०९ साउन २०८३, शनिबार
इरान-इजरायल द्वन्द्वमा अमेरिकाको प्रवेश

इरानका आणविक केन्द्रमा अमेरिकी आक्रमण !

असार ८, २०८२
काठमाडौं
इरानका आणविक केन्द्रमा अमेरिकी आक्रमण !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन वटा आणविक साइटमा अमेरिकाले आक्रमण गरेको बताएका छन् । अमेरिकाले फोर्डो, नतांज र इस्फहान साइटमा आक्रमण गरेको उनको दाबी छ । 

इजरायलले सञ्चालन गरिरहेको हवाई आक्रमणमा औपचारिक सहभागिता जनाउँदै अमेरिकाले इरानको आणविक कार्यक्रमलाई ‘नष्ट गर्ने’ उद्देश्यसहित उक्त कदम चालेको बताइएको छ ।

‘हामीले इरानका तीनवटा आणविक साइटहरू फोर्डो, नतांज र इस्फहानमा अत्यन्त सफल आक्रमण सम्पन्न गरेका छौं । सबै विमानहरू अहिले इरानको हवाई क्षेत्रमा छैनन्’, उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन् ।

उनका अनुसार फोर्डोमा पूर्ण बम लोड खसालिएको छ र सबै विमान अमेरिका फर्किने क्रममा छन्  । 

यसैबीच, राष्ट्रपति ट्रम्पले इरानका आणविक साइटमा गरिएको हमलापछि ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्ने घोषणा गरेका छन् ।

‘म ह्वाइट हाउसबाट इरानमा गरिएको हाम्रो अत्यन्त सफल सैनिक कारबाहीबारे राष्ट्रका नाममा सम्बोधन गर्नेछु । यो अमेरिकाको, इजरायलको र विश्वकै लागि एक ऐतिहासिक क्षण हो । अब इरानले यो युद्ध अन्त्य गर्ने सहमति गर्नैपर्छ’, उनले भनेका छन् । 

इरानी सरकारले आक्रमणबारे औपचारिक प्रतिक्रिया दिएको छैन । तर, इरानको सरकारी समाचार संस्थाले आइतबार बिहान प्रकाशित रिपोर्टमा फोर्डो आणविक केन्द्रमाथि हमला भएको उल्लेख गरेको छ । हमलापछि त्यहाँको हवाई सुरक्षातन्त्र सक्रिय गरिएको जनाइएको छ । थप विवरण भने दिइएको छैन ।

ट्रम्पले आक्रमणमा अमेरिकी बी–२ स्टिल्थ बमबर्षक प्रयोग गरिएको बताएका छन् । ती विमानहरूले मात्र ३०,००० पाउन्ड (१३,५०० किलोग्राम) को बंकर बस्टर बम बोक्न सक्छन्, जुन भुइँमुनि गाडिएका गहिरा आणविक संरचना नष्ट गर्न प्रयोग गरिन्छ । अमेरिकी रक्षा मन्त्रालय र ह्वाइट हाउसले भने यसबारे थप विवरण सार्वजनिक गरेका छैनन् ।

हालै इजरायली सेनाले इरानका हवाई सुरक्षा प्रणाली र क्षेप्यास्त्र क्षमतामा क्रमशः प्रहार गरिरहेको छ। अमेरिकाले आफ्ना स्टिल्थ बमबर्षकमार्फत गहिरा आणविक संरचना नष्ट गर्न इजरायललाई रणनीतिक साथ दिएको बुझिएको छ ।

यो आक्रमणपछि क्षेत्रीय सुरक्षास्थितिमा थप अस्थिरता आउने चेतावनी अन्तर्राष्ट्रिय विश्लेषकहरूले दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्