
अध्यागमन विभागको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा जान कर्मचारीहरूको तछाडमछाड हुने गरेको पाइएको छ । भिजिट भिसामा हुने आर्थिक चलखेलका सम्बन्धमा अनुसन्धान चलिरहेका बेला यस्तो तथ्य खुलेको हो ।
कतिपय अध्यागमन अधिकृतहरू दोहोर्याएर-तेहेर्याएर पनि त्यहाँ पुग्ने गरेका छन् । त्यति मात्र होइन, त्यहाँ स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारीहरू कार्यरत रहेको पाइएको छ ।
अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार अहिले कार्यरत अधिकृतहरूमध्ये विगत ५ वर्षको अन्तरालमा मात्रै ३ दर्जनभन्दा बढी अध्यागमन अधिकृतहरू दोस्रोपटक त्यहाँ कार्यरत छन् ।
शाखा अधिकृतहरू सीताराम शर्मा, सुन्दर वान्तवा, भोजबहादुर ओइडी, सुवास शर्मा पौडेल, प्रभा अर्याल, रेश्मा बुढाथोकी, देवी चालिसे, आनन्द विष्ट, चञ्चल खड्का, सन्देश जोशी, नरबहादुर बुढा, लोकेन्द्र विष्ट र दीपेश बिँडारी दोहोरिएका छन् । त्यसैगरी, शाखा अधिकृतहरू चिरञ्जीवी जीएम, शम्भु ठगुल्ला, हेमराज जोशी, नरेन्द्र कुँवर, भीष्म अर्याल, दीपक पाण्डे, सुरेन्द्र थापा, मार्सल पन्त पनि दोहोरिएर कार्यरत छन् ।
त्यसैगरी, अधिकृतहरू यज्ञराज अर्याल, लोकहरि थापा, दुर्गा थापा, कुमारी जानकी, अम्बिका खत्री, मुना कुँवर, ज्योत्स्ना भट्ट, गणेशविक्रम शाह, टीकाराम निरौला, हरि पोखरेल, दीपेन्द्र शाही, सुजन ब्लोन र प्रमोदबहादुर चन्द पनि अहिले दोहोरिएर कार्यरत छन् ।
त्यसबाहेक केही नायबसुब्बा र कम्प्युटर अपरेटरहरू पनि दोहोरिएर कार्यरत छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय स्रोतका अनुसार अध्यागमन कार्यालयमा दोहोरिएका विगत ५ वर्षको मात्र सूची हो यो ।
'५ वर्षअघिसम्मको मात्र अभिलेख सुरक्षित भएकाले दोहोरिएको विवरण यति देखिएको हो,' स्रोतले लोकान्तरसँग भन्यो, 'पुरानो अभिलेख नै नभएकाले अहिलेसम्म कति जना तेहेर्याएर आए भन्ने कुरा यकिन साथ भन्न सकिँदैन । तर, कतिपय त तेस्रो पटक पनि अध्यागमन कार्यालयमा आएका छन् ।'
आर्थिक आकर्षणको अड्डा भएकाले यहाँ आउन कर्मचारीहरू मरिहत्ते गर्ने गरेको स्रोतको दाबी छ ।
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा नायब सुब्बाको स्वीकृत दरबन्दी ९ जना रहेकोमा अहिले १७ जना कार्यरत छन् । त्यसैगरी, कम्प्युटर अधिकृत ८ जनाको दरबन्दीमा अहिले १२ जना कार्यरत छन् । उपसचिवको स्वीकृत दरबन्दी ६ जना रहेकोमा अहिले ८ जना कार्यरत छन् । अध्यागमन अधिकृतको स्वीकृत दरबन्दी १२१ रहेकोमा ११८ जना कार्यरत छन् । कुल स्वीकृत दरबन्दी १५३ जना रहेकोमा १६७ जना कार्यरत रहेको पाइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुल ४६ वटा डेस्कहरू सञ्चालित छन् । तीन शिफ्टमा सञ्चालित हुने ती डेस्कमा १/१ जना गरी कुल १४७ जना अधिकृतहरू खटिएका छन् ।
हरेक शिफ्टमा १ जना आगमन अधिकृत, १ जना प्रस्थान अधिकृत खटिएका हुन्छन् ।
