२९ जेठ २०८३, शुक्रबार
कृषिकर्ममा ४७ वर्ष

‘कृषि बा’का रूपमा चिनिएका भवानी प्रसाद

जेठ ३१, २०८२
पाेखरा
‘कृषि बा’का रूपमा चिनिएका भवानी प्रसाद

गाउँ वरपर कृषिबारे केही सुझाव चाहिए उनैलाई सम्झन्छन् । सुन्तलाको बेर्ना चाहिँदा होस् वा खेती किसानीमा समस्या पर्दा होस् उनकै नाम अगाडि आउँछ- ‘कृषि बा’ । 

‘कृषि बा’ अर्थात् स्याङ्जाको पुतलीबजार नगरपालिका-११ का भवानी प्रसाद लामिछाने । जो १९ वर्षको उमेरदेखि व्यावसायिक कृषि खेतीमा लागे । विद्यालय पढ्न फाँट झर्दा जेटीएसँग हिमचिम भयो । यही सम्बन्धले उनलाई खेती किसानीको बाटो देखायो । जेटीएको सुझावले लामिछानेले आफ्नो बाँझो जमिनमा के फल्छ भन्ने ज्ञान पाए । त्यसपछि २०३५ सालमा सुन्तला र कफी खेती थाले । 

‘मैले मातृभूमिमा ९ क्लासमा पढ्दै एउटा गोरखाको महाप्रसाद लुइँटेल भन्ने कृषिको जेटीएसित मेरो साह्रै राम्रो मेलमिलाप थियो । उहाँबाट हौसला मिल्यो । हाम्रो लेकको बारी फालिएको थियो । त्यहाँ गएर निरीक्षण गर्दा भवानी यहाँ राम्रो सुन्तला फलफूल हुन्छ भनेर सुझाव दिनुभयो,’ उनले शुरूआती दिन सम्झिए । 

२०३४ को अन्तिम महिनादेखि नै उनले नर्सरी शुरू गरिसकेका थिए । यसैबीच, उनले पढाइलाई पनि निरन्तरता दिए । २०३८ सालमा जेटीएको नियुक्ति लिएर गुल्मी पुगे । त्यसको तीन वर्षपछि उनी आफ्नै गाउँ फर्किएर सेवा दिन थाले । त्यसैले पनि उनलाई धेरैले कृषि बा भनेर चिन्छन् । 

‘कृषि बा’ सुन्दा सजिलो नाम लाग्छ । तर, यो नाम पछाडीको मिहिनेत उनले सहजै पाएका होइनन् । घरमा ६ दाजुभाइ । पढ्दै थिए । साथीको लहडमा पनि हिँड्थे । सोही क्रममा २०२७ सालमा ख्यालख्यालमै भारत पुगे । हाइवेमा गुँडेको गाडीले साथीको लहडमा उनलाई भैरहवा पुर्‍यायो । त्यसपछि भारत ।

null

‘२०१२ साले हो म । २७ सालमा भागेर इन्डिया गएँ । ३३ सालमा आएँ । होटलमा भाँडा पनि माझियो । सबै काम गरियो । विदेशमा सानो केटा गइयो । भर्खर गाडी शुरू भाथ्यो । साथीसंगतमा भैरहवा पुगियो घुमघाम गरियो,’ उनले सुनाए । 

पछि उनीसँगै साथी पनि फर्किए । आफ्नो घरमा थोरै टाढाको साथीसँग त्यसपछि भेट भएको छैन । २०३३ मा भारतबाट फर्किएर आएपछि उनले पुनः आफ्नो पढाइ शुरू गरे । पढ्दापढ्दै पकेट खर्च निकाल्न उनले जुक्ति लगाउँथे । 

‘हाइस्कूल पढ्दै मैले पकेट खर्च निकाल्थेँ । घरमा बेर्ना उत्पादन गरेर प्रचारप्रसार गरेर बिक्री गर्थेँ,’ उनले सुनाए । 

जेटीएको संगतमा परे । धेरथोर कृषिको सुझाव पाए । साथ पनि । त्यसपछि २०३६ सालमा एसएलसी पास गरे । जेटीएले कृषिको बाटो देखाएका थिए । उनी पनि जेटीएको जागिरमा जोडिए । 

उनले शुरूआती समयमा कफी खेती गरे । आम्दानी राम्रो पाएका थिए । तर, १० वर्ष भयो कफीखेती बन्द गरेर सुन्तलामा मात्र ध्यान दिएको । वर्षेनी २५ क्विन्टल कफी बिक्री गर्थे । खेती सन्तोषजनक थियो । तर, मिहिनेत बढी चाहिने । उनले सुन्तलामा नै लगानी राम्रो देखे । कफी उत्पादनका लागि ६ महिनासम्म रोजगारी दिनुपर्थ्यो । आम्दानीसँगै खर्च पनि थियो । त्यसैले पनि उनले सुन्तलामा बढी फाइदा देखे । 

