
चर्चित नेपाली ब्यान्ड नेपथ्यले शनिबार राति पिट्सबर्गस्थित रक्सिन थिएटरमा गरेको कन्सर्टमा नेपाल र भुटानका राष्ट्रिय झन्डासहित दर्शक झुमेका छन्।
‘कोशीको पानी यो जिन्दगानी’ गीतबाट सुरु भएको कन्सर्टमा अमृत गुरुङको आवाजमा ‘रातो र चन्द्रसूर्य’, ‘भेडाको ऊनजस्तो’ लगायत लोकप्रिय गीतहरूले दर्शकलाई नचाएका थिए। कन्सर्टमा पुनर्वास गरिएका भुटानी शरणार्थीको उल्लेख्य उपस्थिति देखिएको थियो।
गायक अमृतले दर्शकलाई सद्भावका साथ अघि बढ्न आह्वान गर्दै नेपाली भाषा र पहिचान जगेर्नाको सन्देश दिएका थिए।
७३ वर्षीया अमेरिकी दर्शक पेग्गी स्टर्लिङदेखि मोरङको पथरी क्याम्पमा जन्मिएकी साबी सिवाकोटी र बेलडाँगी शिविरमा हुर्किएका राजेन् सापकोटा जस्ता नेपाली भाषीहरू पनि उत्साहित सहभागी बनेका थिए।
अमेरिका यात्राको चौथो प्रस्तुति पिट्सबर्गपछि अब नेपथ्य सिकागो, बोस्टन र ग्रिन्सबोरो सहरतर्फ लाग्नेछ।
यसपटकको अमेरिका यात्रा ‘मोमो इन्टरटेनमेन्ट’ र ‘के गरिरा’ले संयुक्त रूपमा संयोजन गरेका हुन्।