
मत्स्युराणमा चाक्षुष मनुको अन्त्यमा जलप्रलय भएको कथा आएको छ । कथाअनुसार त्यति बेला सत्यव्रत नामका राजाले सानो माछोलाई बचाएका थिए । पछि सोही माछो बढ्दै गएर जलप्रलयको बेला सत्यव्रतको रक्षा गरेको थियो । पछि गएर तिनै राजा नै वैवस्वत मनुको नामले परिचित भए ।
जलप्रलयका बेला डुङ्गामा बसेका सत्यव्रतले जुन ज्ञान पाएका थिए त्यही ज्ञान नै मत्स्यपुराणको नामले परिचित छ । सङ्क्षेपमै सही यस्तै प्रसङ्ग भागवतपुराण र शतपथ ब्राह्मणमा पनि आएको छ । यस आलेखमा यही पौराणिक कथानकलाई ऐतिहासिक आलोकमा प्रस्तुत गर्ने जमर्को गरेको छु । सुधीजनबाट प्रतिक्रियाको अपेक्षा राख्दछु ।
करिब ई. पू. ३२ सय वर्षतिर फारसको खाडी तथा कश्यपसागरको बीचमा एउटा भयानक जलप्रलय भएको थियो, जसलाई उनै चाक्षुषमन्वन्तरको अन्त्यमा भएको प्रलय हो भन्ने गरिएको पाइन्छ । त्यतिबेला जलप्रलय भएको स्थान भने मेसोपोटामिया र पर्शियाको उत्तरपश्चिम प्रदेश रहेको थियो । यसैको कारण पर्शियाको यो भाग दक्षिणमा फारसको खाडी र उत्तरमा कश्यपसागरबाट दविन पुगेको थियो । थाहा छैन अहिले कस्तो छ । शायद त्यस्तै अवस्थामा हुनुपर्छ ।
जे होस् यतिबेला भएको जलप्रलयबाट मेसोपोटामिया र पर्शियाको उत्तरपश्चिम प्रदेशलगायत फारसको खाडी र कश्यपसागरको बीचको भाग पूरै जलमग्न भएको थियो । जलप्रलयको कारण भने भयानक ज्वालामुखी विस्फोटलाई लिइएको छ ।
यसैको कारण हिमपहिरो गएको थियो, ठूलाठूला हिमचट्टान पग्लिएको थियो । पर्शियाको दक्षिण पश्चिमकोणमा जुन अर्मेनिया प्रदेश छ त्यहीँको हिमपर्वतबाट फरात नामक नदी निसृत छ । झण्डै समुद्रजत्रै विशाल सो नदी मेसोपोटामियासम्मको भूभाग हुँदै समुद्रमा मिसिन पुगेको छ ।
यसबाहेक त्यस क्षेत्रमा अन्य केही ठूल–ठूला हिमनदीहरू पनि बगेका छन्, जुन नदीहरू त्यसकै आसपासको हिमसृङ्खलाबाट निसृत भएका हुन् । जब ज्वालामुखी विस्फोटका कारण हिमचट्टानहरू पग्लिन थाले तब ती नदीहरूमा भयानक बाढी आउन थाल्यो । फलतः त्यस क्षेत्रमा जलप्रलय हुन पुग्यो । यसैको कारण त्यति बेला पर्शिया पूरै जलमग्न भई मृत्युलोकमा परिणत भएको थियो तर त्यसै क्षेत्रमा केही यस्ता स्थान पनि थिए, जसलाई जलप्रलयको पानीले छुन सकेको थिएन । कारण ती स्थान यति उचाइमा थिए कि जुन १८ हजार फिटभन्दा माथि पर्दथे । तथापि आवादी भने डुवान क्षेत्रमा जस्तै त्यहाँको पनि पूरै नष्ट भएको थियो । भनिन्छ त्यति बेला नष्ट हुने जाति अर्राट थिए, जुन चाक्षुष मनुपुत्र अत्यराति जानन्तपतिको वंशज मानिन्थे । पहिले यिनै अत्यराति जानन्तपति, मन्यु वा अभिमन्यु, उर, पुर, तपोरत तथा उरपुत्र अङ्गिरा आदि चाक्षुषहरूले त्यस क्षेत्रका निवासीहरूलाई हराएर आफ्नो प्रभुत्व कायम गरेका थिए ।
