काठमाडौं, २१ मंसिर — प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको दोस्रो चरणमा मतदाताहरूले उत्साह देखाएका छन् । मंसिरको चिसोलाई परवाह नगरी उनीहरू मतदानमा सक्रिय देखिएका हुन् ।
एक करोड २२ लाख ३५ हजार ९९३ मतदाताले मुलुकमा संक्रमणकाल अन्त्य तथा समृद्धिको बाटो हिँड्नका लागि मतदान अधिकार प्रयोग गरिरहेका छन् ।
मतदाता नामावलीमा नाम रुजु गराउँदै मतदाताहरू मतदान केन्द्रमा उपस्थित छन् । चिसो मौसममा पनि बाक्लो कपडा लगाएर सबेरैदेखि धैर्यताका साथ मतदाताहरू लाइन लागेको देखिन्छ ।
सत्तरी वर्ष कटेका वृद्ध नागरिक, अपांग, गर्भवती तथा अशक्तहरूलाई पहिले मत दिने व्यवस्था मिलाइएको छ । दृष्टिविहीनहरूले एकाघर आफन्तको सहायताले मतदान गरेका छन् ।
मुलुकमा परिवर्तनको जग खन्ने निर्वाचनका रूपमा मतदाताहरूले उत्साह देखाइरहेको पाइन्छ ।
बिहान १० बजेसम्म करीब २० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।
मतगणना साँझ ५ बजेपछि लगत्तै शुरु गरिने आयोगले जानकारी दिएको छ ।