२८ जेठ २०८३, बिहीबार
आलेख

शेखर कोइराला– कांग्रेसमा अग्रज पंक्ति र युवालाई जोड्न सक्ने विकल्प

असार १५, २०८२
काठमाडौं
शेखर कोइराला– कांग्रेसमा अग्रज पंक्ति र  युवालाई जोड्न सक्ने विकल्प
  • लोकराज अवस्थी

हरेक संघ–संस्था, संगठन तथा राजनीतिक पार्टीको आफ्नै जीवनपद्धति हुन्छ । आफ्नो शैली हुन्छ । संस्था अगाडि बढ्दै जाँदा विगतदेखिको मूल्य मान्यता, सिद्धान्त र पद्धति पनि सँगसँगै जोडिएर आउँछ । अर्को भाषामा भन्दा कुनै संस्था कसले र कसरी जन्मायो, अनि हुर्कायो भन्ने कुराले अधिक महत्त्व राख्छ । स्थापनाकालको लक्ष्य, उद्देश्य र तय गरिएको गन्तव्यमा पुग्नेगरी संस्था चल्यो कि चलेन ? वा, नेतृत्वले विधिअनुसार संस्था चलायो कि चलाएन ? यी र यस्तै संस्थाको जीवनसँग जोडिएको घटना परिघटनाले संस्थाको वर्तमान जनाउँछ । अनि, त्यो संस्था कति जीवन्त छ ? कति चलायमान छ ? र, कति विधिअनुसार अगाडि बढिरहेको छ ? यी कुराले संस्थाको मूल्यांकन हुने गर्छ । नेपालमा अधिकांश संस्थाहरू स्थापनाकालको लक्ष्य र उद्देश्य अनुकूल चल्न सकिरहेका छैनन् । समय र नेतृत्वअनुसार विस्तारै कार्यदिशा तथा लक्ष्य परिवर्तन गर्ने गरेका प्रशस्त उदाहरणहरू छन् । त्योमध्ये नेपाली कांग्रेस पनि एक हो ।

यहाँ उठाउन खोजिएको प्रसंग नेपाली कांग्रेसको हो । बीपी कोइरालाको नेतृत्वमा दुईतिहाइ ल्याएको शक्तिशाली पार्टी २०७९ सालसम्म कसरी कम्युनिस्टसँग गठबन्धन गर्न बाध्य भयो, यो अहम् विषय हो । अधिकांश कांग्रेसीजनहरूको मन उठिरहेको प्रश्न पनि हो । अर्को कुरा, २०१५ सालमा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले आधुनिक नेपाली समाजको कल्याणका लागि नागरिकमुखी कार्यक्रम र बजेट ल्याउनुभएको थियो ।

त्यसले नेपाली समाजलाई उन्नत पथमा अगाडि बढाउन आधार तयार गरेको थियो । तर, त्यही बीपी कोइरालाको पार्टी नेपाली कांग्रेस गठबन्धन सरकारमा सहभागी भएर कम्युनिस्टमैत्री नीतिको किनाराको साक्षी बन्न पुगेको छ । प्रजातान्त्रिक समाजवादको लक्ष्यबाट विमुख भएर कम्युनिस्टमुखी नीति तथा कार्यक्रम थपेर बजार पास गरिरहेको छ । यो नै नेपाली कांग्रेसमा आएको वैचारिक विचलनको नमूना हो ।

२०४६ सालपछि पटक–पटक नेपाली कांग्रेस एक्लै वा मिलिजुली सरकारको नेतृत्व गर्दै आइरहेको छ । यो अवधिमा देश विकास गर्ने अवसरलाई अधिकतम उपयोग गर्न सकेन । सँगै, नेपाली कांग्रेसको नेतृत्वमा भएको खुला उदारीकरण र सामाजिक परिवर्तनलाई संस्थागत गर्नमा पटक–पटक चुक्यो । आमनागरिकलाई परिवर्तन र त्यसले ल्याएका उपलब्धिहरूको बारेमा बुझाउन सकेन, जसका कारण नेपाली कांग्रेसको जग खल्बलियो । र, आम नागरिकहरूले नेपाली कांग्रेसलाई नै किन चुन्ने भन्ने प्रश्नको जवाफ पाएनन् ।

