२९ जेठ २०८३, शुक्रबार

इजरायल–इरान युद्धमा नेपालले खेल्नुपर्ने भूमिका

असार ३, २०८२
काठमाडौं
इजरायल–इरान युद्धमा नेपालले खेल्नुपर्ने भूमिका

इजरायल र इरानबीचको युद्ध दिनप्रतिदिन चर्किँदै गएको छ । १३ जुनदेखि इजरायलले ‘Operation Rising Lion’ नाम दिएर इरानविरुद्ध ठूलो सैन्य अभियान शुरू गरेसँगै अहिले युद्ध पूर्ण हवाई आक्रमणमा परिणत भएको छ ।

इजरायली सेनाले इरानका करिब सयभन्दा बढी मिलिटरी ठेगानाहरूमा प्रहार गरिसकेको छ। अर्कोतर्फ, इरानले नौ चरणमा ड्रोन र मिसाइल आक्रमण गर्दै इजरायलका मुख्य शहरहरू; तेलअविव, हाइफा, पेताह तिक्भा लगायतमा क्षति पुर्‍याएको इजरायली मिडियाहरूले बताएका छन् । यस क्रममा दर्जनौं नागरिकको मृत्यु भइसकेको छ भने सयौं घाइते भएको बताइएको छ । 

नेपाली समुदायको अवस्था
इजरायलमा यकीन नेपाली कति छन् थाहा नभएपनि करिब ६ हजारभन्दा बढी नेपाली कार्यरत रहेको बताइएको छ । मुख्यत: बृद्धाआश्रम, खेतीपाती तथा होम केयर क्षेत्रमा अहिलेको युद्धको केन्द्र क्षेत्रमा रहेका केही नेपाली मनोवैज्ञानिक रूपले प्रभावित भएका छन् ।

हालसम्म कुनै नेपालीको मृत्यु वा गम्भीर घाइते भएको पुष्टि भइसकेको छैन, तर सतर्कता अति आवश्यक देखिएको छ ।

इजरायली सुरक्षा निकायले सबै नागरिक र विदेशी कामदारहरूलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, सरकारी सूचना ध्यानपूर्वक पालना गर्न तथा बंकर वा सुरक्षित कोठामा बस्न आग्रह गरेको छ ।

विशेषगरि रातको समयमा कम्तीमा २/३ पटक इरानबाट हुने मिसाइल आक्रमणले यहाँका इजरायली नागरिक तथा विदेशी कामदार सुरक्षित स्थानमा जानुपर्ने, बस्नुपर्ने अवस्थाले मानसिक रूपमा थकित हुन थालेको देख्न सकिन्छ । 

विदेशी कामदार तथा नेपालीका लागि आवश्यक तयारी :
१. सरकारी सूचना पालना– रेड अलर्ट, साइरन, वा ‘टेसेर’ (सुरक्षात्मक घण्टी) बजेको अवस्थामा तुरुन्त बंकरतिर जानुहोस् ।

२. आपतकालीन झोला तयार– पासपोर्ट, परिचय पत्र, मोबाइल चार्जर, टर्चलाइट, केही खानेकुरा र पानीसहितको झोला तयार राख्नुस् ।

३. नेपाली समुदाय सञ्जालमा आवद्ध– संकटको बेला सहयोगका लागि नेपाली स्वयंसेवी समूहहरू, यहाँ रहेका नेपाली संघ संस्थासँग २४ सै घण्टा सम्पर्कमा रहनुस् ।

५. धेरै भिडभाड, सार्वजनिक कार्यक्रम वा भिडभाड भएका स्थानबाट टाढा रहनुपर्ने ।

६. नेपालमा रहेका परिवारमा सूचना दिने र नियमित सम्पर्कमा रहने – आफ्नो घरपरिवारलाई आफू सुरक्षित रहेको जानकारी निरन्तर दिनुहोस् ।

यस्तै, अन्तर्राष्ट्रियस्तर जस्तै; जी ७ (जी सेभेज) राष्ट्रहरूले इजरायललाई आत्मरक्षाको अधिकार भएको पुष्टि गर्दै इरानलाई ‘क्षेत्रीय अस्थिरताको मुख्य स्रोत’ भनेर निन्दा गरेका छन् । अन्तर्राष्ट्रिय परमाणु एजेन्सीले इरानको नतांज क्षेत्रमा हानिएको मिसाइलले आणविक जोखिम निम्त्याउन सक्ने भन्दै चासो व्यक्त गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ‘युद्ध अब बन्द हुनु आवश्यक छ’ भन्दै राजनीतिक समाधानको सुझाव दिइरहेका छन् ।

