२८ जेठ २०८३, बिहीबार
निधिको सामर्थ्यको लेखाजोखा

विमलेन्द्र निधि– कुनै बेला देउवाका दाहिने हात, अहिले क-कसको छ साथ ?

असार १०, २०८२
काठमाडौं
विमलेन्द्र निधि– कुनै बेला देउवाका दाहिने हात, अहिले क-कसको छ साथ ?

‘अरू के गर्छन् थाहा छैन, म सभापतिमा उठ्ने नै हो,’ १४ औं महाधिवेशन हुनुभन्दा ५–७ महिना अघिदेखि नै गरेको दाबी विमलेन्द्र निधिले पुर्‍याएरै छाडेका थिए ।

सभापति शेरबहादुर देउवा टीमकै उपसभापति भए पनि निधिले आफू सभापतिमा उठ्ने कुरालाई प्रतिष्ठाको विषय नै बनाएका थिए । यसैले देउवा सभापतिमा उठे पनि निधि रोकिएनन् । तर, ढिपीको भरमा गरेको प्रतिस्पर्धा उनलाई फापेन ।

कुनै बेला देउवाका दाहिने हात उनी नतिजामा प्रकाशमान सिंहभन्दा पनि पछाडि परे । यसैले निधि १५ औं महाधिवेशनमा हचुवामा अगाडि नबढ्ने मानसिकतामा छन् । अघिल्लोपटक छिट्टै उम्मेदवारी घोषणा गरेका निधि यसपटक सबै स्थितिलाई आकलन गर्ने पक्षमा देखिएका हुन् । सदस्यता टुंगिएपछि मात्रै अलि सक्रियता बढाउने उनको भनाइ छ । 

‘हामी केही नेता आपसमा छलफल गर्दै आएका छौं । तर, सदस्यताको विषय टुंगो नलागी नेता विशेषको पक्षमा बहस गर्दैनौं,’ निधिले लोकान्तरसँग भने, ‘यद्यपि आ–आफ्नो तयारी गर्न हामी खुला छौं ।’

निधिले १४ औं महाधिवेशन र अहिलेको परिस्थिति भिन्नै रहेको बताए ।

‘त्यो बेला भिन्नै थियो, अहिले भिन्नै छ । अहिले पनि सभापतिको उम्मेदवार छु भन्ने सन्देश दिएको छु,’ निधिले भने, ‘तैपनि हामी सात/आठजना सिनियर नेताहरू छलफलमा छौं । युवा पुस्तालाई पनि समेटेर जानेबारे छलफलको प्रयास गरिएको छ । सदस्यता टुंगिएपछि हामी अझै विशेष छलफल गरेर अघि बढ्छौं ।’ 

महाधिवेशनको तयारीका लागि यसअघि पनि जिल्ला दौडाहा गरिसकेको उनले बताए । ‘बीचमा जिल्लाहरूतिर कार्यक्रम राखेर हिँडेको छु । संसद् चल्दा यतै व्यस्त हुन्छु,’ निधिले भने, ‘तर, फेरि जिल्ला नियमित जाने तयारीमा छु ।’

२०७८ मंसिरमा भएको १४ औं महाधिवेशनमा सभापतिको निर्वाचनमा शेरबहादुर देउवा, डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ उम्मेदवार बनेका थिए । 

विमलेन्द्र निधि

धेरै उम्मेदवार हुँदा कसैले पनि बहुमत प्राप्त गर्न सकेका थिएनन् । देउवाले २२५८, कोइरालाले १७२९, सिंहले ३७१, निधिले २४९ र कल्याण गुरुङले २० मत प्राप्त गरेका थिए । 

पहिलो चरणमा कसैले पनि बहुमत प्राप्त नगरेपछि सबैभन्दा बढी भोट ल्याउने देउवा र शेखरबीच पुन: प्रतिस्पर्धा भयो । 

दोस्रो चरणमा सिंह, निधि र गुरुङ तीनैजनाले देउवालाई समर्थन  गरेका थिए । देउवाले सिंह र निधिलाई सहजै आफ्नो पक्षमा मतदान गर्न सहमत गराएका थिए । दोस्रो चरणमा देउवा २७३३ मत ल्याएर विजयी भए । शेखरको १८५५ मत मात्रै आयो ।     

अबको महाधिवेशनको रेसमा सभापति देउवा हुने छैनन् । त्यसैले उनकै टीमका पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, विजयकुमार गच्छदारदेखि गोपालमान श्रेष्ठसम्मको दाबेदारी छ । दबाब दिन निधि, सिंह, सिटौलादेखि शशांकसम्मले पटक–पटक भेलाका कार्यक्रम राखिसकेका छन् । साझा नेता भने चयन गरिसकेका छैनन् । यिनैमध्ये नेता निधि पनि बलियो दाबेदार हुन् ।