नेपाली कांग्रेस नेतृत्वलाई दुई तरिकाले हेर्नुपर्छ । पहिलो कुरा, नेपाली कांग्रेसको नेतृत्वले किन नेपाली समाजका आवश्यकता, चाहना र समस्याहरूलाई सम्बोधन गर्न सकेन ? वा, पार्टीलाई किन विधि पद्धति तथा लक्ष्यअनुसार चलाउनमा चुक्यो ? शक्त वैचारिक नेपाली कांग्रेस कसरी विचारहीन बन्दै गयो ? पार्टी कसरी पैसावालहरूको जालोमा फस्दै गयो ? सामान्य जीवनशैली भएको नेताहरू पार्टी वा सरकारको नेतृत्वमा पुगेपछि कसरी सौखिन र धनाढ्य बन्न पुगे ? आदिइत्यादि प्रश्नहरू पार्टी नेतृत्वप्रति तर्सिन्छन् ।

दोस्रो कुरा, २०४६ सालपछि नेपाली कांग्रेसको अगुवाइमा केही भएन भन्यो भने त्यो अन्याय र प्रतिशोधात्मक टिप्पणी हुन्छ । नेपाली कांग्रेसको अगुवाइमा शिक्षा, स्वास्थ्य, विकासका भौतिक पूर्वाधार निर्माण तथा सञ्चारमा आएको क्रान्तिलाई कम आँक्न मिल्दैन । सामाजिक न्यायको पाटोमा भएको परिवर्तन अर्को मुख्य उपलब्धि हो । साथै, जातीय, क्षेत्रीय, सामाजिक तथा लैंगिक समानता, आर्थिक उदारीकरण तथा मानवअधिकारको सुनिश्चितताको क्षेत्रमा पनि नीतिगत तथा संरचनागत विकास भएका छन् । तर, फेरि पनि किन नेपाली कांग्रेसप्रति नेपाली जनता आश्वस्त हुन सकिरहेका छैनन् ? किन नेपाली कांग्रेसको विकल्प खोजिरहेका छन् ? किन नेपाली कांग्रेसलाई पूर्ण विश्वास गरिरहेका छैनन् ? यी प्रश्नहरूले नेपाली कांग्रेस जनतासँग जोडिन सकिरहेको छैन भन्ने कुराको पुष्टि हुन्छ । वा, उत्कृष्ट नेतृत्वको अभाव रह्यो भन्ने देखिन्छ ।

वास्तवमा जीवन्त र लोकतान्त्रिक पार्टीमा नीतिगत तथा वैचारिक उतारचढावहरू आउने गर्छन् । पार्टी जीवनमा समस्या, चुनौती तथा कठिनाइहरू पनि आउँछन् । कहिलेकाहीँ जनताले बुझ्न समय लाग्ने पनि गर्छ । पार्टीको वैचारिक कार्यधारामा विचलन आउँछ । तर, यी र यस्तै समस्या, चुनौती र कठिनाइबाट पार्टीलाई नयाँ गतिमा लैजानका लागि कुशल नेतृत्वको आवश्यकता पर्ने गर्छ । पार्टीलाई बुझेको र सबैलाई न्याय गर्न सक्ने खुला विचार बोकेको नेतृत्वले मात्र पार्टीलाई चलायमान र शक्त बनाउँछ । नेपाली कांग्रेसले यस्तै क्षमतावान, वैचारिक र समन्वयकारी नेतृत्व खोजेको वर्षौं भइसक्यो ।

अब नेपाली कांग्रेसमा शेरबहादुर देउवाको युग सकिन लागेको छ । एकछत्र १० वर्ष नेतृत्व गरेका शेरबहादुर देउवा अब विधानतः तेस्रो कार्यकालको नेतृत्वका लागि उम्मेदवार बन्न पाउने छैनन् । १० वर्षमा नेपाली कांग्रेसले के पायो, के गुमायो, त्यो समीक्षाको विषय हो । तर अहिले देउवा युगको समाप्तिपछि नेपाली कांग्रेसको नेतृत्व कसले गर्ने भन्ने बढी चासोको विषय बन्दै आएको छ । विधानतः २०८२ मंसिरभित्र हुनुपर्ने पार्टीको १५ औं महाधिवेशन तोकिएको मितिभित्र हुने कुनै सम्भावना छैन । मानौं आजकै मितिबाट तयारीमा लागे पनि मंसिरभित्र महाधिवेशन हुन सक्दैन ।

