१६ असार २०८३, मंगलबार
नियात्रा

अमेरिकाको राउटे बस्तीमा रोमाञ्चक अनुभूति

जेठ ३, २०८२
काठमाडौं
अमेरिकाको राउटे बस्तीमा रोमाञ्चक अनुभूति

न्युयोर्क शहरबाट टुरिस्ट बस चढेर विभिन्न ठाउँ हेर्न हामी बाटो लाग्यौं । हाम्रो टोलीमा मेरी सपना, छोरी ज्वाइँ साधना-प्रकाश, नाति प्रशम समेत पाँचजना थियौं । बसमा हामीबाहेक सबैजना चिनियाँ थिए । 

हाम्रो बस चलाउने चिनियाँ महिला चालक नै हाम्री गाइड पनि  थिइन् । उनी हामीसित ठट्टा गर्दै, जिस्किँदै हामीलाई बाटामा पर्ने विभिन्न ठाउँको परिचय गराउँथिन् । चलिरहेको बसबाट उनले पहिले चिनियाँ भाषामा पछि अंग्रेजीमा सोधिन्, ‘तिमीहरूले अल्बर्ट आइन्सटाइनको नाम सुनेका छौ ?’

‘सुनेका छौं ।’ हामी लगायत बसका सबै यात्रुहरूले एक स्वरमा जवाफ दिए । 

‘पहिले म तिमीहरूलाई  आइन्सटाइनले पढाएको प्रिन्सटन विश्वविद्यालय भ्रमण गराउँछु , त्यहाँ तिमीहरूलाई दुई घण्टा मात्रको समय हुनेछ , विश्वविद्यालयमा उत्रेको ठीक दुई घण्टा पछि सबैजना बसमा चढिसक्नु , नत्र बस आफ्नो बाटो लाग्ने छ’, उनले जनाउ दिइन् ।

बसका सबै यात्रीहरूले उनको भनाइमा समर्थन जनाए । अगाडि बढ्दै जाँदा उनले अल्बर्ट आइन्स्टाइनको एउटा छोटो प्रसंग सुनाइन् । एकपटक अल्बर्ट आइन्स्टाइन एउटा रेस्टुरेन्टमा गएछन् । उनले त्यहाँ खाजा खाए , खाजाको पैसा त तिरे तर, बेरालाई टिप्स दिने पैसा उनीसित बाँकी थिएन । उनले बेरासित एउटा कागज मागे । त्यस कागजमा आफ्नो हस्ताक्षर अल्बर्ट आइन्स्टाइन भनी गरेर दिँदै भने, ‘आज मसित तिमीलाई दिने टिप्स भएन, यो मैले सही गरेको  कागज जतनसाथ राख्नु कुनैदिन यो तिमीलाई  काम लाग्न सक्छ ।’

बेराले पनि त्यो कागज जतन गरेर राख्यो । आइन्स्टाइनको मृत्यु भएको केही वर्षपछि बेराले त्यो कागज लिलाम गर्‍यो ।  एकजना शौखिन व्यक्तिले अल्बर्ट आइन्स्टाइनको हस्ताक्षर २० लाख अमेरिकी डलरमा खरिद गरे  । बेराले बेचेको त्यही पैसाले गाडी, घर, बैंक ब्यालेन्स सबैथोकको चाँजोपाँजो मिलायो । 

हाम्री चालक तथा गाइडले यो कथा सुनाउँदा धेरै यात्रीहरूले जिब्रो टेकेका थिए । चालक गाइडका कुरा सुनेर पहिले चिनियाँहरू जिब्रो टोक्थे त्यसको केहीबेरपछि हामी जिब्रो टोक्थ्यौं । किनभने चालकले पहिले चिनियाँ भाषामा र पछि अंग्रेजीमा त्यो वृतान्त सुनाउँथिन् ।  

