१० असार २०८३, बुधबार
१५ भन्दा बढी महत्त्वपूर्ण अनुसन्धान

क्यान्सरका हानिकारक ब्याक्टेरिया मार्ने भाइरस पत्ता लगाउँदै मनमोहन विश्वविद्यालय

असार १५, २०८२
विराटनगर
क्यान्सरका हानिकारक ब्याक्टेरिया मार्ने भाइरस पत्ता लगाउँदै मनमोहन विश्वविद्यालय

मोरङको बुढीगंगा गाउँपालिका- ४ हात्तीमुढास्थित मनमोहन प्राविधिक विश्वविद्यालयले प्राविधिक विश्वविद्यालयको गौरव बोकेर आफ्नो यात्रा शुरू गरेको छ ।

कोशी प्रदेश सरकारले स्थापना गरेको यो विश्वविद्यालयले स्थापनाको छोटो अवधिमा नै उल्लेखनीय प्रगति गरेको छ । २०७६ सालमा स्थापना भएको यो विश्वविद्यालयको स्थापनामा मनमोहन स्मृति पोलिटेक्निकका प्राचार्य डा. सुवासश्री पोखरेलको अहम भूमिका रहेको छ ।​

प्रदेशसभाबाट ६ असोज २०७६ मा स्वायत्त विधेयक पारित गराएर औपचारिक रूप लिएको यो संस्थाले मनमोहन स्मृति प्रतिष्ठानको कूल २ अर्ब ६५ करोड बराबरको सम्पत्ति र सञ्चालनको दायित्व हस्तान्तरण गरेको छ ।

विश्वविद्यालयमा हाल तीन वटा स्कूल सञ्चालनमा छन् । स्कूल अफ इन्जिनियरिङ, स्कूल अफ मेडिसिन एण्ड एलाइड हेल्थ साइन्सेज र स्कूल अफ एप्लाइड साइन्स, टेक्नोलोजी एण्ड ल, स्नातक तहमा सिभिल इन्जिनियरिङ, इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ, औषधि विज्ञान (फार्मेसी) र स्नातकोत्तर तहमा अस्पताल व्यवस्थापन र एलएलएम इन क्रिमिनिल ल सञ्चालन गरिरहेको छ ।

विश्वविद्यालयले बीबीए एलएलबी कार्यक्रम पनि सञ्चालन गरेको छ । यसैगरी, फार्मेसीको दोस्रो व्याच र इलेक्ट्रिकल इन्जिनियरिङ कार्यक्रम यसै वर्षदेखि शुरू गर्ने योजना रहेको छ । करिब २१ विगाहा क्षेत्रफलमा फैलिएको विश्वविद्यालयको भौतिक संरचना प्रभावशाली छ । चार तले पारामेडिकल भवन, तीन तले साइन्स भवन निर्माण सम्पन्न भइसकेको छ भने पाँच तले प्रशासनिक भवन निर्माणाधीन छ । विश्वविद्यालयमा आफ्नै अनुसन्धान केन्द्र, आधुनिक ल्याब, भौतिक वस्तु परीक्षण गर्ने व्यावसायिक ल्याब र आधुनिक लाइब्रेरी सञ्चालनमा छन् ।

मनमोहन अनुसन्धान केन्द्रमार्फत् १५ भन्दा बढी महत्त्वपूर्ण अनुसन्धान कार्य सम्पन्न भएका छन् । विश्वविद्यालयले आफ्नै सेवा आयोग र परीक्षा नियन्त्रण कार्यालय पनि सञ्चालनमा ल्याइसकेको छ ।

विश्वविद्यालयले महत्वाकांक्षी दश वर्षे शैक्षिक कार्ययोजना तयार गरेको छ । पहिलो पाँच वर्षे योजना अन्तर्गत ७ वटा स्नातक र ५ वटा स्नातकोत्तर विषय सञ्चालन गर्ने लक्ष्य रहेको छ । दोस्रो पाँच वर्षे योजनामा ६ वटा स्नातक, ५ वटा स्नातकोत्तर र २ वटा विषयमा विद्यावारिधि सञ्चालन गरेर कूल २५०० जना विद्यार्थीलाई प्रत्यक्ष लाभान्वित गराउने उद्देश्य रहेको छ ।

उपकुलपति डा. सुवासश्री पोखरेलको नेतृत्वमा विश्वविद्यालयले प्रगति गरेको छ । दक्षिण कोरियाको चोङबुक नेशनल युनिभर्सिटीबाट सूचना तथा सञ्चार विषयमा विद्यावारिधि गरेका उनले २०११ देखि मनमोहन स्मृति पोलिटेक्निकमा कार्यकारी प्रमुखको रूपमा काम गरेका छन् । उनको नेतृत्वमा पोलिटेक्निकले चार पटक देशकै उत्कृष्ट प्राविधिक शिक्षालयको ‘बेस्ट इन्स्टिच्युट’ अवार्ड पाएको थियो ।

डा. पोखरेलले विदेशमा बसेर धेरै आम्दानी गर्नुको सट्टा स्वदेशमा बसेर प्राविधिक शिक्षाको विकासमा योगदान दिने निर्णय गरेका छन् । उनले विश्वविद्यालयलाई दश वर्षभित्र दक्षिण एसियामै चिनाउने लक्ष्य राखेका छन् ।

