
घामको उज्यालो छँदै सेफिल्ड एभिन्यु वरपर चहलपहल शुरू भइसकेको थियो । भिक्टोरिया कालखण्डलगत्तै सन् १९१२ को फ्रान्सेली पुनर्जागरण शैली बोकेर उभिएको ‘भिक (भिक्टोरिया) थिएटर’ बाहिर लामबद्ध दर्शक नेपाली लोकरक अनुभव गर्न व्यग्र देखिन्थे ।
जब ७ बजे ढोका खुल्यो उल्लासका साथ उनीहरू हलभित्र छिरे । ठीक ८ बजे चर्को आवाज र बत्तीको झिलिमिलीसहित शुरू भयो नेपथ्य कन्सर्ट ।
अर्केस्ट्राका हलहरूदेखि लिएर ब्रोडवेका थिएटरसम्म धुम मच्चाएको सिकागो आफैंमा कला र संस्कृति प्रस्तुतिका लागि विश्व प्रसिद्ध नाम हो । त्यसै शहरमा पहिलोपटक उभिएको नेपथ्यले कोशी नदीको कथा–व्यथा बोकेको डिल्ले दमाईंका सिर्जनालाई याद गर्दै साँझको थालनी गर्यो– ‘कोशीको पानी यो जिन्दगानी, सललल बहिजाने हाउ हजुर !’
नेपाली संगीतसँग परिचित आयरल्यान्ड मूलका डेनिस काभनाग पनि संजोगले हलभित्रै उपस्थित थिए ।
‘परम्परागत नेपाली धुनहरू सुन्दै आएको हुँ,’ नेपाली साथीहरूले नेपथ्य कन्सर्टबारे जानकारी दिएपछि ब्राजिलियन गर्लफ्रेन्डका साथ आएका डेनिस भनिरहेका थिए, ‘यस ब्यान्डले यहाँ गाइरहेको भने विशुद्ध रक धुन हो, जसमा नेपाली लोक शैलीको मिठो समागम छ ।’

कन्सर्ट हेरेपछि आफूलाई नेपथ्य ब्यान्ड गजब लागेको सुनाए । यसले सिङ्गो हलमा उत्पन्न गर्ने ऊर्जाले झनै मोहित भएको उनको थप प्रतिक्रिया थियो । आफूले गायक अमृत गुरुङमा कता–कता अमेरिकी लोकगायक बब डिलनको झल्को भेटेको पनि डेनिसले उल्लेख गरे ।
यसपटक सात अमेरिकी शहरलाई लक्ष्य गरेर महिना दिन लामो यात्रामा निस्केको नेपथ्यले मे १७ मा टेक्सासको अस्टिनबाट शृंखलाको शुरूआत गरेको थियो । त्यसपछि सियाटल, लस एन्जलस, पिट्सवर्ग हुँदै पाँचौं प्रस्तुतिका लागि नेपथ्य सिकागो आइपुगेको हो ।
सिकागोमा नेपथ्यका सर्वकालीक हिट गीतहरूदेखि लिएर राष्ट्रिय गीतहरूसम्म प्रस्तुत गरिएका थिए । ब्यान्डले भर्खरै सार्वजनिक गीत ‘कर्नालीका छाइला’ पनि सुनाएको थियो ।
कन्सर्ट हेर्नेकै भीडमा ६ घण्टा मोटर हाँकेर मिनेसोटादेखि आएका रामकुमार राई पनि थिए । उनै राम दुई वर्षअघि नेपथ्य कन्सर्ट हेर्न मिनेसोटाबाटै तीन घण्टाको विमान यात्रा गरेर क्यानाडाको टोरन्टो पनि पुगेका रहेछन् ।
‘मेरा बुवाले असाध्यै मन पराउने ब्यान्ड हो यो । घरमा थुप्रिएका नेपथ्यका क्यासेट चक्का सुन्दै हामी हुर्केका हौं,’ मूलथलो इलामका राम भन्दै थिए, ‘यस ब्यान्डले संगीत मात्र नभई हाम्रो भाषा र पहिचानको प्रवर्धन गर्ने मुख्य उद्देश्य पनि बोकेकाले मलाई विशेष लाग्छ ।’
नेपथ्यले विश्वकै महत्त्वपूर्ण शहरहरूमा इज्जतिलो उपस्थिति जनाउने नेपाली ब्यान्डका रूपमा पनि आफूलाई विकास गरेकामा अत्यन्तै गर्व लागेको पनि उनले सुनाए ।

सिकागोमा प्रस्तुति दिने क्रममा गायक अमृतले नेपालको पर्यटकीय महत्त्वदेखि लिएर सामाजिक न्याय अनि स्वदेशप्रति नयाँ पुस्ताको दायित्वजस्ता विषयमा धारणा पनि राखेका थिए । त्यस्ता क्षणमा दर्शकले हौसलाका साथ उनलाई साथ दिएको देखिन्थ्यो ।
मञ्चमा मुख्य गायक तथा अगुवा अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।
नेपथ्य अब म्यासाचुसेट्स राज्यको राजधानी बोस्टन शहरतर्फ लाग्नेछ । यस शहरको ‘रोयल बोस्टन’ हलमा नेपथ्य जुन ११ मा प्रस्तुत हुनेछ । बोस्टनपछि नर्थ क्यारोलाइना राज्यको ग्रिन्सबोरो शहर पुग्नेछ । नेपथ्य पहिलोपटक प्रस्तुत हुन लागेको त्यस शहरको ‘पिडमोन्ट हल’मा जुन १४ को साँझ यस वर्षको शृंखलाबद्ध अमेरिका यात्राकै अन्तिम प्रस्तुति हुनेछ ।
व्यवस्थापक, प्राविधिक र कलाकारसमेत गरेर १४ सदस्यीय नेपथ्य टोली अमेरिकाको यात्रामा छ ।