‘सुन्तलाको बीचमा मैले कफी लगाएँ । कफीले मल बढी तानेको हुँदा सुन्तलामा म असफल हुन्छु जस्तो लाग्यो । कफीमा साह्रै दु:ख पनि गर्नुपर्ने झन्झटिलो । त्योबाट फाइदा ठीकै हुने । उनीहरूले त्योबाट डलर कमाउने हामी उनीहरूको गोठालो जस्तो हुने । मिहिनेत अनुसारको भएन,’ उनले भने । 

४७ वर्ष बित्यो उनी कृषि पेसामा लागेको । कृषिकै जागिर खाएको । सुन्तलाका लागि प्रख्यात मानिने सुन्तला जोन करेनडाँडामा सुन्तला खेती शुरूआत गर्नेमा उनको नाम पनि आउँछ । व्यावसायिक सुन्तला खेती अरुले शुरू गरे पनि नर्सरीको शुरूआत उनले गरे । पुतलीबजार लगभग सबैलाई सुन्तलाको बिउ पुर्‍याउने काम गर्छ उनको सुशील एकीकृत फर्मले । यो बाहेक ४ सय २५ बोट छन् उनको बारीमा । फरकफरक प्रजातिको बिउ समेत वितरण गर्छ उनको फर्मले । 

‘ताजा तरकारी स्वास्थ्य जीवन’ भन्ने नारा छ उनको । त्यसैले आफ्नो भान्छामा तरकारी आफ्नै बारीको हुन्छ । सुन्तला बाहेक खुर्सानी खेती पनि राम्रो छ उनको । पोहोर मात्र डेढ क्विन्टल अकबरे खुर्सानीको व्यापार गरेको लामिछाने बताउँछन् । यो साल पनि राम्रै फल्ने अपेक्षा गरेका छन् उनले । 

कृषिमै रमाउँदै व्यावसायिक खेती गरेका उनले २०६१ मा जेटीएको जागिरबाट पेन्सन लिए । तर, अझै पनि गाउँठाउँमा जेटीएको काम चलिरहन्छ । केही सल्लाह चाहिए उनैलाई सम्झन्छन् । 

null‘मैले अहिले पनि सल्लाह दिन्छु । फोनबाट पनि सल्लाह दिन्छु । बिरुवाहरू लान्छ । मसित आएर सबै कुरा सिक्छन्’, उनले भने । 

यही पेसा उनको परिवारको मुख्य आयश्रोत पनि हो । महिनामा लाख जति आम्दानी हुन्छ उनको कृषि पेसाले । उनी कृषिमा यति रमाएका छन् । शरीरले समय-समयमा आराम गर्न सुझाइरहन्छ । तर,उनी सकीनसकी तम्सिएर उकालो-ओरोली गरिरहन्छ । फाँटको खेतमा ४० मूरि धान फलाउँछन् । माथि पहाडको जग्गामा सुन्तला र तरकारी खेती गर्छन् । उनको उत्पादनले बजार पनि पाउँछ । त्यसैले सन्तुष्ट पनि छन् । 

‘सुन्तलाको राम्रो छ । बिरुवाको पनि राम्रो बजार छ । आजै तीन/चार जनाले फोन गरिसके मलाई । खुर्सानी मेरो वालिङतिर जान्छ । कुनै दिन मैले जिल्लालाई नै बिरुवा पुर्‍याएको थिएँ’, उनले भने । 

सारा जीवन कृषिमै बिताएका उनलाई कृषि नीति देखेर दिक्क लाग्छ । बेर्नामा समेत कमिसन खान खोज्दा उनलाई वाक्क लाग्छ । उनको नर्सरी पनि कुपन लिएर अनुदानको लागि बेर्ना लिन आउँछन् । 

‘सरकारले केही गर्दैन । बीमा नाम मात्र हो । वास्तविक किसानले अनुदान नै पाएका छैनन् । काम छैन,’ उनले दुखेसो पोखे । 

खेती गर्न अनुदान लिएकाको रित्तो टनेल देख्दा उनलाई चित्त दुख्छ । आफूले २५ प्रतिशत लगानी गरेर अनुदानमा टनेल लिँदा ब्यहोर्नुपरेको झन्झटले अझै हैरान पारेको छ उनलाई । जथाभावी अनुदान खर्च हुँदा नागरिकको कर दुरुपयोग भएको सुनाउँछन् उनी । त्यसैले कृषिमा राम्रो नीति ल्याउनुपर्ने उनको जोड छ । साथै, देखासिकीको खेती किसानी भन्दा माटो सुहाउँदो खेती हुन जरुरी रहेको उनको भनाइ छ । 

‘हाइवेमाथि सुन्तला राम्रो हुन्छ । बाटो तल कफी र केरा राम्रो हुन्छ । सरकारले सुन्तला कहाँ राम्रो हुन्छ, कुन खेती कता राम्रो हुन्छ जग्गा छनोट हुनुपर्छ । ठाउँ हुनुपर्छ । जस्तो ठाउँ पनि सुन्तला र कफी लगाएर उत्पादन हुँदैन’, उनले भने । 

salt training

कमेन्ट गर्नुहोस्