विश्वविद्यालयको सबैभन्दा ठूलो चुनौती बजेटको अभाव हो । मनमोहन प्रतिष्ठानसँग भएको सम्झौता अनुसार कोशी सरकारले हरेक वर्ष ६० प्रतिशत लगानी गर्नुपर्ने भएता पनि हालसम्म जम्मा १७ करोड मात्र बजेट उपलब्ध गराउन सकेको छ । अर्को चुनौती भनेको आफ्नै शिक्षण अस्पताल नहुनु हो, जसले स्वास्थ्य क्षेत्रका प्राविधिक विषयहरूमा उच्च शिक्षा सञ्चालनमा बाधा पुर्‍याइरहेको छ ।

तर, सकारात्मक पक्षमा हेर्दा विश्वविद्यालयले सीमित बजेटमा पनि उल्लेखनीय प्रगति गरेको छ । ७ नियमावली र ९ निर्देशिका निर्माण गरेर संस्थागत संरचना बलियो बनाएको छ । विदेशी विश्वविद्यालयहरूसँग भगिनी सम्बन्ध स्थापना गरेको छ ।

विश्वविद्यालय स्थापना भएपछि बुढीगंगा गाउँपालिका ‘स्मार्ट सिटी’को रूपमा विकास हुने सम्भावना बढेको विश्वविद्यालयको दाबी छ । आसपासका पालिकाले पनि विश्वविद्यालयको संरचना आफ्नो ठाउँमा निर्माण गरिदिन आग्रह गर्न थालेका छन् ।

उत्पादनमुखी शिक्षा प्रणालीमार्फत् आत्मनिर्भर जनशक्ति तयार गरेर देशको विकासमा योगदान दिने यसको लक्ष्य छ । तर, दीर्घकालीन सफलताका लागि बजेट अभावको समस्या समाधान गर्न र अस्पताल जस्ता आवश्यक पूर्वाधार निर्माण गर्न प्रदेश सरकारको ठोस प्रतिबद्धता आवश्यक छ ।

विश्वविद्यालयले सन्चो, भिक्स र बाम तेलजस्ता उत्पादनहरू विकास गर्नुका साथै क्यान्सरजन्य रोगका लागि हानिकारक ब्याक्टेरिया मार्ने भाइरस र मधुमेह नियन्त्रण गर्ने जडीबुटीमा आधारित औषधिको अनुसन्धान पनि अन्तिम चरणमा पुर्‍याएको जनाएको छ ।

मनमोहन प्राविधिक विश्वविद्यालयले आफ्नै उत्पादन शुरू गर्ने नेपालकै पहिलो विश्वविद्यालय बन्ने प्रयास गरेको उनले बताए । ‘पढ्दै कमाउँदै’ भन्ने अवधारणालाई मूर्तरूप दिन विश्वविद्यालयले सन्चो, भिक्स र बाम जस्ता आयुर्वेदिक उत्पादनहरू तयार गरिसकेको छ । जसलाई बजारीकरणका लागि सरकारी अनुमतिको पर्खाइमा राखिएको पोखरेलले जनाए ।

यसका साथै, विश्वविद्यालयले दुईवटा महत्त्वपूर्ण अनुसन्धानमा आफूलाई केन्द्रित गरेको छ । एन्टिबायोटिकले काम नगर्ने अवस्थामा हानिकारक ब्याक्टेरियालाई नष्ट गर्न सक्ने फाइदाजनक भाइरस पत्ता लगाउने अनुसन्धान अन्तिम चरणमा पुगेको छ । र, यो सफल भएमा स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि हासिल हुने पोखरेलको दाबी छ ।

यस्तै, मधुमेह रोग नियन्त्रणका लागि नेपालकै हिमालयन जडीबुटीमा आधारित औषधि विकास गर्ने अनुसन्धान पनि मनमोहन प्राविधिक विश्वविद्यालयमा भइरहेको छ । विश्वविद्यालयले इन्जिनियरिङ, स्वास्थ्य विज्ञान र विज्ञान तथा कानून गरी तीनवटा स्कूलअन्तर्गत विभिन्न स्नातक र स्नातकोत्तर कार्यक्रम सञ्चालन गरिरहेको छ । बीबीए, एलएलबी, क्रिमिनल ल र हस्पिटल म्यानेजमेन्ट जस्ता विशिष्ट कार्यक्रमहले विद्यार्थीलाई आकर्षित गरेको छ ।

सन् २०३० सम्ममा ३०० बेडको शिक्षण अस्पताल, १८ वटा अत्याधुनिक प्रयोगशाला, तारामण्डल र विज्ञान संग्रहालय स्थापना गर्ने विश्वविद्यालयको महत्वाकांक्षी लक्ष्य रहेको पोखरेलले सुनाए । प्रदेश सरकारले धनकुटा जिल्ला अस्पताललाई मनमोहन विश्वविद्यालय मातहत ल्याउने नीति लिएको छ, जसलाई विश्वविद्यालयले अवसरको रूपमा हेरेको छ ।

मनमोहन प्राविधिक विश्वविद्यालयले प्राविधिक शिक्षा र अनुसन्धानमा नयाँ आयाम थप्ने प्रयास गरे पनि आर्थिक संकट र प्रशासनिक ढिलासुस्तीका कारण संघर्षरत रहेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्