१९ असार २०८३, शुक्रबार
मिटरब्याजले सुकुम्बासी बन्यो परिवार

आठ लाख ऋणले ८० लाखको जग्गा गुम्यो, न्याय खोज्दा उल्टै पीडितलाई हप्कीदप्की

असार १३, २०८२
विराटनगर
आठ लाख ऋणले ८० लाखको जग्गा गुम्यो, न्याय खोज्दा उल्टै पीडितलाई हप्कीदप्की
पीडित रामवती राजवंशी ।

२०७१ सालमा घरखर्च चलाउन समस्या परेपछि मोरङको कटहरी गाउँपालिका–२ की ५५ वर्षीय रामवती राजवंशीले जग्गा धितोमा राख्न पति कृष्णप्रसादसँग सल्लाह गरिन् । घर सल्लाहबमोजिम उनले आफ्नो नाममा रहेको कित्ता नम्बर ३०९ को ५ कट्ठा जग्गा डम्बरकुमारी दाहालका नाममा रजिस्ट्रेसन पास गरिदिइन् र पाँच लाख रुपैयाँ ऋण लिइन् । उनकै नाममा रहेको सोही ठाउँको अर्को कित्ता नम्बर ३१० को ३ कट्ठा जग्गा लिलावती यादवका नाममा रजिष्ट्रेसन पास गरिदिएर ३ लाख रुपैयाँ ऋण लिइन् । 

राजवंशीका अनुसार उनले दुवै जनालाई सावाँ र ब्याज भुक्तानी गर्न सकिनन् । लिलावतीले भने सन्तोषकुमार मण्डलको नाममा धितो सारेर आफ्नो रकम फिर्ता लिइन् ।

फेरि डम्बरकुमारी दाहाल र मण्डलको नाममा रहेको दुईवटै कित्ताको ८ कट्ठा जग्गा कटहरी गाउँपालिकाका पूर्वअध्यक्ष रामकुमार कामतले आफ्नो नाममा ल्याए र डम्बरकुमारी र मण्डलको ऋण सावाँ ब्याज तिरिदिए । 

नेपाली कांग्रेस कटहरीका नगरसभापतिसमेत रहेका कामत रामवतीको जग्गा आफ्नो नाममा लिने तेस्रो व्यक्ति हुन् । उनी कांग्रेसबाटै गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए । हाल गाउँपालिकामा कांग्रेसबाटै निर्वाचित देवराज चौधरी अध्यक्ष छन् भने एमालेबाट निर्वाचित सीतादेवी राजवंशी उपाध्यक्ष छिन् ।

त्यसपछि राजवंशीले आफूले दिएको रकम ब्याजसहित तिर्न खोजिन् । कामतले २०७४ सालको चुनावपछि तिर्न भाका सारे। २०७४ सालको चुनावपछि राजवंशीले सावाब्याजसहित पैसा तिर्ने र कामतले जग्गा फिर्ता गर्ने सहमति भयो ।

कटहरी गाउँपालिकाका पूर्वअध्यक्ष रामकुमार कामत ।

उनी निर्वाचित पनि भए । राजवंशीका अनुसार निर्वाचन जितेपछि कामतले पैसा लिन मानेनन् र जग्गा फिर्ता गर्ने सर्त पनि पालना गरेनन् । उल्टै धम्काउन थाले । चुनाव जितेपछि ‘जग्गा फिर्ता दिन्न के गर्ने हो गर्नू’ भन्दै धम्काएको पीडित रामवतीले बताइन् । ‘चुनावअघि हामीले पैसा तिर्न खोजेका थियौं । उहाँले चुनावपछि दिनु भन्नुभयो,’ राजवंशीले भनिन्, ‘भोट दिएर चुनाव जितायौं तर, त्यसपछि उहाँले कुरा फेर्नुभयो । पैसा पनि लिनुभएन र जग्गा पनि फिर्ता दिनुभएन । उल्टै हामीलाई धम्क्याउन थाल्नुभयो ।’ अहिलेसम्म पैसा तिर्छुभन्दा पनि आफूले जग्गा फिर्ता नपाएको उनको भनाइ छ । 