मापदण्डविपरीत कर्मचारीको खटनपटन
अध्यागमन कार्यालयमा कर्मचारी खटाउनेसम्बन्धी मापदण्ड, २०८१ जारी भएपनि त्यसको कार्यान्वयन भएको छैन ।
अध्यागमन कार्यालयमा सरुवा भएर जानका लागि गृह मन्त्रालय वा मन्त्रालय मातहतका निकायमा सम्बन्धित पदमा कम्तीमा १ वर्ष सेवा गरेको र निजामती सेवाको सम्बन्धित पदमा २ वर्षको कार्य अनुभव भएको कर्मचारी हुनुपर्ने उक्त मापदण्डमा उल्लेख छ ।
त्यसैगरी, अंग्रेजी भाषामा दोहोरो संवाद गर्नसक्ने क्षमता हुनुपर्ने, कम्प्युटर सञ्चालन गर्न जान्ने र सूचना प्रविधिको आधारभूत ज्ञान हुनुपर्ने, सञ्चार सीप र समन्वयात्मक क्षमता भएको हुनुपर्ने आधार उक्त मापदण्डमा तोकिएको छ ।
मापदण्डले कर्मचारी खटाउन प्राथमिकता पनि निर्धारण गरेको छ ।
रसुवागढी, तातोपानी, कोरला, यारी, टिकरजस्ता सीमावर्ती अध्यागमन कार्यालय, सीमा प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयमा कम्तीमा ६ महिना कार्यरत कर्मचारीलाई विशेष प्राथमिकता दिइने मापदण्डमा उल्लेख छ ।
त्यसैगरी, निजामती सेवा नियमावली, २०४० को अनुसूची-१६ को 'क' वर्गमा उल्लिखित भौगोलिक क्षेत्रमा काम गरेको अनुभव भएका कर्मचारी, उपत्यकाबाहिर कार्यरत कर्मचारी, मन्त्रालय, विभाग वा मातहतका कार्यालयमा कार्यरत वरिष्ठ कर्मचारीहरूलाई विशेष प्राथमिकता दिइने मापदण्डमा उल्लेख छ ।
कम्प्युटर सञ्चालन, अंग्रेजी भाषामा दोहोरो संवाद, सूचना प्रविधि, सञ्चार सीप वा समन्वयात्मक क्षमता नभएका कर्मचारीलाई नखटाइने मापदण्डमा व्यवस्था गरिएको छ ।
विगतमा अध्यागमन कार्यालय वा अन्य सरकारी निकायमा कार्यरत रहँदा विभागीय कारबाहीमा परेका र कारबाही भएको ३ वर्ष पूरा नभएका कर्मचारीलाई नखटाइने प्रावधान छ ।
अध्यागमन कार्यालयमा एकपटक वा पटक-पटक गरी २ वर्षभन्दा बढी सेवा गरिसकेका कर्मचारी वा अन्य निकायमा सरुवा भएको २ वर्ष पूरा नभएका कर्मचारीलाई पनि नखटाइने उल्लेख छ । त्यसबाहेक अनिवार्य अवकाश हुन २ वर्षभन्दा कम समय बाँकी भएका कर्मचारीलाई पनि नखटाइने उल्लेख छ ।
वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार कार्यालय वा श्रम तथा रोजगार कार्यालयबाट सरुवा भएको २ वर्ष पूरा नभएका कर्मचारीलाई पनि अध्यागमन कार्यालयमा नखटाइने उल्लेख छ । 'निजामती कर्मचारीको पति र पत्नी एकैपटक वा सँगसँगै अध्यागमन कार्यालयमा खटाइने छैनन्' भन्ने प्रावधान पनि राखिएको छ ।
तर, उक्त मापदण्डविपरीत अध्यागमन कार्यालयमा कर्मचारीको खटनपटन हुने गरेको छ ।

भिजिट भिसामा सेटिङ र अख्तियारको अनुसन्धान
नेपाल सरकारले २०८० माघ १० गतेदेखि लागू हुनेगरी भिजिट तथा पर्यटक भिसामा विदेश यात्रा गर्ने नेपाली नागरिकहरूका लागि यात्रा परामर्श सूचना जारी गरेको थियो ।
उक्त सूचनाबमोजिम नेपाली नागरिकहरूले पर्यटक भिसा वा भ्रमण भिसामा यात्रा गर्दा प्रस्थानको समयमा केही कागजातहरू अध्यागमन कार्यालयसमक्ष पेश गर्नुपर्ने हुन्छ ।