हाम्रो टोली प्रिन्स्टन विश्वविद्यालय हातामा पुगेर त्यहाँका विभिन्न कुरा अवलोकन गर्न व्यस्त भयो । महान् वैज्ञानिक आइन्सटाइनले प्राध्यापन गरेको यो विश्वविद्यालयलाई हामीले विशेषगरी नियाल्यौं । त्यहाँको फूलबारी, पानीका फोहोरा, आइन्स्टाइनको शालिक, पुस्तकालय, समीक्षालय, आदि आदि हेरेर  दुई घण्टा त्यसको हातामा बितायौं । अन्त्यमा प्रिन्स्टन विश्वविद्यालय र आइन्स्टाइनका शालिकलाई बाइबाइ गरेर बस चढ्यौं ।

हाम्रो बस हिँडिसकेपछि हाम्री चालकले सोधिन्, ‘आइन्सटाइनले पढाएको कलेजमा तिमीहरूले इन्जोइ गर्‍यौ ?’
‘हो गर्‍यौं ।’ हामीले एकस्वरमा जवाफ दियौं । हामी बिस्तारी बोल्यौं भने चालक ठट्टा गर्दै भन्थिन्,  ‘बोली आएन त, भोक लाग्यो कि के हो तिमीहरूलाई  ?’ 

त्यसैले ठूलो आवाज निकालेर बोल्थ्यौं । 

चालकले फेरि भनिन्, ‘अब तिमीहरूलाई म एउटा यस्तो बस्तीमा लाँदैछु जहाँका मानिसहरू ज्ञानविज्ञानबाट धेरै टाढा छन् । उनीहरू अमिस हुन्, उनीहरू घरमा टेलिभिजन राख्दैनन् । उनीहरू मोबाइल बोक्दैनन्, कुनै पनि  वैज्ञानिक उपकरणको प्रयोग गर्दैनन्, विद्युत प्रयोग गर्दैनन् । बालीनालीमा रासायनिक मल, कीटनाशक औषधि प्रयोग गर्दैनन् । त्यहाँ एउटा रेस्टुरेन्ट छ, त्यसमा सबै अर्गानिक खानेकुरा पाइन्छ । तिमीहरू त्यसको पनि स्वाद लिन सक्छौ ।  त्यस बस्तीमा तिमीहरू सबै अचम्ममा पर्नेछौ । म अब तिमीहरूलाई त्यो उदेकको बस्तीमा लग्नेछु । जहाँका मानिसहरू मोटर कार चढ्दैनन्, घोडा र बग्गी चढ्छन् । यो बस्ती न्युयोर्कबाट एकसय पचास माइल टाढा पर्दछ ।’

‘के ती अमिसहरू पनि  अमेरिकी नागरिक नै हुन् ?’, सपनाले चालकलाई  प्रश्नको अङ्कुसेले तानिन् ।  

सपनाको प्रश्नलाई चालकले पहिले चिनियाँ भाषामा उल्था गरिदिइन् । त्यसपछि जवाफ दिइन्, ‘हो, अमिसहरू अमेरिकी नागरिक हुन्, उनीहरू राज्यलाई कर तिर्छन् तर राज्यले दिने सोसल सेक्युरिटी, मेडिकल आदि कुनै सुविधा पनि उनीहरू लिँदैनन् । पेन्सेलभेनिया सरकारले ज्येष्ठ नागरिकहरूलाई हेरविचार र पालनपोषण गर्ने जिम्मा लिन्छ तर, अमिसहरू घरका हजुरबा, हजुरआमाको सेवा परिवारकै सदस्यले आफ्नो कर्तव्य सम्झेर गर्दछन् । तर, सरकारबाट अतिरिक्त कुनै सुविधा लिन मान्दैनन् ।’

हाम्री छोरी साधनाले भनिन्, ‘अमेरिकामा पनि सन्तान थरीथरीका हुँदा रहेछन् ।’

null

‘ज्ञान, विज्ञानको चरम उपयोग गरेर सम्पूर्ण ब्रम्हाण्ड नै कब्जामा लिन खोज्ने एलन मस्क पनि अमेरिकी, ज्ञानविज्ञानका तमाम कुरालाई लत्याउने अमिसहरू पनि अमेरिकी !’ हाम्रा ज्वाइँ प्रकाशका मुखबाट फुत्त निस्कियो । 