हिजो देउवा उठ्दा कमजोर दाबेदार जस्तो देखिए पनि देउवाविनाको अनुहारमा निधि पनि उत्तिकै बलिया दाबेदार हुन् । यसपटक टीमबाट को अगाडि सर्ने भनेर देउवाले मुख खोलेका छैनन् । यसैले निधि पनि नहतारिने पक्षमा छन् । 

अघिल्लोपटक प्रतिस्पर्धा गरेर तेस्रो बढी मत ल्याएका निधि पनि १५ औं महाधिवेशनका दाबेदार मध्येका एक हुन् । देउवाको वरिष्ठ उपसभापति भइसकेर काम गरेको अनुभव निधिसँग छ । तर, देउवाले दाबेदारी नगर्दा पनि निधिलाई प्रमुख दाबेदार मानिएको छैन । यद्यपि, देउवा समूहका सभापतिका प्रमुख दाबेदारभित्र निधि पर्दैनन् । उपसभापति पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला र प्रकाशमान सिंह यो समूहबाट प्रमुख दाबेदार हुन् । उपसभापति खड्काले पनि देउवाले जस्तै गरी मुख खोलेका छैनन् । 

पत्रकार विन्दुकान्त घिमिरे देउवाले अन्तिमसम्म मुख नखोल्ने र सात नेताबीच कुरा नमिल्दा नेता विशेषको दाबीले केही नहुने बताउँछन् । 

‘आफू अघि नसर्ने भएपछि देउवाले कसले कति शक्ति आर्जन गर्लान् भनेर महाधिवेशनसम्म हेर्न खोजेका छन् । सात भाइमा निधि, सिंह, श्रेष्ठको दाबेदारीले मात्रै अर्थ राख्दैन । देउवाले शशांक भनिदिए उनी बलियो बलियो उम्मेदवार हुन सक्छन्,’ घिमिरे भन्छन्, ‘हामी ७ मध्ये एकजना भनेका भए अघिल्लोपटक नै दबाब दिन सक्थे । यसपटक पनि उनीहरूले हामीले एक जनालाई अघि सार्‍यौं भन्न सकेका छैनन् । अन्तिमसम्म पनि सक्दैनन् ।’  

निधिभन्दा नेता प्रकाशमानको स्थिति झन् कठिन रहेको घिमिरे बताउँछन् । 

‘अघिल्लोपटक शेरबहादुरको बहुमत आउनबाट रोकिएपछि मात्रै दोस्रो चरणमा सिंहले देउवालाई समर्थन गरे । तर, आफ्नो समूहबाट उपसभापति सुजातालाई उठाउने अनि दोस्रो चरणमा शेखरलाई भोट नदिई देउवालाई जिताउनतिर लागे,’ घिमिरे भन्छन्, ‘अन्तिममा देउवालाई समर्थन गरे, तर चुनावको मुखैमा छाडेको आफ्नो समूहलाई समर्थन नगर्नुले उनीमा पनि राजनीतिक इमान्दारिता छैन भन्ने देखिएको छ ।’

‘१४ औं महाधिवेशनमा सभापतिले नै उठ्ने इच्छा गरेपछि निधि दाइले चुपचाप समर्थन गर्दिएको भए अहिले अर्कै परिस्थिति बन्थ्यो,’ स्रोतले भन्यो, ‘तर, चुनाव उठेरै छाड्नुभयो । कमजोर उपस्थितिले बार्गेनिङ पावर झन् घटाइदियो । १५ औं महाधिवेशनमा त्यसको पनि प्रभाव पर्ने देखिन्छ ।’

स्वार्थका मान्छे नबनाएका निधि

देउवाको वरिष्ठ उपसभापति, गृहमन्त्री, पटक–पटक प्रभावशाली मन्त्रालय सम्हाले पनि निधि पावर पोलिटिक्सका लागि परिचित छैनन् । सभापति देउवा, गृहमन्त्री भइसकेका कृष्णप्रसाद सिटौला र बालकृष्ण खाँणले जसरी मान्छे संरक्षण गर्ने र गुटलाई बलियो बनाउने गरी निधि नलागेको उनीनिकट स्रोत बताउँछ । 

