
कपिलवस्तुकी स्मृति हरिजन चमार समुदायबाट पहिलो चिकित्सक बनेकी छिन् । गत साता चिकित्सा शिक्षा आयोगले लिएको चिकित्सा विज्ञान (एमबीबीएस)को लाइसेन्स परीक्षा उत्तीर्ण गरेर उनी चमार समुदायको पहिलो चिकित्सक बनेकी हुन् । कपिलवस्तुको कृष्णनगर नगरपालिका–९ की स्मृतिले जनकपुरको जानकी मेडिकल कलेजबाट चिकित्सा अध्ययन गरेकी हुन् ।
उनी चमार समुदायबाट डाक्टर बन्ने पहिलो छात्रा हुन् । सधैं बहिष्करणमा परेको समाजबाट अनेक बाधा र थिचोमिचो चिरेर स्मृति डाक्टर बन्न सफल भएकी हुन् ।
उनले हासिल गरेको उचाइले आम दलितसँगै पछाडि परेको चमार समुदायमा आशाको सञ्चार भएको छ । अहिले उनी खुसी छिन् । देश र आफ्नो समुदायको उदाहरण बन्न पाउँदा धेरै खुसी लागेको २६ वर्षीया स्मृतिले सुनाइन् ।
तर, स्मृतिको खुसीका पछाडि ठूलो पीडा र कठोर संघर्ष लुकेको छ । तराईको दुर्गम र पछाडि परेको वस्तीमा जन्मिएकी स्मृतिका बुवा सन्तरामले शिक्षाको महत्त्व बुझेर गाउँमा मजदुरी र संघर्ष गरेर छोरीलाई पढाएका थिए । चिकित्सकको सेतो पहिरन लगाउँदा स्मृतिलाई बुवा-आमाको सपना बोकिरहेको भान हुन्छ । लाइसेन्स परीक्षा पास भएपछि स्मृति भन्छिन्, ‘मेरो बाबाको सपना छोरीलाई डाक्टर बनाउने थियो, उहाँको चाहना र सपना पच्छाउँदै आज पूरा गर्न सकेकोमा असाध्यै खुसी छु । मेडिकल ‘सेक्टर’ पढेपछि सबैको ‘ड्रिम’ डाक्टर बन्ने भन्ने हुन्छ, अझै उत्पीडनमा परेको समुदायबाट डाक्टर बन्ने तहमा पुगें । अब मैले आफ्नो समुदाय र देशलाई समावेशिता र उपचारको पहुँचबाट बाहिर रहेकालाई सेवा दिने सोचेकी छु । ‘मेरो सेतो ड्रेसभित्र पसिना, आँसु, अपमान, संघर्ष र माया भरिएको छ ।’
विक्रम संवत् २०५६ मा जन्मिएकी स्मृति तराईको सामुदायिक स्कूलबाट विद्यालय तहको पढाई पूरागरी अहिले डाक्टर बनेकी हुन् । स्मृति स्कूलदेखि पढाइमा सबै प्रथम हुन्थिन् । किताबी अध्ययनबाहेक अतिरिक्त क्रियाकलापमा सधैं प्रतिस्पर्धा गरेर ‘फस्ट’ हुने गर्थिन् ।
बहादुरगञ्जको श्रीराम गोरखा माविमा पढ्दा गर्दा मेधावी विद्यार्थी स्मृतिले चिकित्सक बन्ने सपना बोकेकी थिइन् । तर, डाक्टर पढाउन सक्ने आर्थिक अवस्था घर परिवारको थिएन । स्मृतिका अनुसार उनका बुवा सन्तराम गाउँमै मजदुर र आमा राजमती गाउँमै खेतिपाती र घरगृहस्थी गर्थिन् । बुवाले रोजगारीका क्रममा शिक्षाको महत्व बुझेको हुनाले आफूले परिवारबाट पढ्न सधैं साथ र सहयोग पाएको उनी बताउँछिन् ।
आफूले पढेको गाउँकै विद्यालयमा सन्तरामले स्मृतिसँगै चार जना सन्तानलाई भर्ना गरे । जेठी छोरी रञ्जनाले कक्षा दशसम्म मात्र पढ्न सकिन् । माइली सिर्जना बेलायतमा उच्च शिक्षा अध्ययन गरिरहेकी छन् । छोरा सन्दीप पनि भारतमा सूचना प्रविधि (आईटी) अध्ययन गरिरहेका छन् भने, स्मृति अहिले आएर नेपालमै डाक्टर बनिन् ।
विक्रम संवत् २०५६ मा जन्मिएकी स्मृति तराईको सामुदायिक स्कूलबाट विद्यालय तहको पढाई पूरागरी अहिले डाक्टर बनेकी हुन् । स्मृति स्कूलदेखि पढाइमा सबै प्रथम हुन्थिन् । किताबी अध्ययनबाहेक अतिरिक्त क्रियाकलापमा सधैं प्रतिस्पर्धा गरेर ‘फस्ट’ हुने गर्थिन् ।
विस.२०७२ सालमा स्मृतिले ३.०५ जीपीएसहित एसएलसी उत्तीर्ण गरिन् । एसएलसी उत्तीर्ण गरेपछि थप अध्ययनका लागि स्मृति राजधानी काठमाडौं छिरिन् । राष्ट्रिय परीक्षा बोर्डबाट क्षमतावान भएर छात्रवृत्ति पाएपछि ‘पेन्टागन कलेज’मा विज्ञान संकायतर्फ जीवविज्ञान विषयमा ‘प्लस टु’ सकिन् । पढाइमा अब्बल स्मृति प्लस टु’ राम्रो जीपीए ल्याएर उत्तीर्ण गरिन् ।
