०३ असार २०८३, बुधबार

बर्दघाटमा नबिल बैंकको दोस्रो चरणको उद्यमशीलता तालिम

जेठ २२, २०८२
काठमाडौं
बर्दघाटमा नबिल बैंकको दोस्रो चरणको उद्यमशीलता तालिम

नबिल बैंकको सामाजिक उद्यमशीलता कार्यक्रम ‘नबिल स्कूल अफ सोसल इन्टरप्रेनरसीप’ अन्तर्गत बर्दघाटमा २५ युवालाई प्रमाणपत्र हस्तान्तरण गरिएको छ । 

पश्चिम नवलपरासीको बर्दघाटमा रहेको दिव्यज्योति बहुमुखी क्याम्पसमा दोस्रो चरणको ६ महिना लामो तालिममा सहभागी युवालाई प्रमाणपत्र उपलब्ध गराइएको हो । 

पश्चिम नवलपरासी-१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद विनोद चौधरीले उनीहरूलाई प्रमाणपत्र प्रदान गरे । पहिलो चरणमा सोही क्याम्पसबाट ५० जना युवाले तालिम लिएर उद्यमशीलता शुरू गरिसकेका छन् । 

सांसद चौधरीले युवाहरूलाई आफूले तालिमबाट सिकेको कुरा साथीहरूलाई पनि सिकाउन आग्रह गरे । ‘दिव्यज्योतिले ५० वटा उद्यमी पहिला नै जन्माइसकेको छ । अब यी नयाँ भाइबहिनीहरूले के संकल्प गरेर जानुपर्छ भने म आफू मात्रै सफल हुन्न,’ उनले भने, ‘इच वान टिच वान’ भन्ने सिद्धान्त अंगिकार गर्नुपर्छ । म मात्र हैन म अर्को पनि एउटा उद्यमी जन्माउँछु भन्ने मानसिकताका साथ आज तपाईंहरू यहाँबाट जानुभयो भने नबिलको यो कामले सार्थकता पाउँछ ।’

नेपालका प्रतिष्ठित उद्योगपति समेत रहेका चौधरीले उद्यमशील बन्न अनुशासन र आत्मविश्वास आवश्यक हुने बताए । ‘उद्यमशीलताले खोज्ने भनेको सबैभन्दा ठूलो कुरा अनुशासन हो । दोस्रो, आफूमाथि विश्वास गर्नु हो । यदि आफूमा आत्मविश्वास छ भने जस्तोसुकै कठिन समयमा पनि तपाईंले सफलता प्राप्त गर्नसक्नुहुन्छ’, उनले भने । 

पछिल्लो समय नेपालमा केही पनि गर्न सम्भव छैन भन्दै युवाहरूमा निराशा बढेको आफूले पाएको उनको भनाइ थियो । 

‘कहाँ नेपालमा गर्न सकिन्छ ? यहाँ गर्नै दिँदैन । सरकारले दु:ख दिन्छ । फलानाले दु:ख दिन्छ । यसले दु:ख दिन्छ, उसले दु:ख दिन्छ । त्यो त्यो मानसिकता बोक्ने मानिसले कहिले पनि केही गर्न सक्दैन’, चौधरीले भने, ‘यस्तो निराशाका बीचमा म गर्छु भन्ने पनि मान्छेको एउटा ठूलै जमात छ देशमा । उहाँहरूले गरिराख्नुभएको छ ।’ 

नबिल बैंकको सामाजिक उद्यमशीलता कार्यक्रमले स्थानीयस्तरमा उद्यमशीलताको विकास गर्दै युवाहरूलाई स्वरोजगार बनाउने र सामाजिक समस्या समाधानमा टेवा पुर्‍याउने लक्ष्य लिएको नबिल बैंकले जनाएको छ । 

बैंकले यो कार्यक्रम अन्तर्गत देशभर विभिन्न शैक्षिक संस्थाहरूसँगको सहकार्यमा युवाहरूलाई उद्यमशील तामिल दिँदै आएको छ । समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने नवीन उद्यमशील सोच भएका व्यक्तिहरूलाई प्रोत्साहन गर्नु र उनीहरूको व्यावसायिक सपनालाई साकार पार्न सहयोग गर्नु कार्यक्रमको उद्देश्य रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्