
कन्सर्ट चल्दाचल्दै एक दर्शकले राष्ट्रिय झण्डा मञ्चमा हुत्याइदिए । गाउँदा गाउँदैका अमृत गुरुङले त्यसलाई माथि उठाएर हेरे । त्यस झन्डामा केही कोरिएको देखिन्थ्यो ।
‘यो रातो र चन्द्रसूर्यलाई जहिले पनि सम्मानले व्यवहार गरौँ,’ त्यस झण्डालाई काँधमा ओढ्दै अमृतले भने, ‘हाम्रो झण्डामा कसैले पनि दाग लगाउन नपाओस् ।’
यति भन्नासाथ पूरै हल दर्शकको ताली र कोलाहलले गुन्जियो । उता अमृत भने फेरि पूर्ववत् गाउन शुरू गरे ।
सात वर्षपछि बोस्टनको उही हल ‘रोयल बोस्टन’मा उपस्थित हुँदा नेपथ्यका दर्शकका निम्ति धेरै कुरा बदलिइसकेको थियो । स्वयं मुख्य प्रस्तोता अमृतका बाँधिएका कपाल पनि सेताम्य देखिन थालिसकेका थिए ।
‘तर, नेपथ्य झन्पछि झन् ऊर्जाशील बन्दै गएको छ,’ दर्शक गौरव थपलिया भनिरहेका थिए, ‘हल भित्रको माहोलले पहिलेभन्दा अझ बढी तरंगित बनाएको महसुस भयो ।’
हेटौंडाबाट १७ वर्षअघि बोस्टन आएका थपलिया कन्सर्टमा सपत्नी उपस्थित थिए । हेटौंडामा सन् २००२ र २००३, न्युयोर्कमा २०१५ र बोस्टनमै सन् २०१८ मा नेपथ्यको कन्सर्ट हेरिसकेका गौरवले यसपटकको अनुभव सुनाए, ‘ब्यान्डले यसपटक फेरि नयाँ उचाइ समातेको महसुस गरेँ ।’
संयोगले अमेरिकामा नेपथ्य यतिखेर आफूलाई सातौंपटक प्रस्तुत गर्दैछ भने पोहोर सालजस्तै यसपाला पनि यो शृंखलाबद्ध यात्रामा सातवटा शहर अटाएका छन् ।
बोस्टनमा निर्धारित समयअनुसारै बेलुकीको ठीक ७ बजे ढोका खोलिएको थियो भने ठीक ८ बजे शो शुरू भएको थियो । त्यसलगत्तै मञ्चमा उपस्थित नेपथ्यका ५ सदस्यले दुई घण्टासम्मै दर्शकलाई लोकरकको स्वादमा डुबाइरहे ।

‘भाषै नबुझ्ने मान्छेलाई नेपाली साथीहरूले कन्सर्ट हेर्न जाऔं भन्दा पहिले त अलमल परेकी थिएँ,’ फिलिपिन्सबाट आएर बोस्टनमा स्नातक अध्ययन गरिरहेकी अमान्डा रोक्सेन याप भन्दै थिइन्, ‘रमाइलो लाग्यो । नआएको भए छुटाउने रहेछु ।’
अब भने नेपाली कन्सर्टमा जान अलमल नमान्ने बताउँदै उनले बरु थप नेपाली गीत–संगीत खोजेर सुन्ने जानकारी पनि दिइन् ।
एक महिना पहिले टेक्सासको राजधानी अस्टिनबाट शुरू भएको यस वर्षको नेपथ्य यात्रा सियाटल, लस एन्जलस, पिट्सबर्ग हुँदै गत साता सिकागोमा प्रस्तुत भएपछि छैटौं शोका निम्ति बोस्टन आएको थियो ।
कन्सर्टमा सधैँजस्तै गायक अमृतले नेपाल र नेपालीपनसँग दर्शकलाई जोड्न भरमग्दुर प्रयत्न गरिरहे । उनले सामाजिक जागरण र मानवताका भावनामा पनि उत्तिकै जोड दिएका थिए ।
भर्खरका उमेरदेखि तरुनातरुनी हुँदै विदेशी साथीहरूलाई लिएर आएका दर्शकको रंगीबिरंगी भीडमा परिपक्व उमेरका नेपाली पनि उत्तिकै थिए । हलमा ८० वर्षीया नन्दकुमारी धिताल पनि रमाइरहेकी देखिन्थिन् । उनी थिइन् धुलिखेलबाट बोस्टन आई रेस्टरेन्ट व्यवसाय चलाइरहेका राम धितालकी आमा ।
‘यो कन्सर्ट सबैका लागि रमाइलो हुन्छ भन्ने सुनेर आमालाई पनि लिएर आएको हुँ,’ पहिलोपटक नेपथ्य कन्सर्ट हेर्दै गरेका राम भन्दै थिए, ‘यहाँ परिवारका सबै एकसाथ रमाउन पाइयो ।’
‘कोशीको पानी’बाट शुरू भएको कन्सर्ट ‘भेँडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’, ‘जोमसोमे बजार’, ‘उडायो रेलैले’ हुँदै अघि बढेको थियो । कन्सर्टमा ब्यान्डका लोकप्रिय गीतहरू ‘रेश्शम्’ र ‘तालको पानी’ प्रस्तुत गरिँदा दर्शक असाध्यै उत्साहित देखिन्थे ।

‘शिरफूल शिरैमा’ गाउँदै गर्दा अमृतले नेपालका गाउँबस्तीको सुन्दरता बयान गरेका थिए भने कर्णाली भेगको नयाँ गीत ‘कर्नालीका छाइला’ पनि गाएर सुनाएका थिए । अन्तिममा अमृतले राष्ट्रिय भावनाका गीतहरू ‘गाउँ–गाउँबाट उठ’ र ‘रातो र चन्द्रसूर्य’ सुनाएर दर्शकसँग बिदा लिए ।
मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।
अमेरिकाका फरक–फरक भेगका बेग्लाबेग्लै विशेषता बोकेको शहरहरूमा उपस्थित भइसकेपछि नेपथ्य अब अन्तिम प्रस्तुतिका लागि नर्थ क्यारोलाइना राज्यको ग्रिन्सबोरो शहर पुगेको छ । त्यस शहरमा नेपथ्य पहिलोपटक प्रस्तुत हुन लागेको हो ।
ग्रिन्सबोरोको ‘पिडमोन्ट हल’मा जुन १४ को साँझ ब्यान्डले यस वर्षको शृंखलाबद्ध अमेरिका यात्राकै अन्तिम प्रस्तुति दिनेछ । व्यवस्थापक, प्राविधिक र कलाकारसमेत गरेर १४ सदस्यीय नेपथ्य टोली त्यसपछि स्वदेश फिर्नेछ ।