चालकका कुराले हामी सबै चकित भयौं । अमिसहरूको बस्ती कस्तो होला, उनीहरू कस्ता होलान् भनेर हेर्न हामी उत्सुक बनेका थियौं । ज्ञानविज्ञानको विकास हुनुभन्दा पहिलेको अवस्थामा रमाउने अमिसहरूको संसार हेर्न हामी लालयित थियौं ।  हाम्रो गाडीले हामीलाई अमिस भिलेजको गेटभित्र लगेर पोखिदियो ।

एकजना अमिस आमाले दुईजनालाई आफूले बोकेको सातजना छोराछोरीलाई अघिपछि लगाएर हिँडिरहेको हामीले देख्यौं । त्यसविषयमा हामीले हाम्रा पथप्रदर्शकलाई प्रश्न गर्दा उनले भने, ‘अमिसहरूका छोराछोरी दर्जन र त्योभन्दा बढी हुन्छन्, कसैका सत्र/अठार जनाभन्दा पनि धेरै सन्तान जन्माएका हुन्छन् । भगवानले जति दिन्छन्, हात थाप्नुपर्छ भन्ने उनीहरूको मान्यता हुन्छ । उनीहरूको धर्ममा परिवार नियोजन गर्नु त महापाप मानिँदोरहेछ । त्यसैले उनीहरू कोही पनि परिवार नियोजन गर्दैनन्, त्यसैले अमिस भिलेजमा जनसंख्या वृद्धि दर अति उच्च हुन्छ ।’

उनका कुराले हामी तीन छक्क परेका थियौं । 

अमिसहरूको पेसा कृषि हो । तर, उनीहरू खेतीमा ट्याक्टर, थ्रेसर आदि उपकरणको प्रयोग गर्दैनन् । अनि कोदालो, हँसिया, खुर्पेटो, कुटो आदिको प्रयोगबाट खेती र पशुपालन गरिने हुँदा यहाँ काम गर्ने जनशक्ति धेरै चाहिने भएर परिवार नियोजनका विरुद्धमा उनीहरू हुन्छन् ।

हाम्रो देशमा पनि म सानै छँदा परिवार नियोजनको चलन थिएन । त्यसैले बुढापाकाहरू भन्ने गर्दथे, भगवानले जति दिन्छन् हात थाप्नु पर्दछ ।  जसका सन्तान उसको धन, जसका वस्तु उसको वन भन्ने उखान प्रचलित थियो । त्यो उखान आज नेपालबाट हराए पनि  अमेरिकाको अमिस भिलेजमा जीवित देख्दा आफ्नो बाल्यकालमा फर्केजस्तो मलाई अनुभव भयो ।

साँझ पर्न लागेको थियो । अमिसहरूका कतिपय घरमा सोलार बत्ती बल्न थाले । कुनै घरमा त लालटिन बले । एउटा घरबाट नीला पोशाकले बेरिएका युवक/युवती सडकमा निस्किए । उनीहरूका पछाडी धेरैजना अमिसहरू थिए । त्यो अमिस युवक र युवतीको विवाह कार्यक्रम रहेछ । सोधखोज गरेपछि थाहा भयो अमिस युवतीले आफ्नो विवाहका लागि आफैंले पोशाक तयार पार्नुपर्ने नियम रहेछ । विवाहका दिन अमिस दुलही  नीलो कपडामा बेरिनुपर्दो रहेछ । ​

अमिसहरू खरानीपानीमा मैला लुगा पकाएर काठका मुङ्ग्राले पिटीपिटी धुँदा रहेछन् । लुगा धुन साबुन, सर्फ र डिटरजेन्ट कहिल्यै प्रयोग गर्दारहेनछन् । लुगा धोएर घर बाहिर चौरमा सुकाउँदा रहेछन् । साँझ परेको हुनाले दिउँसो सुकाएका  लुगा उठाउन अमिस महिलाहरू व्यस्त देखिन्थे ।