छात्रवृत्तिमा पढे पनि उनलाई काठमाडौंमा बसाइका क्रममा थोरै पैसाले सधैं अभाव खडकिरहयो । ‘आफूले दुःख र संघर्ष गरेर बाबाले हामीलाई डाक्टर र इन्जिनियर बनाउनुभयो,’ स्मृति भन्छिन्, ‘उहाँले केही गर्नु छ भने पढ्नुपर्छ भन्नुहुन्थ्यो । बाबा हाम्रो लागि त भगवानजस्तै हो ।’
गाउँमा सन्तरामले विभिन्न व्यक्तिसँग ऋण गरेर छोरीका लागि काठमाडौं पैसा पठाइदिने गरेको सन्तराम सुनाउँछन् । छोरीले डाक्टर पढ्ने भएपछि सन्तरामले आफ्नो जमिन बैंकमा राखेर ऋण निकाले । कमाएर किनेको घडेरी पनि बिक्री गरेर छोरीलाई खर्च पठाइदिए । ‘सबै जग्गा/जमिन बैंकमा धितोको रूपमा राखेको छु’ सन्तराम भन्छन्, ‘आफन्त र छिमेका केही व्यक्तिबाट पनि ऋण लिएको छु । ऋण लाखौं छ । तर, पनि खुसी छु । छोराछोरीलाई जे बनाउँछु भनेको थिएँ । अहिलेसम्म सही लाइनमा हिँडेका छन् । यहीँ हो सबैभन्दा ठूलो खुसी ।’ स्मृतिको परिवारको मात्र नभई मधेशी दलित समुदायको अपार आशा समेत बन्न पुगेको सन्तरामको भनाइ छ ।
अहिले स्मृतिलाई चिकित्सा क्षेत्रमा रहेर उत्पीडित समुदायको सेवामा काम गर्न सकिन्छ भन्ने विश्वास जागेको छ । देशका हरेक क्षेत्रमा दलितको समानुपातिक प्रतिनिधित्व अझै पनि चुनौतीपूर्ण रहेको र तल्लो पदमा रहेका उत्पीडित समुदायकाले विभेद भोग्नुपरेको स्मृतिका बाबा सन्तराम बताउँछन् ।
सन्तरामले दलित र पिछडिएको क्षेत्रका विद्यार्थीको लागि इन्जिनियरिङ र एमबीबीएस पढ्नको लागि ‘स्कलरसीप’ सरकारले छुट्याउने गरेको कही कतै सुनेँ । विश्वविद्यालय अनुदान आयोगले उपलब्ध गराउने छात्रवृत्तिबारे विभिन्न क्षेत्रमा सोधखोज गरेर प्रष्ट बुझेपछि स्मृतिलाई पढाइमा जुट्न आग्रह गरे । महँगो शुल्क भए पनि एमबीबीएस ‘प्रिपियर क्लस’ लिन स्मृति ‘नेम इन्सिच्यिूट’ मा भर्ना भइन् । विक्रम संवत् २०७६ मा एमबीबीएस प्रवेश परीक्षामा स्मृतिले पास गरिन् । उनी चमार ‘कम्युनिटी’बाट एमबीबीएस प्रवेश परीक्षा उत्तीर्ण गर्ने एक्ली छात्रा बनिन् । यति भएपछि उनी छात्रवृत्तिमा डाक्टर पढ्न पाउनेमा ढुक्क भइन् । त्यससँगै जानकी मेडिकल कलेज मधेश प्रदेशमा भर्ना पाइन् । यो अवसरले स्मृतिलाई डाक्टर बनाउने मोडमा पुग्यो ।
‘सरकारी स्कूलमा पढेको भए पनि विद्यार्थीले आफूमाथि विश्वास गरेर अध्ययन गर्नुपर्छ, अतिरिक्त कृयाकलापमा रुचि हुनुपर्छ, लक्ष्यमा सफल हुनबाट कसैले रोक्दैन,’ स्मृतिको सुझाव छ ।
अहिले स्मृतिलाई चिकित्सा क्षेत्रमा रहेर उत्पीडित समुदायको सेवामा काम गर्न सकिन्छ भन्ने विश्वास जागेको छ । देशका हरेक क्षेत्रमा दलितको समानुपातिक प्रतिनिधित्व अझै पनि चुनौतीपूर्ण रहेको र तल्लो पदमा रहेका उत्पीडित समुदायकाले विभेद भोग्नुपरेको स्मृतिका बाबा सन्तराम बताउँछन् ।
जात, लिंग वा आर्थिक हैसियतले होइन सपना, संघर्ष र आत्मबलले मान्छेको उचाइ मापन हुनुपर्ने स्मृतिको बुझाइ छ । राज्यका निकायमा पहुँचका आधारमा संरचनागत लाभ लिनबाट पछाडि परेको समुदायले पछिल्ला वर्षमा पाइरहेको अवसरलाई अब निरन्तरता दिइरहनुपर्ने स्मृतिको सुझाव छ ।
नेपाल मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण गरेकी स्मृति अहिले जनकपुरमा नै इन्टर्नसिप गरिरहेकी छन् । इन्टर्नसिपपछि उनी सरकारी नीतिअनुसार दुई वर्ष अनिवार्य सरकारी अस्पतालमा सेवा गर्नुपर्ने हुनेछ ।