
ग्लोबल आईएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर विद्युतीय सवारी साधन (ईभी) चार्ज गर्न चार्जिङ स्टेशन स्थापना गरेको छ । बैंकको आफ्नो कर्पोरेट कार्यालय कमलादीमा उक्त चार्जिङ स्टेशन स्थापना गरेको हो ।
बिहीबार आयोजित एक विशेष कार्यक्रममा बैंकका सञ्चालक कृष्ण प्रसाद शर्मा, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र गाडी चार्ज प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रेशा श्रेष्ठले संयु्क्त रूपमा उक्त चार्जिङ स्टेशनको उद्घाटन गरे । गाडी चार्ज प्रालिसँगको सहकार्यमा बैंकले स्थापना गरेको सीसीटू सिगंल गनको ४० किलोवाट क्षमता रहेको छ ।
उक्त चार्जिङ स्टेशनमा बैंकमा सेवाका लागि आउने ग्राहक र बैंकको कर्मचारीलाई आफ्नो ईभी गाडी चार्ज गर्न व्यवस्था गरिएको छ । पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोगकर्ता बढेसँगै बैंकमा आउने ग्राहकको सवारी साधनलाई लक्षित गरी बैंकले चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको हो ।
उक्त कार्यक्रममा बैंकका सञ्चालक शर्माले बैंकले आफ्नो ग्राहकको सुविधालाई मध्यनजर गरी वातावरण अनुकूल ईभी सवारी साधनको प्रर्वद्धनको एक पहलको रूपमा यस चार्जिङ स्टेशनको स्थापना गरेको जानकारी दिए । साथै, बैंकले आफ्नो व्यवसाय विस्तारसँगै वातावरणमैत्री उपाय अवलम्बन गरिरहेको समेत उल्लेख गरे ।
साथै, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पोखरेलले ग्लोबल आईएमई बैंक वातावरण संरक्षण र उत्तरदायी बैंकप्रति प्रतिबद्ध रहेको बताए ।
उनले ग्लोबल आईएमई बैंकले आफ्नो १८औं वार्षिकोत्सव तथा विश्व वातावरण दिवसको अवसरमा १८ हजार विरुवा रोपण गरिरहेको बताउँदै बैंकले वातावरण मैत्री प्रोडक्टहरू ल्याएर वातावरण संरक्षण र जलवायु परिवर्तनको असर न्यूनीकरणमा काम गरिरहेको बताए । उनले ग्लोबल आईएमई बैंकले सञ्चालन गरेको ईभी चार्जिङ स्टेशन अन्य बैंक तथा वित्तीय संस्थाहरूले समेत अवलम्बन गर्ने विश्वास व्यक्त गरे ।
उक्त कार्यक्रममा बैंकका उच्च पदस्थ कर्मचारी र गाडी चार्ज प्रालिको प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनि अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित भइसकेको छ ।
साथै, ग्लोबल आईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको बैंक हो ।
ग्लोबल आईएमई बैंकले मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको छ । बैंकको ३५४ शाखा कार्यालय, ३८५ एटीएम बुथ, २०२ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवा प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।