
अन्तर्राष्ट्रिय क्षेत्रमा प्रसिद्ध ब्यूटी एकेडेमी आइएसएएसको नयाँ शाखा काठमाडौंको नयाँबानेश्वरमा शुरू भएको छ । करिब चार करोड ५० लाख लगानीमा सञ्चालनमा आएको शाखाको अभिनेत्री वर्षा सिवाकोटीले उद्घाटन गरेकी हुन् ।
आइएसएएसमा ब्यूटीसम्बन्धी छोटा तथा लामो अवधिका तालिम प्रदान गरिनेछ । तालिमप्राप्त जनशक्तिले विभिन्न क्षेत्रमा रोजगारी प्राप्त गर्न सक्ने एकेडेमीले जनाएको छ ।
ब्यूटीसम्बन्धी अन्तर्राष्ट्रिय कोर्स अध्यापन गराउने उद्देश्यले कम्पनीले भारतका विभिन्न सहर, दुबई र श्रीलंकासँगै नेपालमा पनि स्कुल स्थापना गरेको हो ।
अन्तर्राष्ट्रिय सौन्दर्य शिक्षाको क्षेत्रमा प्रसिद्ध ग्लोबल ब्यूटी आइकन भक्ति साप्केले शुरू गरेको अन्तर्राष्ट्रिय ब्रान्ड हो । करिब दुई दशकभन्दा लामो अनुभव भएकी साप्के ‘सिडेस्को सेक्सन यूएइ’की अध्यक्ष समेत हुन् ।
साप्केको नेतृत्वमा आइएसएएसले ११ आउटलेट विस्तार गरेको छ । साथै अमेरिकामा पनि शाखा खोल्ने तयारी अघि बढाएको उनको भनाइ छ ।
एकेडेमीमा कोस्मेटोलोजी, मेकअप, नेल टेक्नोलोजी, स्पा थेरापी, सलुन तथा स्पा व्यवस्थापन, आइल्याश एक्सटेन्सनलगायत ४५ भन्दा बढी अन्तर्राष्ट्रिय स्तरका पाठ्यक्रम पढाइ हुनेछ । यी कोर्स पूरा गरेपछि विद्यार्थीले सिडेस्को (स्विट्जरल्यान्ड), पिभोट पोइन्ट (अमेरिका), एलएटिटी (लन्डन), केएचडिए र डिएचए (दुबई) तथा टिभिइटी (यूएई) जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय निकायको परीक्षा दिएर प्रमाणपत्र प्राप्त गर्न सक्नेछन् ।