त्यसबेला मैले पनि आफ्नो बाल्यकाल झलक्क सम्झिएँ । म सानै छँदा हाम्रो घरमा पनि तोरी दाँइ गरेर निस्केको तोरीका सुकेका बोटलाई लट्टे भनिन्थ्यो । त्यो एकै ठाउँमा थुपारेर आगो सल्काई त्यसको खरानीमा थोरै सोडा हालेर मैला लुगा ग्वादग्वाद पकाएर बूढी खोलामा लगी काठका मुङ्ग्राले पिटेर आमा र ठूली भाउजूहरूले धुने गर्नुहुन्थ्यो । यसरी धोएका लुगालाई खोलाका बगरमा बालुवामाथि सुकाउने चलन थियो । त्यसबेला हाम्रा घरमा बिजुली थिएन, वासिङ मेसिनहरू हुने कुरै भएन । संयुक्त राज्य अमेरिकाको पेन्सेलभेनियाको अमिस भिलेजमा मैले आफ्नो त्यही विगत सम्झेँ । हाम्री आमाहरू  र ठूली भाउजू शोभाको मलिन अनुहार मेरा आँखा अगाडि नाच्न थाल्यो । 

अर्को अनौठो कुरा विवाह भइसकेकी अमिस युवतीले जीवनभरि ऐना हेर्नु महापाप ठानिँदो रहेछ ।

अमिस समुदायको परम्परागत जीवनशैली यस गाउँमा प्रस्टसित देख्न सकिन्छ । अमिस भिलेज ऐतिहासिक र सांस्कृतिक वस्ती हो । यस ठाउँमा परम्परादेखि बस्दै आएका यी अमिसहरू एक धार्मिक समूह रहेछन् । इसाइ धर्माबलम्बीबाट बनेको यो समुदायको पृथक पहिचान रहेछ ।  आधुनिक विज्ञान प्रविधिका आविष्कार र सिर्जनाबाट यो सिंगो बस्ती धेरै पृथक र  टाढा छ । उनीहरूको जीवनशैली आज पनि अठारौं शताब्दीको जस्तो छ ।  

हामीले एक रात, एकबिहान अमिस गाउँमा बिताएर त्यहाँका विभिन्न कुराको सूक्ष्म अवलोकन गरेका थियौं । हामी अमिसहरूका घरघर घुम्यौं । ती घरहरू सामान्य छाप्रा थिए । कतिपय अमिसका घरमा सोलार बत्तीहरू थिए । कतिपय अमिसहरू  त्यहाँ त लालटिनको धिपधिपे उज्यालामा काम गर्दै थिए ।

पर्यटकहरू आउने बुझेर एउटा घरमा पेट्रोमेक्स जस्तो ठूलो बत्तीले आँगन जगमग पारेका थिए । घरमा बाँसबाट बनेका सरसामानहरू देखिन्थे । प्राचीन कालमा अमिसहरू कसरी जीवन चलाउँथे भन्ने कुरा देखाउन त्यहाँ एउटा म्युजियम पनि बनाइएको रहेछ ।  

हुन त एसएलसी परीक्षा दिनुभन्दा पहिले मैले पनि त्यस्तै लालटिनको उज्यालेमा पढेको हुँ ।  राति बाल्ने टुकीको सलेदो मिलाउने, लालटिनको सिसा पुछ्ने, सलेदो निचोरनाचोर पारेर त्यसमा लागेको कालो हटाउने, मट्टीतेल हालेर साँझका लागि बत्ती बाल्न ठीक पार्नुपर्ने काम मेरो जिम्मा हुन्थ्यो । मलाई लाग्यो, अमेरिकाको अमिस भिलेजमा आज पनि मैले बाल्यकालमा गर्ने गरेजस्तो कामबाट अमिसहरूलाई आज पनि छुटकारा मिलेको रहेनछ । 