मत्स्यपुराणमा जुन मनुको कुरा आएको छ ती उनै चाक्षुषपुत्र मन्यु–अभिमन्युको वंशज हुन सक्ने बलियो अनुमान गर्न सकिन्छ । किनभने प्रलयपूर्व वेविलोनियामा मत्स्यजातिका मानिस बस्ने गरेको पाइन्छ । उनीहरू कुशल नाविकमा पर्थे । प्रलयका बेला ती नाविकले यिनै मन्यु अभिमन्यु जातिका मानिसलाई बचाएको हुन सक्छ तर पुराणमा भने माथि भनिएअनुसार सत्यव्रत राजाको कुरा आएको छ ।
त्यति बेला मन्यु–मनुले त्यहाँ सुषा नामको नगर बसाएका थिए । यो स्थान त्यही स्थान थियो जुन स्थानलाई उल्लिखित जलप्रलयको पानीले छुन सकेको थिएन । मन्यु नगरीको नामले पनि परिचित सो स्थान त्यतिबेला सभ्यताको समेत ठूलो केन्द्र मानिन्थ्यो । तैपनि प्रलयपछि त्यहाँको नगर उजाडियो । शायद आसपास सर्वत्र प्रलयकालीन पानी जमेकाले होला कति मरे कति छाडेर गए । फलत: नगरमा धूलो जम्न थाल्यो । धूलोको पत्र पनि यति मोटो कि ६ फिटभन्दा अग्लो थियो ।
लामो समयको अन्तरालमा सुषा नगरी मन्युपुरीमा दक्षपुत्री अदितीका जेठा छोरा वरुण आदित्य आएर रहन लागे । उनले धूलो पन्छाएर भूमि सम्याए भने ठाउँठाउँमा जमेको पानीलाई नहरको माध्यमबाट समुद्रमा मिलाइदिए । पछि गएर उनका भाइ सूर्यकुलमा आर्यजाति निर्माण भए भने वरुणको कुलमा सुमेर जाति निर्माण भए । यही सुमेर सभ्यताका अगुवा व्यक्ति इरानको प्राचीन शासक थिए । जलप्रलय हुनुभन्दा अघि त्यस क्षेत्रमा प्रोटोइलामाइट सभ्यता थियो । प्रलयपछि सोही प्रोटोइलामाइट सभ्यताबाट सुमेर सभ्यताको विकास भएको देखिन्छ ।
यसरी प्रलयको बेला नष्ट भएको प्रोटोइलामाइट सभ्यतालाई बचाउने काम वरुणले गरेका थिए । यसै अर्थमा कतिले उनलाई ब्रह्मा भन्ने गरिएको पनि पाइन्छ तर हिन्दूपुराणले भने वरुणलाई पश्चिम समुद्रको मालिक र ब्रह्मालाई सृष्टिकर्ता आदि पुरुष मानेको छ । यद्यपि कतैकतै यहुदी धर्मगुरु इब्राहिमलाई नै ब्रह्मा भन्ने गरेको पनि देखिन्छ, जो ई. पू. १८०० तिरका थिए । विश्वासको कुरा हो कसैले उनलाई ब्रह्मा मानेर सम्मान गर्छन् भने आश्चर्य मान्नुपर्ने अवस्था छैन तर हिन्दूपुराणका अनुसार ब्रह्मा उनीभन्दा कति हो कति अघिका देखिन्छन् ।
अदितीपुत्र आदित्यहरू १२ भाइ थिए । तीमध्ये कान्छा सूर्यको वंशज सप्तसिन्धुक्षेत्रमा आई भारतीय उपमहाद्वीपमा फैलिएर रहन लागे । बाँकी ११ भाइ आदित्यको वंशज भने इरान, मिश्र, प्यालेष्टाइन्, अरब तथा त्रिविष्टव (तिब्बत) सम्म फैलिएर रहन लागे । देवजातिको निर्माण पनि यिनैजातिहरूबाट भएको देखिन्छ, जो त्रिविष्टव (तिब्बत) क्षेत्र (स्वर्ग) को निवासी मानिन्छन् । वरुणकालसम्म सुषा नगरीको नामले परिचित मन्युपुरी पनि पछि गएर इन्द्रपुरी अमरावतीको नामले परिचित हुन पुगेको पाइन्छ ।