नेपालको प्रवेशद्वार मानिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यतिबेला हालसम्मकै ठूलो पूर्वाधार विस्तारको काम तीव्र गतिमा भइरहेको छ ।
आन्तरिक तथा अन्तर्राष्ट्रिय गरी वार्षिक करिब १ करोड यात्रुलाई सेवा दिन सक्ने क्षमतामा पुर्याउने गरी भएको पूर्वाधार विस्तारमा लोभलाग्दो ढंगबाट काम भइरहेको छ ।
आइतबार लोकान्तर टिमले विमानस्थलमा भइरहेको पूर्वाधार निर्माणको कामबारे स्थलगत रिपोर्टिङ गरेको थियो । करिब १५ अर्ब खर्च हुने यस आयोजना सम्पन्न भएपछि भौतिक संरचना मात्रै होइन, विमानस्थलको स्वरूप नै परिवर्तन हुने देखिन्छ ।
यो महत्त्वाकांक्षी परियोजना औसतमा करिब ५० प्रतिशत सम्पन्न भइसकेको छ । यसले विमानस्थल प्रयोग गर्ने यात्रु, कर्मचारी, सुरक्षाकर्मीदेखि व्यवसायीसम्मको अनुभवलाई सहज, सुरक्षित र व्यवस्थित बनाउने लक्ष्य लिएको छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले लोकान्तरसँग भने, ‘यो सामान्य मर्मत सम्भार होइन, यो नेपाली विमानस्थल इतिहासको पुनर्लेखन हो ।’
करिब १५ अर्ब रूपैयाँ बराबरको लगानीमा अगाडि बढाइएको यो पूर्वाधार विस्तारका लागि एसियाली विकास बैंक (एडीबी)को ऋण सहायता लिइएको छ ।
परियोजना अन्तर्गत तीन ठूला निर्माण कार्य समानान्तर रूपमा तीव्र गतिमा अघि बढिरहेका छन् । आगामी वर्षभित्र सबै निर्माण कार्य सम्पन्न हुने अपेक्षा गरिएको छ ।
अन्तर्राष्ट्रिय एप्रोन र ट्याक्सीवे विस्तार
७ अर्ब रूपैयाँको लागतमा अन्तर्राष्ट्रिय विमानहरूको पार्किङ क्षेत्र (एप्रोन) विस्तार र उत्तरतर्फको ट्याक्सीवे निर्माण कार्य सन् २०२० को अगस्तदेखि शुरू भएको थियो । आउँदो डिसेम्बरसम्म यो काम सक्ने लक्ष्य राखिएको छ ।
अहिले अन्तर्राष्ट्रिय विमानका लागि जम्मा ११ वटा पार्किङ स्थान रहेकोमा यो परियोजना सम्पन्न भएपछि १८ वटासम्म विमान पार्क गर्न सकिनेछ ।
यसले विशेषगरी रातको समयमा अवतरण गर्ने अन्तर्राष्ट्रिय उडानहरूलाई सहजता दिनेछ । यसको जिम्मा चिनियाँ ठेकेदार कम्पनी एभिक इन्टरनेशनलले लिएको छ ।