हामीलाई त्यो गाउँ घुमाउन लाने पथप्रदर्शकसित मैले सोधे, ‘अमिसहरू कार चढ्दैनन् ? उनीहरू टेलिफोन , मोबाइल प्रयोग गर्दैनन् ? टेलिभिजन हेर्दैनन् ।’

‘उनीहरूका घरमा मट्टीतेलबाट बल्ने लालटिन र पेट्रोमेक्स बाल्छन्, अचेल सोलार बत्ती बाल्न थालेका छन् ।   उनीहरू मोटर कार चढ्दैनन्, घोडा र बग्गी चढ्छन् । उनीहरूले घरघरमा घोडा पालेका हुन्छन् । सबैका घरमा बग्गी हुँदोरहेछ । तर, साइकल, मोटरसाइकल आदि चढ्दैनन् । अझ गज्जबको कुरा उनीहरू सुत्केरी हुन पनि कुनै अस्पताल जाँदैनन्, घरैमा सुँढेनीहरूको मद्दत लिएर बच्चा पाउने गर्दछन् ।’

त्यहीबेला हाम्रासामू घोडाले चलाएर ल्याएको एउटा बग्गी देखापर्‍यो । 

उनीहरू गाडीको सट्टा बग्गी चलाउँछन् । त्यहीबेला बग्गीबाट दुईजना महिला पुरुष फुत्त बाहिर निस्के । उनीहरूले हामीलाई मुस्कानले स्वागत गरेर डच भाषामा भने, ‘हाम्रा गाउँमा रमाइलो गरेर जाऊ है ।’

उनीहरू अंग्रेजी बोल्न सक्नेले  पनि डच भाषा बोल्दा रहेछन् । उनीहरूले बोल्ने डच भाषालाई पेन्सेलभेनियाली डच भाषा भनिदोरहेछ, जो जर्मनेली भाषा परिवारभित्र पर्दोरहेछ । 

अमिस पुरुषहरू खेतीपातीको बलको  काम गर्छन्, उनीहरूका महिलाहरूले घर धन्दा, बढारकुँढार, सरसफाइ र करेसाबारीको काम गर्दारहेछन् । पुरुषहरूले खेतबारी खनजोत गरेर बाली लगाउने काम गर्दा रहेछन् । उनीहरू खेतीपातीमा उनीहरू प्राङ्गारिक मलमात्र प्रयोग गर्दा रहेछन् । 

उनीहरू बाँसका चोया काडेर डोका, थुन्से, फिपी, पंखा, डाली अन्न राख्ने भकारी आदि आफैं बनाइ पर्यटकहरूलाई बेचबिखन गर्दारहेछन् । उनीहरूलाई चाहिने लुगा कपडा आफैंले उब्जाएको कपासको धागो कातेर तानमा आफैं कपडा बुनी शरीरमा बाँधेर लगाउँदा रहेछन् । हिजोआजका  युवायुवतीहरूले भने कपडा  हातैले सिएका लुगा लगाउँदा आफ्नो इज्जत ठान्न थालेका रहेछन् ।

अमिस गाउँहरू शहरको भिडभाड घन्चमन्चभन्दा टाढा एकान्त प्राकृतिक वातावरणमा शान्तसित बसोबास गर्न  चाहँदा रहेछन् । बोल्दा पनि सानो स्वरमा बोल्ने अमिसहरू स्वभावमा पनि त्यस्तै शान्त हुँदारहेछन् ।

पहिले-पहिले भक्तपुरका कतिपय बासिन्दाले काठमाडौं टेक्दैनथे रे भन्ने सुनेको थिएँ । त्यही कुराको अमिस भिलेजमा पुनरावृत्ति भएको थियो ।

