२९ जेठ २०८३, शुक्रबार

मन्दिरको बोका चोरेर २२ हजारमा बिक्री, रक्सीको तालमा पुलमुनि सुत्दा भोलिपल्ट गोजी रित्तै !

जेठ १४, २०८२
काठमाडौं
मन्दिरको बोका चोरेर २२ हजारमा बिक्री, रक्सीको तालमा पुलमुनि सुत्दा भोलिपल्ट गोजी रित्तै !
AI Genereted Photo

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका– ४ ओख्रे घर भएर भक्तपुर बस्ने २६ वर्षीय सविन भन्ने भक्त खड्काविरुद्ध बोका चोरीको आरोपमा भक्तपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । 

घटना गत वैशाख २५ गतेको हो । सो दिन खड्काले मन्दिरको बोका चोरेर बिक्री गरेका थिए ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिकास्थित बालकुमारी मन्दिरमा छाडिएको कालो रंगको बोका चोरेर २२ हजार रुपैयाँमा बिक्री गरेका खड्कालाई प्रहरीले २६ गते पक्राउ गरेको थियो ।

खड्काले मन्दिरको बोका चोरेर पठाओमार्फत सूर्यविनायकस्थित शैलुङ्गेश्वरी मासु पसलमा पुर्‍याएर बिक्री गरेको खुलेको छ ।

खड्काको बयानअनुसार शैलुङ्गेश्वरी मासु पसलका साहु सुजन थापालाई २२ हजारमा बोका बिक्री गरेर उनी जडिबुटीस्थित एक होटलमा पुगे । १ हजार ८ सय रुपैयाँको रक्सी र खाजा खाए ।

बाँकी पैसा साथमै राखेर होटल बाहिर निस्किए । भोलिपल्ट बिहान ब्युँझिँदा उनले आफूलाई पुलमुनि सुतिरहेको पाए ।

जिल्ला सरकारी वकिल कार्यालय भक्तपुरसँगको बयानमा खड्काले भनेका छन्, ‘होटलमा १८ सयको रक्सी र खाजा खाएर निस्किएँ । भोलिपल्ट आँखा खोल्दा त जडिबुटीको पूलमुनि पो सुतेको रहेछु । खल्ती छाम्दा बोका चोरी गरेको एक पैसा पनि बाँकी थिएन।’ 

त्यहाँबाट उठेर हिँड्दै गर्दा प्रहरीले पक्राउ गर्‍यो । प्रहरी कार्यालयमा पुग्दा खड्काले चोरी गरेको बोका खरिद गर्ने शैलुङ्गेश्वरी मासु पसलका साहु थापा पनि भेटिए । थापाले प्रहरी र सरकारी वकिलसँगको बयानमा खड्काले उक्त बोका आफ्नो घर ओखलढुंगाबाट बिक्री गर्न ल्याएको भनेपछि मात्रै आफूले विश्वासमा परेर खरिद गरेको बताएका छन् ।

बोका चोरीको घटनामा सरकारी वकिल कार्यालयले पठाओ चालक शिवकुमार श्रेष्ठलाई पनि घटना विवरण कागज गराएको छ ।

खड्काले बालकोटसम्म बोका लैजानुपर्‍यो भनेपछि आफूले लगिदिएको श्रेष्ठले बताएका छन् ।

‘खड्काले पठाओ बूक गरे । बोका बालकोटसम्म लैजानुपर्‍यो भने । पैसा आउने भएपछि मैले हुन्छ भनेर बोकासहित खड्कालाई लिएर हिँडे,’ श्रेष्ठले घटना विवरण कागजमा भनेका छन्, ‘बाटोमा अन्य मासु पसलमा पनि खड्काले बोका बिक्री गर्न खोजेका थिए, कसैले लिएनन्, तर थापाले खरिद गरे । रात परिसकेको थियो, पठाओको भाडा माग्दा उल्टै थर्काएर पठाए ।’ 

थापाले खड्कासँग किनेको उक्त बोका मध्यपुरठिमीमा सञ्चालित लेकाली मासु पसलका साहु यज्ञबहादुर कटुवाललाई बिक्री गरेका रहेछन् ।

‘थापाले कहिलेकाहीँ खसीबोका ल्याएर मासु बिक्री गर्न दिन्थे, पैसा बाँडेर लिन्थ्यौं, एक्कासि केही मानिसहरू आएर यो बोका मन्दिरको हो, कहाँबाट चोरेर ल्याएको भन्दै बोका लगे,’ कटुवालले घटना विवरण कागजमा भनेका छन्, ‘थापाले मेरो पसलमा ल्याएर छाडेको बोका चोरीको हो भन्ने थाहा थिएन ।’ 

बालकुमारी क्षेत्र संरक्षण तथा सुधार समितिले प्रहरीमा उजुरी दिएपछि मात्रै प्रहरीले बोका चोरको खोजी गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्