युद्धको अवस्था अझ केही समय स्थिर नहुन सक्छ । यस्तो अवस्थामा इजरायलमा रहेका नेपालीहरूले उच्च सतर्कता, सुरक्षा मापदण्ड र समुदायिक सहयोगमा विशेष ध्यान दिनुपर्छ । कुनै पनि आपतकालीन परिस्थितिमा तुरुन्त स्थानीय अधिकारी वा नेपाली समुदाय सहायता केन्द्रमा सम्पर्क गर्नु अत्यन्त जरुरी हुनेछ ।

इजरायल–इरान युद्ध चर्किँदै गए नेपाल र राजदूतावासले गर्नुपर्ने तयारी
इजरायल र इरानबीच जारी सैन्य तनाबले युद्धको स्वरूप लिँदै जाँदा, इजरायलमा बसोबास गरिरहेका हजारौं नेपालीको सुरक्षाको प्रश्न गम्भीर बन्दै गएको छ । 

युद्ध चर्किएर दीर्घकालीन हुने संकेत देखिँदै जाँदा, नेपाल सरकार र तेलअविवस्थित नेपाली राजदूतावासले अब थप प्रभावकारी भूमिका खेल्नुपर्ने आवश्यकता तीव्र रूपमा महसुस हुन थालेको छ ।

नेपाली राजदूतावासको अग्रपंक्तिको जिम्मेवारी
युद्धका कारण उत्पन्न सम्भावित संकटलाई मध्यनजर गर्दै राजदूतावासले निम्न रणनीति अवलम्बन गर्न जरुरी देखिन्छः
• २४/७ हेल्पलाइन सेवा सञ्चालन गर्दै संकटमा परेका नेपालीहरूलाई तत्काल सूचना र सहायताको पहुँच उपलब्ध गराउनु ।

• सुरक्षित स्थानान्तरणको सम्भावना रहने क्षेत्र पहिचान गरी इजरायली सुरक्षा निकायसँग समन्वय गर्ने ।

• डिजिटल सूचना केन्द्रमार्फत् सामाजिक सञ्जाल, मोबाइल म्यासेज वा वेबपोर्टलमार्फत् लगातार सूचनाको आदान-प्रदान ।

• राहदानी वा परिचयपत्र हराएका नेपालीहरूलाई आपतकालीन यात्रा कागजात (Emergency Travel Document) जारी गर्ने प्रक्रिया सहज बनाउने ।

नेपाल सरकारको तयारीको खाका 
परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयले तालमेल गर्दै इजरायलस्थित नेपालीहरूको तथ्यांक अद्यावधिक गरी, आपतकालीन अवस्थामा निम्न कार्यहरू तयार गर्नु पर्ने देखिन्छ:

• नागरिक उद्धार योजना : युद्ध अत्यन्त गम्भीर भएको अवस्थामा नेपालीलाई स्वदेश फर्काउने तयारी, जसका लागि नेपाल वायुसेवा निगम वा चार्टर फ्लाइटको व्यवस्था गरिनुपर्नेछ ।

• नयाँ कामदार पठाउने प्रक्रिया स्थगित गर्ने निर्णय, युद्धग्रस्त क्षेत्रमा जनशक्ति पठाउन नहुने नीति कार्यान्वयन ।

• विदेशी उद्धार संयन्त्रमा समावेश : अन्य मित्र राष्ट्रहरूको सहकार्यमा संयुक्त उद्धार अभियानको पहल ।

नेपाली समुदाय र संस्थाको भूमिका
स्थानीय नेपाली संस्था, अभियन्ता र स्वयंसेवीहरूले राजदूतावाससँग समन्वय गर्दै नेपालीहरूको सुरक्षाका लागि निरन्तर सहयोग गर्दै आएका छन् । 

विशेषगरी, आपसी सम्पर्कमा रहने, समस्या परेको व्यक्तिको विवरण तुरुन्त सम्बन्धित निकायमा पुर्‍याउने र अत्यावश्यक सामग्रीको व्यवस्थापनमा सहायता गर्ने काम महत्त्वपूर्ण छ ।

युद्धको अवस्था अझै भयावह हुँदै गयो भने, इजरायलमा रहेका नेपालीको सुरक्षा केवल व्यक्तिगत सतर्कता मात्र होइन, राज्यस्तरको तीव्र उत्तरदायित्व पनि हो । 

नेपालको कूटनीतिक संयन्त्र, नीति निर्माण तह र स्थानीय नेपालीको संयुक्त प्रयासबाट मात्र सम्भावित जोखिम न्यूनीकरण गर्न सकिन्छ ।

[लेखक खेमराज​ जम्मरकट्टेल हाल इजरायलमा कार्यरत छन् ।]

salt training

कमेन्ट गर्नुहोस्