अमिसहरूको संस्कृति बुझ्न चाहनेका लागि पेन्सेलभेनियाको ल्यान्कास्टर काउन्टी भन्ने ठाउँमा जानुपर्ने रहेछ ।  पर्यटकहरूका लागि त्यहाँ एउटा अमिस फार्म रहेछ । अनि, हस्तकला पसलहरू रहेछन् । पर्यटकहरूका लागि दाउरा बालेर आगोमा पकाइएको परम्परागत भोजनको व्यवस्था गरिएको हुँदोरहेछ । हामीले पनि अमिसहरूको रेस्टुरेन्टमा आलु, ब्रोकाउली मिसाएर बनाएको ग्रेभी पास्ता खाएर रात बिताउने निधो गर्‍यौं । त्यहाँ खाएको पास्ताको स्वाद साँच्चै वर्णन गर्नलायक थियो । 

अमिसहरूका होटलमा विविध अर्गानिक खानेकुरा खाएर हामीले  यहाँका  घोडागाडाको रमाइलो यात्रा पनि गर्‍यौं । बग्गीमा चढेर अमिस गाउँ घुम्दा आनन्दको बेग्लै अनुभूति भयो । पर्यटकहरूलाई सजिलो पार्न त्यहाँ बाहिरी बाटाहरू पीच गरिएका थिए तर, भित्रका बाटाहरू डगर तथा कच्ची बाटा थिए । 

त्यसविषयमा जिज्ञासा राख्दा थाहा भयो बिहे भइसकेपछि पुरुषहरूले  जुँगा काटेर जीवनभरि दारी पाल्नुपर्ने, अनि अर्को अनौठो कुरा विवाह भइसकेकी अमिस युवतीले जीवनभरि ऐना हेर्नु महापाप ठानिँदो रहेछ । अमिस भिलेजमा उनीहरूको फोटो खिच्न प्रतिबन्ध रहेछ ।

null

अमिसहरू आफ्नो गाउँ छाडेर अन्त कहीँ पनि जाँदैनन् भन्ने कुरा हाम्रा गाइडबाट सुन्यौं । अमिसहरूले अमिससित विवाह बन्धनमा बाँधिनुपर्ने रहेछ । कुनै अमिस युवक युवती १८ वर्ष पूरा भएपछि अमिस संस्कृतिबाट अगल भएर बस्ने निर्णय गर्न पनि सक्दा रहेछन् तर, अमिस संस्कृति त्याग्नेहरू अमिस गाउँमा बस्न नपाउने रहेछन् ।

अमिस भिलेजमा हिँड्दै जाँदा एकजना ज्येष्ठ नागरिक हाम्रासामु देखापरे । मैले सुनेको थिएँ, अमिसहरू आफ्नो गाउँ छाडेर कहीँ जाँदैनन् भन्ने । मैले उनलाई सोधें , ‘तपाईंले वासिंटन डीसी देख्नुभएको छ ?’

हामीलाई दोभाषेले बताए, उनले वासिंटन डीसी भनेको सुनेका भए पनि गएका छैनन् रे । उनले आफू जन्मेको  अमिस भिलेज छोडेर अन्त कतै पनि नगएको र पछि पनि नजाने कुरा गरे । पहिले-पहिले भक्तपुरका कतिपय बासिन्दाले काठमाडौं टेक्दैनथे रे भन्ने सुनेको थिएँ । त्यही कुराको अमिस भिलेजमा पुनरावृत्ति भएको थियो । पेन्सेलभेनिया राज्यको अमिस भिलेजमा रोमाञ्चक समय बिताएर भोलिपल्ट बिहान १० बजे त्यस गाउँलाई बाइबाइ गरी हामी हाम्रो बस चढ्यौं ।

फर्कंदा मेरी पत्नी सपनाले भनिन्, ‘यो अमिस भिलेज त अमेरिकाको राउटे बस्ती पो रहेछ !’ उनको भनाइले मैले लेखको शीर्षक नै भेटेजस्तो लाग्यो । 

उनका कुरा सुनेर हामी सबै  हाँस्यौं । 

salt training

कमेन्ट गर्नुहोस्