२०७५ सालसम्म रामवतीले नै जग्गा भोगचलन गरिरहेकी थिइन् । ७६ सालदेखि भने कामतले नै भोगचलन गर्न शुरू गरे । राजवंशी परिवार सुकुम्बासी बनेर अर्काको जग्गामा बस्दै आएको छ । त्यसपछि पीडित राजवंशीले २०८१ जेठ ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइन्  । दुई पटकसम्म छलफल भए पनि उनले न्याय नपाएको उनले गुनासो गरिन् । 

मिटरब्याजसम्बन्धी कानून बनेपछि जिल्ला प्रहरी कार्यालयमा परेका उजुरीहरू जिल्ला प्रशासन कार्यालयमा हस्तान्तरण भए ।  जिल्ला प्रशासन कार्यालयमा सो विषयमा पटक–पटक छलफलको प्रयास भए पनि उनले न्याय पाएकी छैनन् । 

२०८२ सालको वैशाखमा दुवै पक्षलाई राखेर छलफल भएको थियो । छलफलका क्रममा कामतले आफूले रामवतीबाट जग्गा नै नलिएको  जिकिर गरेका थिए । कामतले डम्बरकुमारी दाहाल र सन्तोष मण्डलबाट धितो सकारेर जग्गा लिएको देखिएको अनुसन्धानमा खटिएका अधिकारीहरू बताउँछन् । दोस्रोपटक पनि छलफलमा बोलाएपछि भने कांग्रेसका नेताहरूले कर्मचारीहरूलाई नै धम्की दिन थाले । गृहमन्त्री आफ्नै पार्टीको भएको भन्दै सरुवा गरिदिने धम्की नेताहरूले दिने गरेको कर्मचारी बताउँछन् । 

कांग्रेस मोरङका जिल्ला नेताहरूले नै जिल्ला प्रशासन कार्यालयका कर्मचारीलाई यसबारे थप प्रक्रिया अघि नबढाउन चेतावनी दिएको कर्मचारीको भनाइ छ । 

पीडित राजवंशीका छोरा इन्द्रकुमार राजवंशीले यसअघि जिल्ला अदालत मोरङमा लिखत बदरको माग गर्दै दिएको मुद्दा हारेका थिए । यस्तै, मिटरब्याजसम्बन्धी लेनदेन विषयमा छलफल अगाडि नबढाउन भन्दै उच्च अदालतमा पनि अर्को निवेदन परेको छ । अदालतमा विचाराधीन विषयमा छलफल नगराउन कांग्रेस नेताहरूले प्रशासन कार्यालयलाई दबाब दिने गरेको कर्मचारीको भनाइ छ । 

जिल्ला प्रशासन कार्यालयका अनुसार ८ लाख रुपैयाँमा लिएको जग्गा २८ लाखमा किनेको कामतले बताएका छन् । उनले २८ लाखमै जग्गा किनेका हुन् भने अगाडिका दुई जना डम्बरकुमारी दाहाल र सन्तोष मण्डललाई छानबिन गर्नुपर्छ । तर, उनीहरूमाथि छानबिन गर्ने कुरामा कांग्रेस नेताहरू सहमत छैनन् । 

पीडित रामवती राजवंशी भने आफूले धितो राखेर ऋण लिएको बताउँछिन् । ‘मैले धितो लगाएको हो । ८ कट्ठा जग्गा राखेर ८ लाख लिएको हो । त्यसबेला जग्गाको मूल्याङ्कन ८० लाखजति थियो । बाटोको जग्गा हो,’ राजवंशीले भनिन्, ‘अहिले त २५ लाख रुपैयाँ कट्ठाभन्दा बढी छ ।’

