२८ जेठ २०८३, बिहीबार
रुपन्देही ३ को उपचुनाव

दीपक बोहराका २ छोरा राप्रपा र रास्वपाबाट उम्मेदवार बन्ने चर्चा, नागरिक उन्मुक्तिबाट कुलमान !

असार १८, २०८२
बुटवल
दीपक बोहराका २ छोरा राप्रपा र रास्वपाबाट उम्मेदवार बन्ने चर्चा, नागरिक उन्मुक्तिबाट कुलमान !

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका लागि रुपन्देही– ३ मा कात्तिक १७ गते उपनिर्वाचन गराउने भनी मिति तय गरेसँगै रूपन्देहीमा चुनावी सरगर्मी शुरू भएको छ । आयोगले मतदाता नामावली अध्यावधिक प्रक्रिया दुई हप्तादेखि शुरू गरेसँगै चुनावी माहोल गर्माउन थालेको हो ।

वि.सं. २०७९ सालको निर्वाचनमा रूपन्देही– ३ बाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा वरिष्ठ नेता दीपक बोहराको निधन भएसँगै यो क्षेत्र खाली थियो । ‘पोस्ट कोभिड’ समस्याले पीडित बोहराको १९ चैत २०८१ मा उपचारका क्रममा निधन भएको हो । उपचुनाव निश्चित भएसँगै राजनीतिक पार्टीबाट उम्मेदवारका आकांक्षीले टिकट हात पार्न आफ्नो सक्रियतालाई तीव्रता दिएका छन् ।  

को–को नेता छन् चर्चामा  ?

केन्द्रीय राजनीतिमा सधैं प्रभावशाली पहिचान बनाएको यो क्षेत्रमा अधिकांश शहरी मतदाता छन् । गएको निर्वाचन (२०७९) मा बोहराले बहालवाला गृहमन्त्री बालकृष्ण खाँणलाई कुनै चुनावी भाषणविनै २ हजार ६८१ मतान्तरले पराजित गरेका थिए । बोहराले ३६ हजार ७१७ र खाँणले ३४ हजार ३६ मत पाएका थिए ।

नेकपा एमालेबाट प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने आश्वासन दिएसँगै उनले चुनावी क्षेत्रमा व्यस्तता बढाइसकेका छन् । एमालेबाट भट्टराईसँगै व्यवसायी शशी पौडेल र भैरहवाका नेता भरत पोखरेलको नाम पनि चर्चामा छ ।

एमालेबाट उम्मेदवार बन्ने आकांक्षा धेरैले देखाए पनि अन्तिममा टिकट पाउँदा भट्टराईको सम्भावना बढी रहेको एमाले वृत्तमा चर्चा छ । नेता भट्टराईले राष्ट्रिय सभामा १६ महिना कार्यकाल रहेको अवस्थामा राजीनामा दिएर गत आम चुनावमा रुपन्देही–५ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गरेका थिए । सोही क्षेत्रबाट एमालेकै नेता वासुदेव घिमिरेले पनि उम्मेदवारी दर्ता गरेका थिए ।

खिमलाल भट्टराई

भट्टराईले आफ्नै पार्टीका नेता घिमिरेको उम्मेदवारीको फाइल नै खोस्ने प्रयास गरेको भन्दै निकै आलोचना पनि भएको थियो । दुवै नेताको उम्मेदवारी दर्तापछि निर्वाचन आयोगले पहिले दर्ता गरेको भन्दै घिमिरेलाई आधिकारिता दिएको थियो ।

एमाले रूपन्देहीका अध्यक्ष यज्ञ गैरेले उम्मेदवारको विषयमा अहिलेसम्म जिल्लामा छलफल नचलेको बताए । ‘अहिले नै को हुन्छ भन्ने विषय आइसकेको छैन,’ उनी भन्छन्, ‘पार्टीमा सक्षम र योग्य धेरै नेताहरू हुनुहुन्छ ।’

भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता खाँण फेरि आफ्नै चुनावी तयारीमा जुटेका छन् । जेलबाट छुटेपछि उनी प्राय: यही क्षेत्रमा विभिन्न कार्यक्रममा सहभागी हुँदै आएका छन् । शरणार्थी काण्डको ‘दाग’ लागेसँगै खाँणलाई पनि योपटक चुनाव अनुकूल नहुने कांग्रेसका कतिपय नेता तर्क गर्छन् । चुनावी माहोलको आकलन गरेर आफू सफल हुने अवस्था देखिएमा अघि सर्ने र परिस्थिति फेरिए आफ्नो पक्षकै अर्को कुनै पात्रलाई अघि सार्ने खाँणको तयारी देखिन्छ ।

कांग्रेसबाट खाँणपछि भरत शाह र प्रमोद कुमार यादवमध्ये एक जना अघि सार्ने सम्भावना देखिन्छ । जिल्लाकै क्षेत्र नम्बर ५ बाट एमालेका वासुदेव घिमिरेसँग पराजित भएका भरत कुमार शाह र क्षेत्र नम्बर ४ बाट पराजित प्रमोद यादव खाँणपछिका आकांक्षी हुन् । शाह एमालेका वासुदेव घिमिरेसँग र यादव लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता सर्वेन्द्रनाथ शुक्लासँग पराजित भएका थिए ।

