
काठमाडौं, २१ मंसिर - प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुलाई कसैले प्रश्न उठान नसक्ने गरी मतगणनाको काम सम्पन्न गर्न निर्देशन दिएका छन् । दोस्रो चरणको निर्वाचन सकिए लगत्तै निर्वाचन आयोगमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत उनले मतगणनामा कसैले पनि प्रश्न उठान नसक्ने गरी निर्देशन दिएका हुन् ।
यादवले निर्वाचन सम्पन्न गर्न सफल भएकोमा मुख्य निर्वाचन अधिकृत सहित सबै कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई बधाई समेत ज्ञापन गरे । उनले पहिलो चरणको मतगणना अहिलेदेखि नै शुरु भएको र दोस्रो चरणको मतगणना चाहिँ मतपेटिकाहरु जिल्ला सदरमुकाममा ल्याइसकेपछि हुने बताए ।
यादवले सबैभन्दा धेरै गुल्मी जिल्लामा ७१ प्रतिशत मतदान भएको बताए । देशभर समग्रमा ६५ प्रतिशत भोट खसेको उनले बताए ।
उनले देशभर मतदाताहरुको उत्साहपूर्ण सहभागिता रहेको बताए । साथै उनले देशभर छिटफुट बाहेक शान्तिपूर्ण तरिकाले मतदान भएको पत्रकार सम्मेलनमा जारी गराए ।
आज भएको निर्वाचनमा अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका १ अन्तर्गत मथुरा निम्न मावि मतदान केन्द्र क र ख को मतदान स्थगित गरिएको उनले बताए । केही दिनमै सो केन्द्रमा फेरि निर्वाचन गरिने उनले बताए ।