
नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले मिर्गौला प्रत्यारोपणलाई सहज बनाउन माग गरेकी छिन् । आइतबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै गौतमले कानूनी प्रक्रियालाई छिटो टुंग्याएर मिर्गौला प्रत्यारोपणको व्यवस्था गर्न माग गरेकी हुन् ।
‘अंगदाता नहुँदा कैयौं मिर्गौला पीडितहरू डायलासिसमै निर्भर रहनु परिरहेको छ, जसले उनीहरूको शारीरिक, मानसिक र आर्थिक जीवनलाई दिनप्रतिदिन कष्टकर बनाइरहेको छ । मिर्गौला पीडित बिरामीलाई लक्षित गरी सरकारले ‘मानव शरीरको अंग प्रत्यारोपणसम्बन्धी नियमावली, २०७३’ ल्याएको थियो । जसमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अंग लिन सकिने प्रावधान छ,’ गौतमले भनिन्, ‘तर नियमावलीको पूर्ण कार्यान्वयन हुन नसक्दा उनीहरूको पर्खाइ झनै लम्बिएको छ। हरेक वर्ष डायलासिसमा मात्र सरकारले वार्षिक करिब डेढ अर्ब रुपैयाँ खर्च गरिरहेको छ । मिर्गौला रोगीको जीवनस्तर सुधार्न र डायलासिसमा भइरहेको सरकारी खर्च कम गर्न प्रत्यारोपण नै उपयुक्त विकल्प हो ।’
हाल मिर्गौला रोगबाट पीडित बिरामीहरू अंग प्रत्यारोपणका लागि आवश्यक मिर्गौला नपाएर मृत्युवरण गर्न बाध्य भएको भन्दै कानूनी जटिलता फुकाउन उनले माग गरेकी हुन् । देशभर अन्तिम चरणको मिर्गौला रोग लागेका करिब ८ हजार बिरामी अंगदाताको पर्खाइमा रहेको उनले बताइन् ।
‘मिर्गौला रोगको अन्तिम चरणमा पुगेका र प्रत्यारोपणको प्रतीक्षामा रहेका ९० प्रतिशत बिरामी अंगदाता नपाएर ज्यान गुमाइरहेका छन् । अर्थात्, करिब १० प्रतिशत बिरामीले मात्र प्रत्यारोपणका लागि अंग पाएका छन् । कयौंको ज्यान अंगको प्रतीक्षामै बितिरहेको छ,’ गौतमले भनिन्, ‘नियमावलीमा प्राप्त अंगलाई प्राथमिकताक्रम अनुसार वितरण गर्ने व्यवस्था मिलाउन समन्वय इकाई तोक्ने उल्लेख छ। तर सरकारले हालसम्म यस्तो इकाई तोकेको छैन । कानूनले पर्याप्त व्यवस्था समेटिए पनि, कार्यान्वयनको पक्ष जटिल रहेको छ ।’
मिर्गौला पीडितका समस्याहरूको निराकरण गर्न तथा मस्तिष्क मृत्यु कार्यक्रमको प्रभावकारिता आवश्यक भएको उनको भनाइ छ ।
अंग प्रत्यारोपणसँग सम्बन्धित कानूनी र नीतिगत प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्दै मस्तिष्क मृत्यु कार्यक्रमको प्रभावकारितालाई छिटो, छरितो र दिगो बनाउन उनले सरकारको ध्यानाकर्षण गराएकी छिन् ।