२८ जेठ २०८३, बिहीबार

मायोपिया नियन्त्रणमा जनचेतनाका लागि दृष्टि आईको साताव्यापी अभियान

जेठ ५, २०८२
काठमाडौं
मायोपिया नियन्त्रणमा जनचेतनाका लागि दृष्टि आईको साताव्यापी अभियान

विश्वभर तीव्र गतिमा बढ्दै गएको मायोपिया (दृष्टिदोष)प्रति आम नागरिकमा सचेतना जगाउन दृष्टि आई केयर सिस्टमले जेठ ५ देखि ११ गतेसम्म "मायोपिया जनचेतना सप्ताह" आयोजना गरेको छ।

काठमाडौं, वीरगञ्ज र विर्तामोडस्थित दृष्टिका शाखाबाट सञ्चालन हुने अभियानअन्तर्गत विभिन्न जनचेतनामूलक कार्यक्रमहरू हुनेछन्।

जेठ १० गते शनिवार बिहान ७ बजे काठमाडौं (कलंकी), वीरगञ्ज र विर्तामोड शाखाबाट एकसाथ मायोपिया जनचेतना र्‍यालीको आयोजना गरिएको आयोजकले जनाएको छ ।

र्‍यालीमा आँखा स्वास्थ्यसँग सम्बन्धित संघ–संस्था, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, स्वास्थ्यकर्मी, युवा विद्यार्थी र स्थानीय समुदायको सहभागिता रहने बताइएको छ।

सप्ताह अवधिमा सामुदायिक विद्यालयहरूमा स्कूल स्क्रिनिङ शिविर सञ्चालन गरिनेछ। परीक्षणमा परेका विद्यार्थीहरूलाई दृष्टिका सबै शाखामा निःशुल्क विस्तृत परीक्षण सेवा उपलब्ध गराइने आयोजकले जनाएको छ ।

१७ वर्षसम्मका सबै विद्यार्थीहरूले अग्रिम नाम दर्ता गराई परीक्षण गराएमा निःशुल्क सेवा प्राप्त गर्न सक्नेछन्। साथै, चस्मा र मायोपिया नियन्त्रणका विशेष लेन्समा छुट पनि दिइने दृष्टि आईले जनाएको छ ।

समयमै परीक्षण र नियन्त्रण नगरिए मायोपिया बालबालिका तथा युवाबीच प्रमुख चुनौतीका रूपमा देखिन थालेको चिकित्सकहरू बताउँछन् ।

विश्व स्वास्थ्य संगठनले सन् २०५० सम्म विश्वको आधा जनसंख्या मायोपियाबाट प्रभावित हुने अनुमान गरेको छ। यही अवस्थालाई ध्यानमा राखी साताव्यापी कार्यक्रम आयोजना गरिएको दृष्टि आईका कार्यकारी निर्देशक डा. भाइराज श्रेष्ठले जानकारी दिए ।

डा. श्रेष्ठका अनुसार, दृष्टि आई केयरको वेबसाइटमार्फत उपलब्ध क्याल्कुलेटर प्रयोग गरी सबैले आफ्नो वा आफ्ना बालबालिकाको मायोपिया जोखिमको स्तर निःशुल्क थाहा पाउन सक्नेछन्।

मायोपिया विशेषज्ञ दीपक घिमिरे भन्छन्, 'मायोपिया अब सामान्य दृष्टिदोष मात्र नभई दीर्घकालीन दृष्टि गुमाउने प्रमुख कारण बन्दै गएको छ, त्यसैले सचेतना अत्यावश्यक छ।'

salt training

कमेन्ट गर्नुहोस्