२४ जेठ २०८३, आइतबार
न्यायका लागि प्रहरीमा एलिना

आज मलाई परेको भोलि सबैलाई पर्छ, न्याय नपाए प्रधानमन्त्री समेत गुहार्छु– एलिना चौहान

असार १६, २०८२
काठमाडौं
आज मलाई परेको भोलि सबैलाई पर्छ, न्याय नपाए प्रधानमन्त्री समेत गुहार्छु– एलिना चौहान

गायिक एलिना चौहान यतिबेला चर्चामा छिन् । सामाजिक सञ्जालमा आफूप्रति नकारात्मक र भ्रामक सामग्री पोस्ट तथा कमेन्ट गर्नेहरूको प्रोफाइल सार्वजनिक गर्दै कारबाहीको माग गर्दै आएकी चौहानको प्रयासलाई धेरैले प्रशंसा गरेका छन् ।

सोमबार चौहान आफैं नेपाल प्रहरीको साइबर ब्यूरोमा पुगेर चार जनाविरुद्ध विद्युतीय कसुरमा कारबाही गर्न माग गर्दै उजुरी लिएर पुगेकी छिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले समेत ‘साहसी छोरीहरू’ भनेर बधाई दिएका थिए ।

प्रहरीमा दिएको उजुरीको प्रसंगलाई लिएर लोकान्तरकर्मी सुवास गोतामेले चौहानसँग गरेको कुराकानीको सम्पादित अंश

तपाईंले आज साइबर ब्यूरोमा उजुरी दिनु भएको हो ?

हो । मैले चार जनाविरुद्ध विद्युतीय कसुरमा कारबाहीको माग गर्दै उजुरी दिएको हुँ ।

धेरै दिनसम्म चुपचाप बस्नु भयो, अहिले किन उजुरी दिनुभएको हो ?

मैले पहिला पनि मेराविरुद्ध गरिएका कमेन्टको जवाफ दिँदै आएको थिएँ । पटक–पटक जवाफ दिँदा पनि कमेन्टहरू रोकिएनन्, त्यसपछि कानूनी रूपमै जान्छु भनेर उजुरी दिएको हुँ ।

न्याय पाउँछु भन्नेमा विश्वस्त हुनुहुन्छ ?

मेरो लडाइँ मसँग मात्रै सम्बन्धित छैन, धेरै छोरीहरू मजस्तै पीडामा छन् । कतिले देखाउन सक्दैनन्, प्रस्तुत हुन सक्दैनन् । अब त अति भयो भनेर मैले प्रधानमन्त्री कार्यालयसम्म पुगेर पनि न्यायको लागि लड्छु भनेर विश्वस्त भई उजुरी दिएको हुँ ।

तपाईंलाई त प्रधानमन्त्रीले पनि बधाई दिनुभयो नि ?

हो । मैले साइबर ब्यूरोमा पनि प्रहरीहरूलाई भनेको थिएँ, कारबाही गर्न तपाईंहरूलाई कतैबाट रोकतोक भयो भने म प्रधानमन्त्रीज्यूसम्म पुगेर पनि बाटो खुलाउँछु । चरित्रहत्याका क्रियाकलाप रोक्ने काम सरकारको हो । नारीमाथिको अत्याचार अब सहन सकिँदैन ।

तपाईं न्यायका लागि लड्दा अरूका लागि पनि नजिर स्थापित होस् भन्ने चाहनुहुन्छ हो ?

हो । आज सामाजिक सञ्जाल हेर्नुभयो भने जो जसले पनि अरूको चरित्रहत्या गरिदिएका छन् । कानून छ, तर कारबाही छैन । यो मेरो मात्रै लडाईं होइन, अरू महिलाहरूको लागि पनि हो । यसले एउटा नजिर स्थापित होस् र कानून कार्यान्वयन पनि होस् भनेरै उजुरी दिएका हुँ ।

अन्त्यमा के भन्नुहुन्छ ?

देशमा कानून छ । मेराविरुद्ध चरित्र हत्या गर्नेहरूका मसँग प्रशस्तै प्रमाण छन् । अनि न्याय नपाउने भन्ने पनि हुन्छ र ? मैले न्याय पाउनुपर्छ । मैले न्याय पाएँ भने अरू नारीहरूले पनि न्याय पाउँछन् । यसले एउटा नजिर बस्छ । प्रमाण हुँदाहुँदै पनि न्याय पाइनँ भने प्रधानमन्त्रीज्यूलाई समेत गुहार्छु । 

salt training

कमेन्ट गर्नुहोस्