२७ जेठ २०८३, बुधबार

एनसेल डाटा सेन्टरले पायो अन्तर्राष्ट्रिय ‘टीआईए–९४२–सी रेटेड–३’ प्रमाणीकरण

जेठ २७, २०८३
काठमाडौं
एनसेल डाटा सेन्टरले पायो अन्तर्राष्ट्रिय ‘टीआईए–९४२–सी रेटेड–३’ प्रमाणीकरण

एनसेल बिजनेसले ललितपुरको नख्खुमा सञ्चालन गरिरहेको आफ्नो अत्याधुनिक डाटा सेन्टरले अन्तर्राष्ट्रियस्तरको ‘एएनएसआई/टीआईए–९४२–सी रेटेड–३ डिजाइन एन्ड कन्स्ट्रक्टेड फ्यासिलिटी सर्टिफिकेसन’ प्राप्त गरेको जनाएको छ ।

एनसेलका अनुसार यो प्रमाणीकरणले डाटा सेन्टरको विश्वसनीयता, सुरक्षा, उपलब्धता र गुणस्तर अन्तर्राष्ट्रिय मापदण्डअनुरूप रहेको पुष्टि गरेको छ। एनसेल डाटा सेन्टर नेपाल सरकारद्वारा सूचीकृत पहिलो डाटा सेन्टर तथा क्लाउड सेवा प्रदायक पनि हो।

प्रमाणीकरणले डाटा सेन्टरको पूर्वाधार रेटेड–३ मापदण्डअनुसार निर्माण भएको प्रमाणित गरेको कम्पनीले जनाएको छ। यस प्रकारको पूर्वाधारमा मर्मतसम्भारका क्रममा समेत सेवा अवरुद्ध नहुने, उच्च उपलब्धता कायम रहने तथा आकस्मिक अवस्थाबाट छिट्टै पुनः सञ्चालनमा फर्किन सक्ने क्षमता हुन्छ।

कम्पनीका अनुसार डाटा सेन्टर पूर्ण रूपमा अतिरिक्त विद्युत् आपूर्ति, कुलिङ र नेटवर्क प्रणालीले सुसज्जित छ। यसले करिब ९९.९८२ प्रतिशत उपलब्धता सुनिश्चित गर्दै पूर्वनिर्धारित मर्मत वा आकस्मिक अवस्थाका बेला पनि सेवा सञ्चालनलाई निरन्तरता दिन सक्छ।

यो मूल्यांकन तथा प्रमाणीकरण टेलिकम्युनिकेशन इन्डस्ट्री एसोसिएसन (टीआईए)बाट अधिकार प्राप्त अडिट तथा प्रमाणीकरण संस्था डाटा सेन्टर मिडिया एलएलपीले गरेको हो।

एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले यो प्रमाणीकरण एनसेलका साथै नेपालकै लागि महत्वपूर्ण उपलब्धि भएको बताए। उनले नेपालबाट डिजाइन तथा निर्माण गरिएको डाटा सेन्टरमध्ये यस्तो प्रमाणीकरण प्राप्त गर्ने एनसेल पहिलो संस्था भएको उल्लेख गरे।

‘हामी विश्वस्तरीय डिजिटल पूर्वाधार निर्माणमा प्रतिबद्ध छौं, जसले स्थानीय व्यवसायलाई विस्तार गर्न आत्मविश्वास प्रदान गर्नुका साथै सरकारको डिजिटल रूपान्तरण अभियानलाई पनि सहयोग पुर्‍याउँछ,’ फोलेले भनेका छन्।

एनसेल डाटा सेन्टरले यसअघि सूचना सुरक्षा व्यवस्थापनका लागि आईएसओ २७००१ र गोपनीयता व्यवस्थापनका लागि आईएसओ २७७०१ प्रमाणीकरण प्राप्त गरिसकेको छ। कम्पनीले गुणस्तर व्यवस्थापन र वातावरणीय व्यवस्थापनसम्बन्धी आईएसओ ९००१ तथा आईएसओ १४००१ प्रमाणीकरण समेत हासिल गरेको जनाएको छ।

कम्पनीका अनुसार नयाँ प्रमाणीकरणले बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सरकारी निकाय, साना तथा मझौला उद्योग र ठूला व्यवसायलाई सुरक्षित तथा भरपर्दो डिजिटल पूर्वाधारमार्फत सेवा प्रदान गर्ने क्षमतालाई थप पुष्टि गरेको छ।

यसले बैंकिङ कारोबार, इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली तथा विभिन्न अनलाइन सेवाको डाउनटाइम न्यून गर्न, नियामकीय पालना सहज बनाउन तथा विपद् व्यवस्थापन क्षमतालाई मजबुत बनाउन सहयोग पुग्ने कम्पनीको विश्वास छ।

एनसेलले यो प्रमाणीकरणले नेपालमा महत्वपूर्ण डाटा स्थानीय रूपमा सुरक्षित राख्ने वातावरण सिर्जना गरी डाटा सार्वभौमिकता सुदृढ बनाउने, विदेशी पूर्वाधारमाथिको निर्भरता घटाउने तथा नेपाललाई उदाउँदो डिजिटल हबका रूपमा स्थापित गर्न सहयोग पुग्ने जनाएको छ।

एनसेलले प्राप्त गरेको प्रमाणीकरण र कम्प्लाएन्स मापदण्डहरूबारे थप जानकारीका लागि यहाँबाट थाहा पाउन सकिने कम्पनीले जनाएको छ ।
 
 

salt training

कमेन्ट गर्नुहोस्