यात्राको उद्देश्य स्पष्ट गर्ने वैध राहदानी र भिसा, दुईतर्फी हवाई टिकट, होटल बूकिङ, प्रायोजक (व्यक्ति वा संस्था)को विवरण देखाउने पत्र, ५ सय डलर (नगद/डलर वा समकक्ष विदेशी मुद्रा) र सम्बन्धित बैंकको अधिकृत स्ट्याम्प हुनुपर्ने प्रावधान राखिएको छ ।
यदि कोही पति/पत्नी (खाडी मुलुकहरूमा काम गर्ने)लाई भेट्न यात्रा गर्न लागेको हो भने ती व्यक्तिले सम्बन्धित नेपाली दूतावासद्वारा जारी गरिएको निम्तोको प्रमाणित पत्र वा सिफारिस पत्र पेश गर्नुपर्ने हुन्छ । यही प्रावधानको दुरुपयोग गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत अध्यागमन अधिकृत र प्रस्थान अधिकृतले आर्थिक चलखेल गर्ने गर्छन् ।
विदेश जान लागेका व्यक्तिहरूको सबै कागजात भएपनि केही शंका लाग्यो भने बोर्डिङ पास लिइसकेको अवस्थामा पनि अध्यागमन अधिकृतले प्रस्थान अनुमति नदिएर रोकिदिने (अफलोड) गर्नुपर्ने हुन्छ ।
अध्यागमन कार्यालय स्रोतका अनुसार सन् २०२२ मा ४ हजार २९३ जना, सन् २०२३ मा ४ हजार ८८३ जना, सन् २०२४ मा ९ हजार ५ जना र हाल सन् २०२५ को मे २२ सम्म २ हजार ३१७ जनालाई अफलोड गरिएको छ ।
सबै कागजात भएपनि शंकास्पद व्यवहार प्रदर्शन गरेको भन्दै अध्यागमन अधिकृतले अफलोड गरिदिने गरेका कारण गिरोहले सेटिङ नै मिलाएको पाइएको हो । त्यसरी पटक-पटक टिकट काटेर पनि विदेश जान नपाउने भएपछि म्यानपावर कम्पनी, ट्राभल एजेन्सी र एयरलाइन्सका कर्मचारी तथा प्रमुख अध्यागमन अधिकृत समेतको मिलेमतोमा सेटिङ भएर अहिले संस्थागतरूपमा नै अवैध काम हुने गरेको स्रोतको दाबी छ ।
त्यसपछि पछिल्लो केही महिनादेखि खाडी मुलुकमा जाने नेपाली नागरिकहरू सेटिङमा भिजिट भिसामा गएर खाडी मुलुकमा घरेलु कामदारको रूपमा काम गर्ने गरेको पाइएको हो ।
ट्राभल एजेन्सी, एयरलाइन्स र अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीहरूको मिलेमतोमा मानव तस्करी हुने गरेको पाइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित विभिन्न एयरलाइन्सका कर्मचारीहरू, विभिन्न ट्राभल एजेन्सीका सञ्चालक, मानव तस्करी गर्न सघाउने दलालसँग प्रत्यक्ष संलग्न भएर एकतर्फी मात्र हवाई टिकटमा बोर्डिङ पास जारी गरी खाडी मुलुकमा महिलाहरू पठाउने गरिएको स्रोतको दाबी छ ।
उक्त कार्यमा संलग्न भएका विभिन्न ट्राभल एजेन्सीका सञ्चालकसँग एकजना महिला कामदारलाई भिजिट भिसामा पठाउन एयरलाइन्सका कर्मचारीले मात्रै १० हजारसम्म रकम असुल्ने गरेको स्रोतको दाबी छ ।
भिजिट भिसामा विदेश जानका लागि दुईतर्फी टिकट हुनैपर्नेमा नभए पनि एकतर्फी टिकटमा बोर्डिङ पास जारी गर्ने र रिटर्न टिकट नक्कली बनाउने गरिएको स्रोतले बतायो ।
त्यति मात्र होइन, भिजिट भिसामा भ्रमण अवधिभर होटल बूकिङ गरेको प्रमाण वा होटल बूकिङ नभएर आफन्तसँग रहने भएका एकाघरको तीनपुस्ते नाता खुल्ने सम्पूर्ण प्रमाणहरू समेत नक्कली हुने गरेको छ ।
