
नेपाली फूटबलकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ले सात चलचित्र भवनमा एक सय दिन पूरा गरेको छ ।
काठमाडौंको क्यूएफएक्सको सामाखुसीस्थित सिटीस्क्वायर मल, कीर्तिपुरस्थित कीर्तिपुर सिनेप्लेक्स, इटहरीको एलाइट सिनेमा, बिर्तामोडको पाथीभरा सिनेप्लाजा, चितवनको म्याङ्गो जनज्योति सिनेमा र विराटनगरको सेन्ट्रल मल्टिप्लेक्समा प्रदर्शनको १०० दिन पूरा गरेको निर्देशक मिलन चाम्सले जानकारी दिए ।
चाम्ले भने, 'हामीले जुन सोचका साथ चलचित्रको निर्माण शुरूआत गरेका थियौं, त्यो आज पूरा भएको छ । खेलाडीको जीवनीमा आधारित चलचित्रलाई दर्शकले दिनुभएको माया अमूल्य छ, यसले आउँदो दिनमा अन्य खेलाडीको कथामा चलचित्र बनाउन प्रेरणा दिएको छ । कप्तान सुब्बाको घर बनाउने सपना पनि पूरा हुँदैछ, हामी चाँडै जानकारी दिनेछौं ।'
चलचित्रमा स्वयं कप्तान सुब्बाले आफ्नो भूमिका निर्वाह गरेकी छिन् । उनीसँगै चलचित्रमा दयाहाङ राई, सिर्जना सुब्बा, विजय बराल, माओत्से गुरुङ, प्रेमकुमार श्रेष्ठले अभिनय गरेका छन् ।
चलचित्र विक्रम संवत् २०८१ फागुन २९ गतेदेखि प्रदर्शन भएको थियो ।