महाधिवेशनभन्दा पहिले जहिले पनि विवादको कारण बन्ने पार्टी क्रियाशील सदस्यता वितरण तथा नवीकरण यो वर्ष पनि उस्तै छ । महामन्त्री गगन थापाको संयोजकत्वमा गठन भएको क्रियाशील छानबिन समितिले हालसम्म कुनै उल्लेखनीय काम गर्न सकेको छैन । अधिकांश जिल्लामा क्रियाशील सदस्यता नवीकरण हुन सकेको छैन । नयाँ क्रियाशील वितरणमा पनि विवाद छ । क्रियाशील सदस्यता विवाद नटुंग्याइ कांग्रेसको महाधिवेशनको परिकल्पना गर्न पनि कठिन हुन्छ ।

पार्टीमा शेरबहादुर देउवाको कार्यकालपछि सरल र उच्च विचार भएको र सबै पुस्तासँग समन्वय गर्न सक्ने नेताको खाँचो छ । अहिले पार्टीमा या त युवाका नाममा चर्का भाषण गर्नेहरूको संख्या बढी छ, या त अग्रज पुस्ताको दबदबा छ । युवा र अग्रज पुस्तालाई जोड्ने नेतृत्व कम रहेको बेला शेखर कोइराला त्यसका लागि उचित नेता हुन् ।

पार्टीभित्र प्राविधिक समस्या जे भए पनि नेपाली कांग्रेसको १५ औं महाधिवेशनपछि कसले पार्टी नेतृत्व गर्ने भन्ने विषय अहम् हो । पार्टी सभापति शेरबहादुर देउवा युगपछि कसको युगमा पार्टी प्रवेश गर्छ भन्ने कुरा सर्वत्र चासोको विषय बनेको छ । हाल पार्टीभित्रको संगठनको अवस्था, वैचारिक नेतृत्वको अगुवाइको हिसाबले अब नेपाली कांग्रेसमा शेखर कोइराला युग शुरू भइसकेको छ । उनको सक्रियताले पार्टीभित्र उनी आशा र भरोसायोग्य नेताको रूपमा स्थापित भएका छन् । १४ औं महाधिवेशनमा पराजित भएपछि उनले पार्टी संगठन र पार्टीभित्रको सुदृढीकरणका लागि लगातार काम गरिरहे । हरेक कार्यकर्तासँग जोडिँदै आए । कार्यकर्तामाझ गएर पार्टीको बारेमा विचार विमर्श गरिरहे, जसका कारण उनी बिस्तारै सर्वस्वीकार्य नेता बन्दै गए ।

पार्टीप्रतिको लगाव तथा निरन्तर पार्टी गतिविधिलाई आधार मान्ने हो भने कसैले नचाहेर पनि कांग्रेस शेखर युगमा गइसकेको छ । वर्तमान पार्टी सभापति, महामन्त्री तथा पदाधिकारीभन्दा पनि शेखर कोइराला संगठन निर्माणका लागि देशभर दौडधूपमा बढी सक्रिय छन् । सुदूरपश्चिमदेखि कर्णाली, मधेश हुँदै कोशीका पूर्वी पहाडसम्म आफ्नो अभियान निरन्तर कार्यकर्ता माझ लगिरहेका छन् । पार्टीभित्र हुने गरेका मनोमानी तथा विधान विपरीत गतिविधिको बारेमा आवाज उठाइरहेका छन् । पार्टीलाई विधिसम्मत ढंगले अगाडि बढाउन पार्टी नेतृत्वलाई दबाब सिर्जना गरिरहेका छन् । राष्ट्रिय राजनीतिसँग जोडिएका विषयमा पनि खुलस्त र पारदर्शी ढंगले विचार प्रवाह गरिरहेका छन् । जसले समग्रमा नेपाली कांग्रेसको नेतृत्व गरिरहेका छन् । देशमा भइरहेका बेथिति तथा विकृतिविरुद्ध पार्टीका नेता तथा पदाधिकारी मौन बसिरहेको बेला शेखर कोइरालाले देख्ने, सुन्ने र बुझ्ने गरी आवाज उठाइरहेका छन् । त्यति मात्र नभएर, कार्यकर्तालाई आह्वान गरिरहेका छन् । यी कारणले पनि पार्टी शेखर युगमा गइसकेको छ ।