होटल बूकिङको काम विभिन्न अनलाइनबाट नक्कली बनाउने गरिएको खुलेको छ ।
ती सबै नक्कली कागजातसहित नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी नेपाली महिलाहरू पहिलो चरणमा नेपालबाट भिजिट भिसामा बाहिर जान्छन् । त्यसपछि एयरपोर्टबाट ओमान, कतार, संयुक्त अरब इमिरेट्स पुगेपछि तिनीहरूले घरेलु कामदारको भिसा प्राप्त गर्छन् ।
त्यहाँबाट ओमान, इराक, दुबई, कुवेत पुगेर घरेलु कामदारको रूपमा काम गर्छन् ।
एजेन्टहरूले तिनीहरूलाई भिजिट भिसाको नाममा बेचिरहेका छन् । यस प्रक्रियामा नेपालको एयरपोर्टका कर्मचारीलाई प्रतिव्यक्ति ४० देखि ५० हजार रुपैयाँसम्म अनधिकृतरूपमा दिइन्छ ।
अध्यागमन कार्यालय स्रोतका अनुसार सन् २०२२ मा १ लाख १२ हजार ७०४ पुरुष र ६४ हजार ६०६ महिला गरी कुल १ लाख ७७ हजार ३१० जना भिजिट भिसामा विदेश गएका छन् ।
त्यसैगरी, सन् २०२३ मा १ लाख ३० हजार ९५० पुरुष र ७३ हजार ५८५ महिला गरी कुल २ लाख ४ हजार ५३५ जना भिजिट भिसामा विदेश गएका छन् । त्यसैगरी, सन् २०२४ मा १ लाख ६० हजार २३९ जना पुरुष र १ लाख १६ हजार ३८५ जना महिला गरी कुल २ लाख ७६ हजार ६२४ जना भिजिट भिसामा विदेश गएको पाइएको छ ।
त्यसैगरी, सन् २०२५ को मे २२ सम्म ५४ हजार १७० पुरुष र ४२ हजार ३६८ महिला गरी कुल ९६ हजार ५३८ जना भिजिट भिसामा विदेश गएका छन् । सन्, २०२२, २०२३ र २०२४ को मात्र तुलना गर्ने हो भने भिजिट भिसामा विदेश जानेको संख्या बढ्दो देखिन्छ । त्यसमा पनि महिलाको संख्या झनै बढेको देखिन्छ ।
खाडी मुलुकमा महिलालाई घरेलु कामदारका रूपमा पठाउन नेपाल सरकारले रोक लगाएपछि भिजिट भिसाको नाममा घरेलु कामदारको रूपमा जाने महिलाहरूको संख्या बढेको हो ।
वैध तरिकाले जान नपाउने भएपछि बढीजसो महिला कामदार र केही पुरुषहरू पनि म्यानपावर कम्पनीलाई अत्यधिक पैसा तिरेर जाने गरेका छन् । त्यसका लागि म्यानपावर एजेन्सी, ट्राभल एजेन्सी, एयरलाइन्स र अध्यागमन कार्यालय समेतका बीचमा सेटिङ मिलाइएको स्रोतको दाबी छ ।
सोही विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेपछि अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय र उक्त कार्यालयका प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईलाई निगरानीमा राख्दै आएकोमा अहिले विस्तृत अनुसन्धान थालेको छ ।
गत मंगलबार अख्तियारको टोलीले प्रमुख अध्यागमन अधिकृत भट्टराईलाई नियन्त्रणमा नै लिएको थियो । अख्तियारले भट्टराईसँग रहेको मोबाइलसहित विभिन्न डिभाइसहरू जफत गरेर त्यसको परीक्षण गरिरहेको छ भने भट्टराईसँग सोधपुछ समेत गरिरहेको छ ।
अख्तियार स्रोतका अनुसार खगेन्द्र सुवेदी, कविता पौडेल र बालकृष्ण बस्नेतलाई पक्राउ गरिएको छ । उनीहरू अध्यागमनका कर्मचारी नभएर भट्टराईले सेटिङ गरेका गिरोहका सदस्य रहेको आशंका छ ।
अध्यागमन विभागका महानिर्देशक गोविन्दप्रसाद रिजाल भने संस्थागत रूपमा त्यस्तो काम नभएको बताउँछन् ।
