
विश्व वातावरण दिवस २०८२ को अवसरमा, नेपालमा पहिलो पटक ‘बिन देयर ह्याक्ड द्याट’ थिममा वेस्ट ह्याकाथन हुँदैछ ।
राष्ट्रियस्तरको यो कार्यक्रमले प्रविधि विज्ञ, सिर्जनशील व्यक्ति, उद्यमी र जलवायुका अभियान्तालाई समेटेर फोहर व्यवस्थापनको बढ्दो समस्यालाई प्रविधि र सिर्जनशीलताका माध्यमबाट समाधान गर्ने लक्ष्य राखेको छ ।
यो विशेष कार्यक्रम जेठ २२ गते बूढानीलकण्ठ नगरपालिकाको सभाहलमा हुँदैछ जहाँ देशका प्रतिभाशाली समाधानकर्ता फोहरलाई अवसरका रूपमा परिवर्तन गर्ने कार्यमा संलग्न हुनेछन् ।
एनसेल फाउन्डेसन, खालिसिसी र बूढानीलकण्ठ नगरपालिकाको संयुक्त पहलमा आयोजनामा हुने यो ह्याकाथन डिजिटल प्रविधिमा आधारित हुँदै काम गर्दै आएका सेवा प्रदायक, नेपालको औपचारिक फोहर व्यवस्थापन क्षेत्र र प्रगतिशील स्थानीय सरकारबीचको सरकारी–निजी साझेदारीको एक सशक्त उदाहरण रहेको फाउन्डेसनले जनाएको छ ।
ह्याकाथनको उद्देश्य फोहर व्यवस्थापन, रिसाइकल पूर्वाधार, प्लास्टिक प्रदूषण र फोहरमैला व्यवस्थापनमा काम गर्ने अनौपचारिक कामदार विशेष गरी महिलाहरूको सशक्तिकरणका लागि प्रविधिमा आधारित समाधान विकास गर्नु रहेको फाउन्डेसनले जनाएको छ ।
‘डिजिटल इनोभेसन र वातावरण संरक्षणको प्रयासलाई एकै प्लेफर्ममा जोड्ने यस किसिमको नवीन पहलमा साथ दिन पाउँदा हामी निकै खुसी छौं । यस ह्याकाथनले नेपालको सबैभन्दा चुनौतीपूर्ण समस्यामध्येको एक- फोहर व्यवस्थापनका लागि सिर्जनात्मक र प्रविधिमा आधारित समाधानको विकास गर्ने विश्वास लिएका छौं’, एनसेल फाउन्डेसन एन्ड स्पेशल प्रोजेक्ट डाइरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन् ।
नेपालमा दैनिक ३,००० टनभन्दा बढी फोहर उत्पादन हुँदै आएको छ, तर औपचारिक रिसाइकल प्रणाली अझै विकासोन्मुख अवस्थामा रहेको छ र फोहर व्यवस्थापनको क्षेत्रमा महिलाहरूको सहभागिता ५ प्रतिशतभन्दा कम रहेको छ । यो ह्याकथनले अहिलेको परिस्थितिलाई परिवर्तन गर्दै नवीन, समावेशी र कार्यान्वयनयोग्य विचारलाई प्रोत्साहन गर्दै समुदाय र जलवायु दिगोपनमा आधारित परिवर्तनशील अर्थतन्त्रको विकास गर्ने लक्ष्य राखेको छ ।
‘यो केवल ह्याकाथन मात्र होइन, फोहरलाई नवप्रवर्तन, आय र प्रभावको स्रोतका रूपमा पुनःपरिकल्पना गर्ने राष्ट्रिय आह्वान हो’, खालिसिसीका संस्थापक तथा सीईओ अमुन थापाले भने, ‘यस प्लेटफर्ममार्फत् हामी समस्या समाधान गर्न दिगो प्रणाली विकासका लागि युवा, महिला र प्रविधिकर्मीहरूलाई सक्षम बनाउने मार्ग निर्माण गर्दैछौं ।’
ह्याकथनमा सहभागी हुन जेठ १५ सम्म आवेदन खुला रहेको छ । यसमा विद्यार्थी, स्टार्टअप, इन्जिनियर, डिजाइनर, कोडर, फोहरमैला व्यवस्थापनमा अनौपचारिक रूपमा योगदान पुर्याउँदै आएकाहरू लगायत सफा तथा स्मार्ट नेपाल बनाउन इच्छुक सबैले भाग लिन सक्छन् ।
ल्यान्डफिलदेखि परिपरिवर्तनसम्म, धुवाँविनाको फोहर, फोहरमा महिलाको उद्यमशीलता र डिजिटाइज ट्रास गरी चार मुख्य विषयगत क्षेत्रमा प्रतियोगीहरूले समाधान विकास गर्नु पर्नेछ ।