
कोरोना संक्रमित एक महिलाको विराटनगरमा मृत्यु भएको छ । इलामको सूर्योदय नगरपालिकाकी महिलाको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता, डीएसपी कोपिला चुडालका अनुसार ४१ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।
ती महिला झापाको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालबाट रिफर भएर नोबेल शिक्षण अस्पतालमा थप उपचारका लागि आएकी थिइन् । सोमबार अस्पतालमा भर्ना भएकी उनको मंगलबार बिहान ६ बजे उपचारकै क्रममा मृत्यु भएको थियो ।
कोरोनाको नयाँ भेरिएन्ट आएपछि नेपालमा मृत्यु भएको यो पहिलो केश हो । मृतकको शव परिवारले बुझिसकेको प्रहरीले जनाएको छ ।
नोबेलमा उपचारका लागि आएकी महिलामा श्वासप्रश्वाससम्बन्धी समस्या रहेको बताइएको छ । उनी एक साताभन्दा लामो समयदेखि बिरामी रहेको पाइएको अस्पतालका प्रबन्धक दीपेश राईले जानकारी दिए ।
कोशी प्रदेशको मोरङ, झापा र इलाममा गरी पछिल्लो समय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
तीमध्ये एक जनाको ज्यान गएको हो । संक्रमितमध्ये झापाका ४ जना, मोरङका २ र इलामका १ जनाको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।