
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) अनुमति प्रक्रियामा रहेका १४ कम्पनीलाई पाइपलाइन सूचीबाट हटाएको छ ।
हटाइएका कम्पनीमध्ये अधिकांश जलविद्युत् क्षेत्रसँग सम्बन्धित रहेको सेबोन स्रोतको भनाइ छ । स्रोतका अनुसार विद्युत् खरिद सम्झौता (पीपीए) नगरी प्रक्रिया अगाडि बढाउने र खुद सम्पत्ति (नेटवर्थ) ९० भन्दा कम भएका कम्पनीहरूलाई अस्थायी रूपमा सूचीबाट हटाइएको हो ।
‘हामीले नेटवर्थ नपुगेका कम्पनीहरूलाई आवेदन प्रक्रियाबाट हटाएका छौं । उनीहरूले प्रतिसेयर नेटवर्थ ९० पुर्याएर पुनः निवेदन दिन सक्छन्’, बोर्डका एक कर्मचारीले लोकान्तरसँग भने ।
हटाइएका कम्पनीहरूमा औद्योगिक र सेवा क्षेत्रका एकर्ड फर्मास्युटिकल्स, एपेक्स हस्पिटालिटी, अन्नपूर्ण केबलकार, अर्किड होल्डिङ लगायत छन् ।
त्यस्तै, पाइपलाइनबाट हटेका जलविद्युत् क्षेत्र कम्पनीहरू लाफिङ बुद्ध पावर नेपाल, याम्बालिङ हाइड्रोपावर, युनिक हाइड्रोपावर, बेनी हाइड्रो, पुवाखोला वान हाइड्रो, सानिमा हाइड्रो र रिचेट हाइड्रोपावर छन् । यी कम्पनीले बोर्डको मापदण्ड पूरा गरेपछि पुनः आवेदन दिन सक्ने बाटो भने खुला राखिएको छ ।
यसअघि सेबोनको पाइपलाइनमा जलविद्युत् क्षेत्रको बाहुल्य रहेको र यसले बजारमा जोखिम बढाएको भन्दै चिन्ता व्यक्त गरिएको थियो ।
यसअघि सेबोनले पाइपलाइनमा रहेका कम्पनीहरूलाई अनुमति दिन ढिलाइ गरेको भन्दै आलोचना खेपेको थियो ।