवेशनलाई अनेक नाममा टार्ने गरिएको भन्दै ती नेताले महाधिवेशनबाट नीति, नेतृत्व र कार्यक्रम सबै फेर्नुपर्ने बताए । ‘हामीले पछिल्लो केही समययता पार्टीका भ्रातृसहितका संस्थामा चुनावबाटै नेतृत्व चयन गरेका छौं । यसैले महाधिवेशन टार्नेभन्दा नीति, कार्यक्रम र नेतृत्व फेर्नेसम्मको प्लेटफर्मको रूपमा महाधिवेशनलाई प्रयोग गर्नुपर्छ,’ ती नेता भन्छन्, ‘नयाँ चुनौती आएकाले अब पुरानो नेतृत्व र नेताले मात्रै हामी सबैथोक हौं भन्न मिल्दैन । एउटा प्रक्रियामा प्रवेश गर्ने गरी महाधिवेशन गर्नुपर्छ ।’
प्रचण्डले खुलेरै अझै दुई कार्यकाल आफैं नेतृत्वमा आउने बताएका छन् । बर्दिया पुगेर प्रचण्डले केही दिनअघि दुई कार्यकाल माओवादीमा आफ्नो खाँचो रहेको दाबी गरेका थिए ।
तर, पछिल्लो समय पार्टीमा प्रभाव जमाइरहेका उपमहासचिव जनार्दन शर्माले विधिसम्मत महाधिवेशन गर्नुपर्ने र यसको लागि प्रक्रियासम्मत अगाडि बढ्नुपर्ने विषय लिखित रूपमै उठाउँदै आएका छन् । उनको अभियानमा अरू नेताको समेत साथ छ । यसैले यसअघि जस्तै परम्परागत कुरा गरेर अल्मल्याउने सुविधामा प्रचण्ड छैनन् ।
माओवादीले हुलाकी राजमार्गकेन्द्रित अभियानपछि अब जेठबाट मध्यपहाडी राजमार्गकेन्द्रित अभियान थाल्दैछ । यो अभियानपछि बल्ल केन्द्रीय कमिटी बैठक बसेर महाधिवेशनको तयारीमा लाग्ने माओवादीले जनाएको छ ।
तर, महाधिवेशनअगाडि साना पार्टीसँग एकता गर्ने, पार्टीको नाम फेर्ने, सदस्यताको विषय, निर्वाचन प्रणालीसहितका विषय टुंग्याउनुपर्ने दबाब माओवादीलाई छ । तर, २०८० को विधान अधिवेशनले केन्द्रीय कमिटी प्रत्यक्ष निर्वाचित गर्ने गरी विधान संशोधन गरेको छ । यसपटक भने माओवादीलाई पहिलेजस्तो नेतृत्व चयन हलबाटै गर्ने बाटो बन्द छ ।
राजनीतिक विश्लेषक मुमाराम खनालले जोसँग एकता गरे पनि प्रचण्डले नेताहरूलाई कारिन्दा जस्तो बनाउँदै आएको बताए ।
‘प्रचण्डले महाधिवेशन गरे पनि, नगरे पनि नेतृत्वमा आउने आफैं हो भन्ने भएपछि कोहीबाट पनि डराउने र दबाबमा आउने पक्षमा छैनन् । आउँदा पनि कार्यकर्ता जस्तो बनाएर ल्याउँछन्,’ खनालले भने, ‘वैधानिकताका लागि निर्वाचन आयोग, दलसम्बन्धी संवैधानिक र कानूनी बाध्यता छल्न नाम मात्रको अधिवेशन गर्न यस्ता एकता र पार्टीको नाम फेर्ने कुरालाई पटक–पटक उपभोग गरेका छन् । फेरि पनि गर्न सक्छन् ।’
प्रचण्डले पटक–पटक यस्तो रणनीति अख्तियार गरे पनि पार्टी थप बलियो नबनेको उनी बताउँछन् ।
‘पार्टी बलियो बन्छ, संगठित हुन्छ भने यस्ता रणनीति कहिलेकाहीँ कामकाजी पनि बन्न सक्छन्,’ खनालले भने, ‘तर अहिलेसम्म मनोवैज्ञानिक रूपले पार्टीलाई इन्ट्याक्ट राख्न, बलियो बन्न र गिर्दै गरेको शाख उकास्न यस्ता एकताले काम गरेको माओवादीको इतिहासमा छैन ।’