०७ साउन २०८३, बिहीबार

मनोविज्ञान र परामर्शमा पहिलो राष्ट्रिय सम्मेलन

असार १४, २०८२
काठमाडौं
मनोविज्ञान र परामर्शमा पहिलो राष्ट्रिय सम्मेलन

नेपालमा मनोविज्ञान र मनोपरामर्शको क्षेत्रमा पहिलो राष्ट्रिय सम्मेलन भएको छ । 

त्रिभुवन विश्वविद्यालय मनोविज्ञान केन्द्रीय विभाग र परामर्श मनोविज्ञान स्नातकोत्तर कार्यक्रमको संयुक्त आयोजनामा भएको सम्मेलन त्रिविको केन्द्रीय क्याम्पसका विभिन्न हलमा सञ्चालन भएको थियो । 

सम्मेलनको उद्घाटन गर्दै त्रिविका रेक्टर प्राडा. दुविनन्द ढकालले यस्ता कार्यक्रमले मनोविज्ञान मात्रै नभएर सामाजिक विज्ञानका क्षेत्रमा सकारात्मक योगदान गर्ने बताए । उनले यस्ता सम्मेलनको आगामी वर्षमा पनि निरन्तरताका लागि आग्रह गरे । 

‘सामाजिक क्षेत्रमा देखिएको विभिन्न जटिलतालाई यस्ता किसिमका सम्मेलनले सम्बोधन गर्न भूमिका खेल्छ’, उनले भने, ‘आफ्नो स्थानबाट समाजलाई सकारात्मक दिशा प्रदान गर्न यो सम्मेलनले महत्त्वपूर्ण शुरूआत गरेको छ । आगामी दिनमा यसको दायरा बढाउँदै लगियोस् भन्ने शुभकामना प्रदान गर्छु ।’

त्यस्तै, त्रिवि क्याम्पसका प्रिन्सिपल प्राडा. अक्कलदेव मिश्रले देशभरबाट शिक्षा क्षेत्रमा लागेका बुद्धिजीवी र आधुनिक पुस्ताका लागि यस्तो भेला महत्त्वपूर्ण हुने बताए । यस्तो सम्मलेनमा मनोविज्ञानमा नेपाली माटो सुहाउँदो विषयमा छलफल र बहस गर्ने विश्वास व्यक्त गरे । 

‘अहिले राष्ट्रिय सम्मेलन आयोजना भएको छ । यो सह्रानीय शुरूआत हो’, उनले भने, ‘आउँदा दिनमा अन्तर्राष्ट्रिय सम्मेलन गर्नेगरि लाग्नुपर्छ ।’

मनोविज्ञान केन्द्रीय विभागका प्रमुख डा. खेमराज भट्टले नेपालमा २०३८ सालदेखि मनोविज्ञानको शुरू भएको तर नेपालकै सांस्कृतिक र धरातलीय यथार्थमा भएका अनुसन्धानको भने कमी रहेकाले पनि यस क्षेत्रको विकासका लागि अध्ययन अनुसन्धान आवश्यक रहेको बताए । जसको यथार्थ महसुस गरेर नै पहिलो राष्ट्रिय सम्मेलन आयोजना गरिएको बताए । 

परामर्श मनोविज्ञान स्नातकोत्तर कार्यक्रमका संयोजक डा. सन्देश ढकालले लामो प्रयास र सबैको साथ सहयोगले सम्मेलन आयोजना सम्भव भएको बताउँदै सहभागीलाई धन्यवाद दिए । विभागका पूर्वप्रमुख, अध्यापक, विद्यार्थीको संयुक्त प्रयासले यो सम्भव भएको ढकालको भनाइ छ । 

मनोविज्ञान विभागका पूर्वप्रमुख प्राडा. शिशिर सुब्बाले मनोविज्ञान र परामर्श सँगसँगै जानुपर्ने बताए । ‘मनोविज्ञानले सिद्धान्त प्रतिपादन गर्छ जसलाई परामर्शले व्यवहारिक जीवनमा लागू गर्छ’, उनले भने, ‘त्यसैले यी दुवैको संयोजनमा आयोजित यो सम्मेलन पहिलो राष्ट्रिय सम्मेलन हो ।’

उनका अनुसार यसअघि करिब ३५ वर्षअघि पहिलो मनोविज्ञानको सम्मेलन भएपनि त्यसपछि भने निरन्तरता पाएको थिएन, यो सम्मेलन पुनः शुरू भएको छ ।

सम्मेलनमा करिब २०० जना सहभागी थिए भने ३२ जनाले आफ्नो अनुसन्धान पत्र प्रस्तुत गरेका थिए । जसमा बालबालिकाको सुस्वास्थ्य, मनोविज्ञानमा देखिएका आधुनिक समस्या, नेपालको मौलिकतामा मनोविज्ञानको विकासदेखि अहिलेको डिजिटल सुस्वास्थ्य विषयमा अनुसन्धान पत्र प्रस्तुत भएका थिए ।

कमेन्ट गर्नुहोस्