
पर्यटन, आर्थिक र व्यापारिक हिसाबले महत्त्वपूर्ण सुनौली–पोखरा सिद्धार्थ राजमार्ग स्तरोन्नति प्रक्रिया साढे पाँच दशकपछि बल्ल अघि बढेको छ ।
वर्षौंदेखिको विस्तारको पखाइमा रहेको पहाडलाई तराईसँग जोड्ने देशको पुरानो ‘लाइफ लाइन हाइवे’ ५५ वर्षपछि ‘टु लेन डेडिकेटेड’ मा रूपान्तरण गर्न सरकारले बजेटमा समेटेको छ । नेपाल–भारत सीमा नाका सुनौलीबाट शुरू भएर पोखराको छोरेपाटनमा टुंगिने १८० किलोमिटर लामो सडक वि.सं. २०२७ मा भारत सरकारको आर्थिक सहयोगमा निर्माण शुरू भएर ७ वर्षमा वि.सं. २०३४ मा सम्पन्न भएको थियो । सडक बनेपछि सामान्य मर्मतका भरमा अहिलेसम्म चलेको थियो ।
सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने बुटवल–सुनौली २७ किलोमिटर ‘सिक्स लेन’ मा बिस्तार भइसकेको छ । अब राजमार्गअन्तर्गत पर्ने बुटवल–पोखरा १५८ किलोमिटर खण्ड ‘डेडिकेटेड’ २ ‘लेन’ मा बिस्तार हुन लागेको हो । अहिले यो सडकको ५.५ देखि ६ मिटरसम्म हुँदा बढ्दो सवारी चापले साँघुरो हुँदै गएको छ ।

कुनै ठाउँमा दोहोरो सवारी वारपार गर्न समेत नसक्ने यो खण्डलाई उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आफ्नो विकास योजनाअनुसार विस्तारको प्रक्रियामा अघि बढाएका हुन् । पौडेल स्याङ्जामा जन्मिए पनि उनको राजनीतिक कर्मथलो रुपन्देही हो ।
साविक लुम्बिनी, गण्डकी र धौलागिरी अञ्चल जोड्ने घुम्ती नै घुम्ती भएको यो मार्ग ‘लाहुर जाने बाटो’ को नामले समेत परिचित छ । ५५ वर्षसम्म स्तरोन्नति नहुँदा सडक अति जीर्ण र कमजोर छ । आउँदो आर्थिक वर्ष २०८२/२०८३ मा राजमार्गलाई ‘डेडिकेटेड डबल लेन’ मा स्तरोन्नति गर्ने कार्य शुरू हुने बजेटमा उल्लेख छ । यो सडकले रूपन्देही, पाल्पा, स्याङ्जा र कास्की गरी ४ जिल्लाका १७ वटा स्थानीय तहलाई जोडेको छ, जसमध्ये धेरै भाग स्याङ्जामा पर्छ । यो सडक खण्डमा अहिले यात्रा गर्दा ६ घण्टा लाग्ने गर्छ भने सडक निर्माणपछि यात्रा साढे दुई घण्टामा छोटिने सडक विभागले जनाएको छ ।

सडक विभागका प्रवक्ता अर्जुन अर्यालले सरकारले राजमार्ग विस्तार गर्न बजेट समावेश गरेसँगै प्रक्रिया अघि बढ्ने बताए ।
‘तयार भइसकेको डीपीआर हामी एकपटक रिभ्यू गछौं,’ प्रवक्ता अर्यालले लोकान्तरसँग भने, ‘कस्ट इस्टुमेन्ट, बहुवर्षीय ठेक्का सम्झौता र कुन स्रोतबाट बनाउने भन्ने प्रक्रिया अब अघि बढ्छ ।’
उनले थपे, ‘सिद्धार्थ हाइवे विस्तार गर्ने कार्य पहिलेदेखि नै हा । अहिले बल्ल बजेटमा परेको छ । काम अगाडि बढ्ने निश्चित भयो । सिद्धबाबा ‘टनेल’देखि पोखरासम्म यो सडक बन्ने हो ।’
‘डेडिकेटेड डबल लेन’ मा कुनै एक लेनमा गाडी बिग्रिएर रोकिए पनि बाँकी भएको ठाउँमा दोहोरो रूपमै सवारीसाधन आवत–जावत गर्न सक्नेछन् । दुई लेन सडकमा भने, कुनै एक लेनमा गाडी बिग्रिएर रोकिएमा एकतर्फी मात्रै यातायात सञ्चालन गर्न सकिने इन्जिनियर अर्यालको भनाइ छ ।

यो सडक भएर गुल्मी, पाल्पा, स्याङ्जा, कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङ हुँदै चीन जोड्ने कोरला नाकासम्म जाने सवारी चल्ने गर्छन् ।
घुमाउरो र साँघुरो भएकाले दुर्घटना बढ्न सक्ने भएकाले यसको स्तरोन्नति अपरिहार्य रहेको गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले लोकान्तरलाई बताए । ‘बजेटले सडक विस्तारबारे बोलेकाले अब छिटो टेन्डरको प्रक्रियामा गएर निर्माण कार्य अघि बढाउनुपर्ने हुन्छ,’ उनले भने, ‘सडक विस्तारमा सहयोगका लागि राजमार्गका पर्ने सबै स्थानीय सरकारहरू एकजुट छौं ।’
पाँच वर्ष निर्माण अवधि राखेर यो सडकको लागत २० अर्ब रूपैयाँ लाग्ने अनुमान छ, जसमध्ये १० अर्ब ३९ करोड सडक निर्माण र ९ अर्ब ३७ करोड सुरुङ निर्माणका लागि लाग्ने अनुमान छ । यो खण्डमा ५ वटा सुरुङमार्ग बनाउने डीपीआर प्रतिवेदनमा उल्लेख छ । त्यसमा १ हजार १२६ मिटर लामो सिद्धबाबा सुरुङमार्ग अबको दुई वर्षभित्र सम्पन्न गर्ने गरी काम अघि बढेको छ ।