पार्टीमा शेरबहादुर देउवाको कार्यकालपछि सरल र उच्च विचार भएको र सबै पुस्तासँग समन्वय गर्न सक्ने नेताको खाँचो छ । अहिले पार्टीमा या त युवाका नाममा चर्का भाषण गर्नेहरूको संख्या बढी छ । या त अग्रज पुस्ताको दबदबा छ । युवा र अग्रज पुस्तालाई जोड्ने नेतृत्व कम रहेको बेला शेखर कोइराला त्यसका लागि उचित नेता हुन् ।

पार्टी सबैको हो । पार्टीभित्र सबैलाई न्याय हुन्छ । शेखर कोइराला पार्टीले कसैलाई अन्याय गर्दैन भन्ने सुनिश्चितता दिलाउन सक्ने क्षमता र नेतृत्व भएका नेता हुन् । यसलाई उनको विचार, सरल जीवनशैली र परिपक्व अनुभवले पनि पुष्टि गर्छ ।

अर्को कुरा, नेपाली कांग्रेसमा खट्किएको कुरा नेतृत्वको जीवनशैली हो । आम नेपालीजस्तै नेतृत्वको पनि जीवनशैली हुनुपर्छ । अहिलेका पदाधिकारी तथा सरकारको नेतृत्व गरेका मन्त्रीको जीवनशैली निकै भड्किलो बन्दै गएको छ, जसले आमनेपालीलाई बेखुशी बनाएको छ । पार्टीका कार्यक्रममा होस् या सार्वजनिक कार्यक्रममा, नेताहरू साउथ इन्डियन फिल्मको शैलीमा लावालस्करसहित देखिन्छन् । त्यो पनि चिल्लो महंगो गाडीमा विलासितासहित जाने गर्छन् । जसका कारण आमजनतामा पार्टी र नेतृत्वप्रति नकारात्मक धारणा बन्दै गइरहेको छ ।

पार्टी भुइँमान्छेको पनि हो । नेता पनि हामीजस्तै सर्वसाधारण हुन्छन् । र, नेपाली कांग्रेस भुइँमान्छेकै पार्टी हो भन्ने विश्वास दिलाउन पनि अब १५ औं महाधिवेशनबाट शेखर कोइरालाको आवश्यक नेतृत्व देखिन्छ । आम नागरिक, पार्टीका कार्यकर्तादेखि नेतासम्मले पनि अबको पार्टी नेतृत्वमा शेखर कोइरालाको आवश्यकता महसुस गरिरहेका छन् । त्यो कुरा पार्टीभित्र र बाहिर जता-तता उठिरहेको छ ।

नेपाली कांग्रेसलाई बलियो, वैचारिक र चलायमान बनाउनका लागि भावी नेतृत्वका लागि गम्भीर भएर सोच्ने समय आएको छ । एकछिनको लोकप्रियताका लागि चर्का कुरा गर्ने वा आफ्नो व्यक्तिगत स्वार्थका लागि अन्धभक्त गुट निर्माण गर्ने दुवै पार्टीका लागि घातक हुन् । यिनीहरूले पार्टी तथा देशभन्दा आफू र वरिपरिकाहरूको हितका लागि मात्र काम गर्छन् । गठबन्धनले थिल्थिलिएको पार्टीलाई फेरि पनि धारासायी बनाउँछन् ।

अब सबै नेता तथा कार्यकर्ताले सुझबुझका साथ आफ्नो निर्णय लिने समय आएको छ । कठिन समयमा पार्टी जोगाउनु नेता तथा कार्यकर्ताको दायित्व हो । पार्टी बलियो नभए लोकतन्त्रको सुदृढीकरण हुन सक्दैन । यसका लागि स्वतन्त्र आशा र भरोसायोग्य नेतृत्वको खाँचो रहेको छ । त्यो नेतृत्व भनेको शेखर कोइराला हो । उनी नै यसका लागि उपयुक्त नेता हुन् । यही निर्णय नै नेपाली कांग्रेस र देशको हितमा हुनेछ ।

(नेपाली कांग्रेसमा सक्रिय अवस्थी समसामयिक राजनीतिको विषयमा लेख्छन् ) 

salt training

कमेन्ट गर्नुहोस्