नेपाली सेना र वायुसेवा निगमका लागि ह्याङ्गर निर्माण
दोस्रो निर्माण कार्य अन्तर्गत ४ अर्ब रूपैयाँ बराबरको लगानीमा धावनमार्गको पूर्वी भागमा नेपाली सेना र नेपाल वायुसेवा निगमका लागि छुट्टाछुट्टै ह्याङ्गर निर्माण भइरहेको छ ।
सन् २०२२ को नोभेम्बरमा शुरू भएको यो निर्माण कार्य २०२६ अक्टोबरमा सकिने लक्ष्यसहित तीव्र गतिमा अघि बढाइएको हो । यो संरचनाले आकस्मिक अवस्थामा हुने विमान मर्मतका काम छिटो हुने, सुरक्षात्मक तालिम तथा व्यवस्थापनका लागि आवश्यक पूर्वाधार उपलब्ध गराउनेछ ।
एसियाली बैंकको ऋणसहित करिब ४ अर्ब रूपैयाँमा शुरू गरिएको यो निर्माण कार्य सम्पन्न भएपछि विमानस्थलको पूर्वी भागमा नेपाली सेना, नेपाल वायुसेवा निगम, यति एयरलाइन्स, श्री एयरलाइन्स आदिका लागि ह्यांङ्गर सुविधाको विस्तार हुनेछ ।
यसको जिम्मा चिनियाँ ठेकेदार कम्पनी एभिक-केडीएन-सीसीईसीसीबीचको जोइन्ट भेन्चरले लिएको छ ।
समानान्तर ट्याक्सीवे निर्माण
तेस्रो निर्माण कार्यका रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रको ट्याक्सीवे अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ)को मापदण्डअनुसार बनाइँदै छ ।
यसअन्तर्गत रनवे र ट्याक्सीवेबीच अहिले कायम रहेको १०९ मिटरको दूरीलाई बढाएर १७२.५ मिटर बनाइँदैछ । यसले, ठूला विमानका लागि विश्वस्तरीय अवतरण/उडान सुविधा उपलब्ध गराउनेछ ।
करिब ४ अर्ब रूपैयाँको लगानीमा भइरहेको यो काम मनसुन पछाडि एक वर्षभित्र सम्पन्न गरिने लक्ष्य लिइएको छ । त्यस्तै, अहिले विमानस्थल परिसरमै रहेको नेपाल आयल निगमको डिपोलाई गुहेश्वरी वन क्षेत्रतर्फको ८० रोपनी जग्गामा सार्ने कामसमेत शुरू गरिएको आयोजना प्रमुख श्रेष्ठको भनाइ छ ।
यसले एकातिर विमानस्थल क्षेत्रभित्र जोखिमयुक्त सामग्री कम गर्नेछ भने अर्कोतर्फ स्थानान्तरणपछि निर्माणाधीन रहेको ट्याक्सीवे सम्पन्न हुनेछ ।

त्रिभुवन विमानस्थल १९५५ मा स्थापना भएयता निरन्तर प्रयोगमा रहेको नेपालकै सबैभन्दा व्यस्त विमानस्थल हो । तर, यहाँको संरचना समयानुकूल हुन सकेको थिएन ।
विमानस्थलले अहिले वार्षिक करिब ७५ लाख यात्रुलाई सेवा दिइरहेको छ, जबकि प्रारम्भिक संरचना ५० लाख यात्रुको हिसाबले बनाइएको थियो ।
त्यसमाथि अन्तर्राष्ट्रिय उडानमा भएको वृद्धि, नेपालीको वैदेशिक रोजगारी तथा पर्यटन प्रवाह बढेसँगै विमानस्थल थप चापमा परेको छ ।
विस्तारको लक्ष्य
यसरी विमानस्थललाई विस्तार गर्नुको लक्ष्य केवल संरचना ठूलो बनाउनु मात्र नरहेको बरु सेवा र यात्रु अनुभवलाई गुणात्मक परिवर्तन ल्याउनु रहेको नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको भनाइ छ ।
परियोजना निर्माणको काम सकिएपछि यात्रुले लामो लाइनमा पर्खिनुपर्ने समस्या कम हुनेछ । अन्तर्राष्ट्रिय पार्किङ स्पेस बढेपछि विदेशी एयरलाइन्सहरू थप आकर्षित हुनेछन् भने यसले देशको पर्यटन र वैदेशिक व्यापार प्रवर्द्धनमा समेत टेवा दिने प्राधिकरणको अपेक्षा छ ।

यो परियोजना सम्पन्न भएपछि विमानस्थलको समग्र क्षमता २५ प्रतिशतले बढ्ने नागरिक उड्डयन प्राधिकरणको दाबी छ । यसले त्रिभुवन विमानस्थललाई आईकाओको मापदण्ड अनुसारको पूर्ण विमानस्थलमा रूपान्तरण गर्नेछ ।
हेर्नुहोस् भिडियो स्टोरी :