
गणतन्त्र पक्षधर र विरोधीले एकै क्षेत्रमा प्रदर्शनको तयारी गरेपछि सुरक्षा व्यवस्था मिलाउन सकस पर्ने देखिएको छ । प्रमुख सत्तारुढ दल नेकपा एमालेले जेठ १५ गते बिहीबार काठमाडौंमा झाँकीसहितको प्रदर्शन गर्दैछ ।
सोही दिन गणतन्त्रविरोधी राजावादीहरूले समेत विरोध प्रदर्शन गर्दैछन् ।
एमालेले भृकुटीमण्डमा सभा आयोजना गर्ने भनेर प्रचारप्रसार गरिरहेको छ । राप्रपाले पनि माइकिङ गर्दै रत्नपार्कमा भेला हुन भनेको छ ।
रत्नपार्क र भृकुटीमण्डप दुवै राजधानीका ‘कोर एरिया’ हुन् । दुरीका हिसाबले पनि करिब ४ सय भित्र पर्छन् । गणतन्त्रवादी र गणतन्त्रविरोधी शक्तिहरूले यति नजिक प्रदर्शन गरेको अवस्थामा स्थिति मुठभेडतर्फ जान सक्ने भएपछि सुरक्षा निकाय र प्रशासनलाई सुरक्षा व्यवस्था मिलाउन सकस पर्ने देखिएको छ ।
राजावादीले नवराज सुवेदीको संयोजकत्वमा आन्दोलन समिति बनाएका छन् । समितिमा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा, कमल थापा नेतृत्वको राप्रपा नेपाल तथा विभिन्न राजावादी समूह सामेल छन् ।
तीनकुनेमा गत चैत १५ गते राजावादीहरूले गरेको प्रदर्शनमा दर्जनौं घरमा तोडफोड र आगजनी गरिएको थियो ।
प्रदर्शनकारीले सहकारीको भवनमा आगो लगाउँदा भवनको माथिल्लो तलाबाट भिडियो खिचिरहेका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो ।
प्रहरीले दर्जनौं राउन्ड अश्रुग्यास र गोली प्रहार गरेका थिए । एक दर्जन बढी सर्वसाधारण घाइते भएका थिए ।
जेठ १५ मा गणतन्त्रवादी र राजावादीलाई नजिकै प्रदर्शन गर्न दिए मुठभेडको खतरा हुने र चैत १५ कै पुनरावृत्ति हुने जोखिम रहेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको ध्यानाकर्षण गराएको छ ।
मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जिल्ला सुरक्षा समितिको बैठक समेत बसेको थियो । बैठकमा राजावादीको तर्फबाट कुन ठाउँमा प्रदर्शन गर्ने भनेर निवेदन समेत नआएकाले उनीहरूले जुनसुकै ठाउँबाट पनि प्रदर्शन गर्न सक्ने हुँदा सुझबुझपूर्ण तबरले प्रहरी परिचालन गर्नुपर्ने कुरा उठेको थियो ।
प्रमुख जिल्ला अधिकारी तिवारीले लिङ्देन, थापा र सुवेदीसँग परामर्श गरेर भएपनि प्रदर्शन रत्नपार्कमा नगर्न सुझाव दिनुपर्ने बताएका थिए ।
चैत १५ पछि राप्रपाले बल्खुमा गरेको प्रदर्शनमा पनि प्रहरी प्रशासनले लिङ्देनलाई भेटेरै कार्यक्रम सभ्य रूपमा गर्न सुझाएको थियो ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीका अनुसार मंगलबारसम्म राजावादीको तर्फबाट कार्यक्रमको स्वीकृति माग गर्न कुनै पनि निवेदन आएको छैन ।
‘उहाँहरू (राजावादीहरू)ले कहाँ कस्तो कार्यक्रम गर्ने भनेर स्वीकृतिका लागि कुनै पनि निवेदन दिनुभएको छैन । रत्नपार्क भनेर हामीले पनि बाहिरी हल्ला मात्रै सुनेका हौं,’ भण्डारीले लोकान्तरसँग भने, ‘निषेधित क्षेत्रबाहेकको हकमा उहाँहरूले शान्तिपूर्ण प्रदर्शन गर्न कानूनअनुसार नै पाउनुहुने नै भयो ।’
मुठभेडको अवस्था आउन नदिन प्रशासनले विभिन्न उपाय अवलम्बन गर्ने र सकभर प्रदर्शनमा सहभागी हुने भनिएका दल (राप्रपा, राप्रपा नेपाललगायत) का नेताहरूलाई आग्रह गरिने जानकारी भण्डारीले दिए ।
उनले भने, ‘जिल्ला सुरक्षा समितिको बैठक दिनदिनै बसिरहेको छ । सुरक्षा व्यवस्था कसरी मिलाउने भनेर योजना बनिरहेको छ ।’
सोमबारै पनि मुख्यसचिव एकनारायण अर्यालले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा अधिकारीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा डाकेर जेठ १५ मा हुने प्रदर्शनलाई लिएर के कस्तो सुरक्षा रणनीति बनाइएको छ भन्दै सोधपुछ गरेका थिए ।