'केही कर्मचारीले बदमासी गरेको होला । बदमासी गर्दा माथिसम्मकै नाममा पैसा उठाएको हुनसक्छ । त्यो हामीलाई थाहा हुने कुरा पनि भएन,' रिजालले लोकान्तरसँग भने, 'तर, त्यस्तो कुनै गलत काम भएको छैन ।'
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत भट्टराईमाथि अख्तियारले गरिरहेको छानबिनका विषयमा उनले केही खुलाउन चाहेनन् । 'अख्तियारले गरिरहेको छानबिन उहाँ (भट्टराई)को व्यक्तिगत विषय मात्र होला,' रिजालले थप्नुभयो, 'त्यसमा विभाग वा अध्यागमन कार्यालयका अन्य कर्मचारीको संस्थागत सेटिङको आरोप निराधार हो । बदमासी गर्नेले माथिका नाममा पैसा उठाएको हुनसक्छ ।'
अध्यागमन विभागका स्रोतका अनुसार भट्टराई ठाउँ रोजेर नै अध्यागमन कार्यालय गएका हुन् ।
स्रोतले लोकान्तरसँग भन्यो, 'अनुभव पनि हुन्छ भनेर रोजेर, मागेर नै उहाँ गत असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय जानुभएको हो ।'
अख्तियारले निगरानी गरिरहेको थाहा पाएर नै गत चैतदेखि उनले सरुवा मागेको हुन सक्ने दाबी स्रोतले गर्यो । भट्टराई केही दिनअघि मात्र गृह मन्त्रालयमा सरुवा भएका थिए । यद्यपि अध्यागमन कार्यालयको वेबसाइटमा यो समाचार तयार पार्दासम्म भट्टराईकै नाम छ ।
विमानस्थलमा अध्यागमन अधिकृत र प्रस्थान अधिकृतले गर्ने गरेको अवैध कामको प्रमाण फेला पार्न कठिन हुने उक्त स्रोत बताउँछ । स्रोतले लोकान्तरसँग भन्यो, 'त्यहाँ अन्य कार्यालय जस्तो फाइल उठाउने, टिप्पणी उठाउने, लिखित निर्णय गर्ने काम हुँदैन । सबै काम मौखिक नै हुने हुनाले लिखित कागजातसहितको प्रमाण भेट्न मुश्किल छ ।'
अख्तियारले अनुसन्धान थालेपछि दरबन्दीभन्दा बढी रहेका कर्मचारीहरूलाई गृह मन्त्रालयले सरुवा गरेको छ । गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख छवि रिजालका अनुसार दरबन्दीभन्दा बढी भएका कर्मचारीहरूलाई सरुवा गरिएको हो ।
सरुवा हुनेमा ९ जना नायब सुब्बा, एक जना सहायक कम्प्युटर अपरेटर र चारजना कम्प्युटर अपरेटर छन् ।
नायब सुब्बा खुबराज श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, दत्त लामालाई जाजरकोट, गोविन्दप्रसाद अधिकारीलाई गोरखा, तेजराज गौतमलाई बाग्लुङ, सुवास केसीलाई रुकुम पश्चिम र कुवेरप्रसाद दाहाललाई धनकुटा सरुवा गरिएको छ । त्यसैगरी, नायब सुब्बा प्रेमप्रसाद पौडेल र वीरभद्र जोशीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौं तथा नरबहादुर थापालाई बाँके पठाइएको छ ।
सहायक कम्प्युटर अपरेटर कमला श्रेष्ठ र कम्प्युटर अपरेटर उदेन सुवेदी, प्रदीपकुमार यादव, पवन गुरुङ तथा धनराज उपाध्यायलाई कारागार व्यवस्थापन विभाग वा त्यसअन्तर्गत सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।
यद्यपि, यो समाचार तयार पार्दासम् उनीहरूको सरुवाको पत्र अध्यागमन कार्यालयमा पुग्न बाँकी रहेको स्रोतले बतायो ।