उनले आफ्नो जग्गाको धितो सार्दै सार्दै रामकुमार कामतसम्म पुगेको दाबी गरिन् ।  जिल्ला प्रशासन कार्यालयले लामो समयपछि गरेको छलफलका क्रममा निवेदन नै खारेज गर्नुपर्छ भन्ने दबाब आएको उनले सुनाइन् । छलफलका क्रममा कांग्रेसका नेताहरूले आएर धम्की दिन गरेको उनले बताइन् । ‘धेरै दु:ख पायौं । जग्गा पनि दिँदैन । ८ कट्ठा जग्गा थियो । त्यो पनि गयो । अहिले अर्कैको जग्गामा बसेका छौं,’ उनले भनिन् । 

मिटरब्याज पीडित संघर्ष समितिकी सदस्य कृष्णकुमारी श्रेष्ठले पीडितको पक्षमा बोल्ने कोही नभएको गुनासो गरिन् । छरछिमेकीले पनि जग्गा बिक्री गरेको नभई धितो राखेको सुनाएको श्रेष्ठले बताइन् । पीडितको पक्षमा आफूले बोल्दा पनि धम्की आएको उनले सुनाइन् । ‘मैले पीडितको पक्षमा बोल्दा तँ धेरै नबोल भनेर धाकधम्की दिएका थिए । उनीहरूले निवेदन ननिकाले मुद्दा हाल्ने भनेर प्रमुख जिल्ला अधिकारीकै अगाडि धम्की दिए । यो निवेदन किन दर्ता गरेको भनेर प्रेसर गरे,’ श्रेष्ठले भनिन् । 

यता, रामकुमार कामतले भने विचौलियाहरूले बिना कारण आफूविरुद्ध निवेदन दिएको दाबी गरे । विचौलियाहरूले अनावश्यक लान्छना लगाउने गरेको उनको आरोप छ । ‘मेरो प्रतिष्ठामा धक्का पुर्‍याउने खालको काम भएको छ । यो ठूलो कुरा होइन । जग्गा मैले ऊसँग लिएको पनि होइन । दोस्रो व्यक्तिबाट लिएको हो,’ उनले भने, ‘मैले जिल्ला प्रशासन कार्यालयमा पनि सबै कुरा भनेको छु । त्यो जग्गा उसले जसलाई बेच्यो । उसैलाई सोध्दा पनि मैले किनेको हो भन्यो । त्यसपछि सकियो नि,’ कामतले भने । 

कांग्रेस मोरङका कार्यबाहक सभापति भक्ति माझीले आफ्ना नेताको प्रतिष्ठामा आँच आउने काम भएको कारण आफूले अब्जेक्सन राखेको बताए । ‘एउटा प्रतिष्ठित व्यक्तिलाई त्यसरी बोलाउन पाइन्छ र ? निवेदन दर्ता गर्ने बोलाउने हुन्छ ? उहाँ मेरो पार्टीको कटहरी गाउँपालिका सभापति हो । पूर्वअध्यक्ष हो,’ उनले भने, ‘त्यतिखेर खाँचो परेर ऋण लिने र सापटी लिने गरेको होला । अनि अहिले त्यसो भन्न पाइन्छ ?’ 

माझीले निवेदनको छलफलका क्रममा आफू पनि प्रशासन कार्यालय गएको स्वीकार गरे । ‘छलफलमा म पनि गएको हो । उजुरी हाल्ने महिला नै झुटा हो । अदालतले झुटा मुद्दा हाल्नेलाई नै कारबाही गर्नुपर्छ । उबेला जग्गा बेच्ने, अहिले मिटरब्याजीले ठगे भनेर हुन्छ ?’ माझीले भने ।

स्रोतका अनुसार कामतविरुद्ध पालिकाको न्यायिक समितिमा मिटरब्याजसम्बन्धी दर्जन बढी उजुरी दर्ता भएका छन्  । तर, पालिकाले नै कामतलाई संरक्षण गरेको पीडितको आरोप छ ।

salt training

कमेन्ट गर्नुहोस्