मायातारीमा १३२ मिटर, स्याङ्जामा ९९ मिटर, सामकोशमा १०३ मिटर र भालु पहाडमा १९१ मिटरको सुरुङ मार्ग बनाउने प्रस्ताव गरिएको छ । सडक विभागले सडकखण्डलाई स्तरोन्नति गर्न यसअघि नै विस्तृत परियोेजना प्रतिवेदन (डीपीआर), वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) लगायतका प्रतिवेदन तयार गरिसकेको छ । ईआईए प्रतिवेदन स्वीकृतिका लागि वन मन्त्रालयमा पुगिसकेको छ ।
प्रतिवेदनअनुसार यो रोडलाई न्यूनतम् सात मिटर क्यारिजवेमा विस्तार गरिनेछ । सडकको दायाँ–बायाँ थप १.५ मिटरको सोल्डर (सडकको दुवैतर्फको छेउ भागमा पीच) र १ मिटरको नाला पनि निर्माण गरिनेछ । यस सडकको चौडाइ ठाउँ–ठाउँमा साँघुरो ५.५ मिटर र ६ मिटरसम्म रहेको भएर यस आयोजनाको मुख्य उद्देश्य सडकखण्डलाई कम्तीमा पनि ७ मिटर क्यारिजवे, सडकको दुवैतर्फ १.५ मिटरको सोल्डर र एकमिटरको नालासहित बाह्रै महिना सुचारु रहने छ । दुई लेनको कालोपत्रे सडकमा स्तरोन्नति गर्नुका साथै सडकमा पर्ने पुलहरूको पनि आवश्यकताअनुसार मर्मत–सम्भार गरिनेछ । बजार क्षेत्रमा भने ‘फोर लेन’ को सडक बनाउने योजना रहेको विभागका प्रवक्ता अर्यालले जानकारी दिए ।

विभिन्न ३८ ठाउँमा लामा एवं अग्ला पुल (भायाडक्ट) बनाउने प्रस्ताव गरिएको छ । त्यसमा आठ मिटरदेखि ९२ मिटर भायाडक्ट बनाउने प्रस्ताव गरिएको छ । त्यसको उचाइ भने ६ देखि २० मिटरसम्म हुने प्रतिवेदनमा उल्लेख छ । यी अग्ला पुलको कूल लम्बाइ ७७७.६ मिटर हुनेछ । यसले सडकको लम्बाइ ४.४२ किलोमिटर घटाउने प्रतिवेदनमा उल्लेख छ ।
स्याङ्जा सदरमुकाम पर्ने पुतली बजारमा भने बाइपास बनाउने प्रस्ताव गरिएको छ । बजार क्षेत्र साँघुरो भएकाले बाइपास बनाइने भएको हो । शहरी क्षेत्रमा २ लेनको सडक निर्माण गर्न सम्भव छैन भने त्यहाँ बाइपास निर्माण गर्ने गरिन्छ । हाल स्याङ्जाको पुतलीबजारको सडकमा धेरै घुम्ती रहेको र सडकको दुवै छेउमा बाक्लो बस्ती, व्यापारिक र आवासीय संरचनाहरू रहेका कारण नेपाल सरकारले पनि त्यहाँ सडकको क्षेत्राधिकार १३ मिटर तोकिदिएको छ ।
यो सडक विस्तार गर्दा पाल्पाको तिनाउ गाउँपालिका दोभानदेखि स्याङ्जा सडक छेउसम्म कम्तीमा १ हजार घरटहरा भत्काउनुपर्ने हुन्छ ।

काठमाडौंपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई स्थलमार्गमा समेत जोड्ने तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताए । ‘भारतसँग जोड्ने व्यापारिक मार्ग विस्तार भएपछि यस क्षेत्रमा ठूलो सम्भावनाको ढोका खुल्नेछ,’ श्रेष्ठले लोकान्तरसँग भने, ‘अत्यधिक घुम्ती र साँघुरो रहेकाले मर्मतको खाँचो सँगै सवारी चाप धान्नका लागि आवश्यकताका दृष्टिले यो जरुरी थियो ।’
यो सडक खण्डको सबैभन्दा जोखिम मानिने सिद्धबाबा खण्डमा सुरुङ निर्माण भइरहेको छ । अब दुई वर्षभित्र सञ्चालनमा आउने सुरुङ र त्यस वरपरको तीन किलोमिटर सडक सुरक्षित बनाएपछि यो सडकमा यात्रा गर्ने यात्रुले सहजता महसुस गने पाल्पा दोभानका शिक्षक विष्णु पाण्डेयले बताए ।

सिद्धार्थ राजमार्गको विकास र विस्तारले लुम्बिनी एवं गण्डकी प्रदेशका पुराना बजारहरू जुर्मुराउने र सडक वरपरको विकासले गति लिने स्याङ्जाको पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले बताए ।
‘अर्थमन्त्रीज्यूको पहलमा अब सडक विस्तार हुने भयो । जिल्लाबासीको तर्फबाट उहाँको योजनालाई सफल बनाउन सबै प्रतिबद्ध छौं,’ रेग्मीले लोकान्तरसँग भने ।
यो सडक खण्डमा १७ वटा स्थानीय तह पर्ने र सबै स्थानीय तह सडक बनाउन एकमत रहेको उनको भनाइ छ । यो सडक भएर दैनिक ५ हजारभन्दा बढी सवारी साधन आवतजावत गर्ने गर्छन् ।