‘अरू कसरी पावर पोलिटिक्स गर्छन् भन्ने हाम्रै नेताहरूलाई हेर्दा थाहा पाइन्छ । तर, सधैं शक्तिको वरिपरि भए पनि निधिले त्यस्ता स्वार्थ समूह खडा गरेका छैनन् । गृहमन्त्री हुँदासमेत आफ्नो मान्छे सेट गर्न लागेनन्,’ निधिलाई नजिकबाट चिनेका एक नेता भन्छन् ।

ठूलो प्रोफाइलको नेता भए पनि निधिको मधेश प्रदेशमा दबदबा बाँकी छैन । 

‘१४ औं महाधिवेशनमा ५/७ महिना अगाडि नै सभापतिमा उम्मेदवारी घोषणा गर्दा निधिनिकट जिल्ला तहका नेताहरूलाई हराइदिए । देउवा र शेखर पक्षले पनि प्रभावकारी रणनीति बनाउन पाएका थिए,’ निधिबारेको कुराकानीमा स्रोत भन्छ, ‘तराई मधेशमा रामवरण यादव र कोइरालाका मान्छेसँग ट्युनिङ मिलाएर महेन्द्र यादवले आफ्नो समूह बलियो बनाएका छन् । गृहमन्त्री बालकृष्ण खाँण हुँदादेखि नै महेन्द्रले धेरै नेता/कार्यकर्ता तानेका छन् । देउवा र निधिनिकटका थुप्रै नेतालाई उनले आफूतिर खिचेका छन् । देउवा र निधिलाई समेत कमजोर बनाउने गरी महेन्द्र अगाडि आएका छन् ।’ 

मधेशमा महेन्द्र यादवका मान्छेले निधिभन्दा पूर्णबहादुरलाई पत्याउने कतिपयको दाबी छ ।

‘खाँण र यादवले निधिलाई जित्न नसक्ने बनाइदिए । प्राविधिक हिसाबले देउवा टीममा रहेका भनिए पनि महेन्द्रसँग धेरै नेता/कार्यकर्ता छन्,’ स्रोतले भन्यो, ‘यसैले महाधिवेशनको नजिक पुग्दा शक्ति सञ्चय कसरी हुन्छ, त्यसैले नेताहरूको स्ट्रेन्थ देखाउँछ ।’

null

यादव कांग्रेसको सहमहामन्त्री समेत हुन् । केन्द्रीय सदस्य, सांसद र जिल्ला सभापतिमा समेत निश्चित प्रतिशतको हिस्सा निधिको नभएको नेताहरू दाबी गर्छन् ।

‘कांग्रेसमा अझै पनि कोइराला परिवार, सिटौला, प्रकाशमानका गुट छन्, नेता पनि छन् भनेर चिनिन्छ,’ कांग्रेस स्रोत भन्छ, ‘तर गुटकै कुरा गर्दा विमलेन्द्र दाइलाई यसरी लिइँदैन ।’ 

शक्तिमा भए पनि व्यावहारिक काम नगरेको आरोप समेत निधिले खेप्ने गरेका छन् । निधि कांग्रेसमा तराई मधेशबाट प्रतिनिधित्व गर्ने सबैभन्दा ठूला नेता हुन् । तर, उनी चुनाव जित्नै संघर्ष गर्दै आएका छन् । अघिल्लोपटकको निर्वाचनमा निधि राजेन्द्र महतोसँग पराजित हुन पुगेका थिए । २०७९ मा भने उनी प्रत्यक्ष निर्वाचन लड्न हच्किए ।

उनी प्रतिनिधिसभामा समानुपातिक सांसद छन् । अघिल्लोपटक टिकट पाउने अवसरमा समेत चुनाव जित्न नसकेको र पार्टीलाई जिताउन नसकेको भन्दै निधि आलोचित भएका थिए । यसैले देउवाले पनि भित्री रूपमा निधिलाई भरोसा नगरेको नेताहरू बताउँछन् । 

‘१४ औं महाधिवेशनमा सभापतिले नै उठ्ने इच्छा गरेपछि निधि दाइले चुपचाप समर्थन गर्दिएको भए अहिले अर्कै परिस्थिति बन्थ्यो,’ स्रोतले भन्यो, ‘तर, चुनाव उठेरै छाड्नुभयो । कमजोर उपस्थितिले बार्गेनिङ पावर झन् घटाइदियो । १५ औं महाधिवेशनमा त्यसको पनि प्रभाव पर्ने देखिन्छ ।’

लामो समय देउवा टीममा भए पनि आईजीपी नियुक्ति प्रकरणमा समेत देउवासँग निधिको सम्बन्ध चिसिएको थियो । त्यसपछि चिसिएको सम्बन्धमा अझै पनि हार्दिकता नआएको बताइन्छ ।

salt training

कमेन्ट गर्नुहोस्