बालकृष्ण खाँण

आफू उम्मेदवार नभएको खण्डमा शाह र यादवमध्ये कसलाई टिकट दिने भन्ने कुरा खाँणमै निर्भर रहेको बताइन्छ । स्रोतका अनुसार खाँणले उम्मेदवारी दर्ता मितिसम्म सकभर आफूविरुद्धको मुद्दा अन्तिम किनारा लगाएर आफै चुनावी मैदानमा होमिने तयारी गरेको समेत चर्चा छ । उनले अघिल्लोपटक राप्रपालाई सघाएको सत्ता साझेदार एमालेको समेत यसपटक साथ पाउने आश समेत व्यक्त गरेका छन् ।

यता बोहराको निधनपछि राप्रपाबाट उम्मेदवार बन्न उनका दुवै छोरा प्रज्ज्वल र गौरव आकांक्षी हुन् । प्रज्ज्वल र गौरव दीपक बोहराका अलग–अलग श्रीमतीका छोरा हुन् । पञ्चयतकालदेखि यस क्षेत्रमा भिजेका नेता बोहरा बिरामी हुँदा समेत उनको पारिवारिक ‘लिगेसी’लाई धानेका प्रज्ज्वल उम्मेदवार हुने चर्चा राप्रपाभित्र बढी छ । युवामाझ छोटो समयमा राम्रो पकड बनाएका प्रज्ज्वल उम्मेदवार हुँदा चुनाव जित्न सहज हुने राप्रपाका स्थानीय नेताहरू बताउँछन् ।

प्रज्ज्वल बोहरा

उता गौरव बुद्ध एयरका सिनियर पाइलट समेत हुन् । उनले पनि अहिले आएर चुनाव लड्ने आकांक्षा राखेका छन् । राप्रपाबाट टिकट नपाए उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट भए पनि चुनाव लड्ने तया

रीमा रहेको निकटस्थहरू बताउँछन् । गौरव र रास्वपा नेताहरूबीच भेटघाट भइरहहे पनि उनले यसबारे बोलेका छैनन् ।

गौरव बोहरा

राप्रपा रुपन्देहीका नेता तथा सिद्धार्थनगर नगरपालिका वडा नम्बर– ४ का वडाध्यक्ष मुक्तिनाथ यादव हलो चुनाव चिह्न लिएर जो उम्मेदवार बने पनि जीत निकाल्ने दाबी गर्छन् । ‘विगतदेखि दीपक बोहराको यो क्षेत्रको विकासमा ठूलो योगदान छ,’ यादव भन्छन्, ‘यो क्षेत्रले अभिभावक गुमाएको छ । त्यस्तै विकासप्रेमी नेताको खोजी जनताले राप्रपाबाट नै गरेका छन् ।’

काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाह समर्थकहरूले पनि उपयुक्त पात्रको खोजी गरिरहेको चर्चा सुनिन्छ ।

बालेन समर्थक र रास्वपाबीच सहमति कायम गरेर एकजना उम्मेदवार खडा गरे जीत निकाल्ने उनीहरूको विश्वास छ । यसका लागि एउटा समूहले गृहकार्य गरिरहेको चर्चा छ ।

तराई मधेशकेन्द्रित पार्टीहरूले साझा उम्मेदवार उठाउने तयारी गरेका छन् । यो मधेशी समुदायको उल्लेख्य मत रहेको क्षेत्र हो । साझा उम्मेदवार उठाउँदा जित्न सहज हुने उनीहरूको साझा बुझाइ छ । गत साता उनीहरू काठमाडौंमा भेला भएका थिए । मोर्चामा आबद्ध ७ दल जसपा, लोसपा, नागरिक उन्मुक्ति लगायत एक ठाउँमा उभिने तयारीमा छन् । जनमत पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष राजेन्द्र गुप्ताले तराई मधेश केन्द्रित सबै दलको तर्फबाट नागरिक उन्मुक्ति पार्टीको उम्मेदवार अघि सार्ने तयारी भएको बताए ।

‘नाउपाबाट रेशम चौधरी, धनिराम चौधरी र कुलमान घिसिङमध्ये एकजना उम्मेदवार बन्नुहुन्छ,’ उनले लोकान्तरसँग भने, ‘किनकि यो क्षेत्रमा सबैभन्दा बढी मत उसैको भएको हुनाले हामी एक भएर जनमतको उम्मेदवारलाई अघि सार्नेमा करिब टुंगोमा पुग्न लागेका छौं ।’

कुलमान घिसिङ

 

यता नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले उपचुनावको उम्मेदवार चयन गर्ने जिम्मा रेशम चौधरीलाई दिइएको लोकान्तरसँग बताइन् । यो नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालको क्षेत्र पनि हो ।

उनी पनि उपनिर्वाचनमा उम्मेदवार बन्न सक्ने सम्भावना पनि छ । नेकपा (माओवादी केन्द्र) बाट स्थायी समिति सदस्य तथा पूर्वराज्यमन्त्री हकिकुल्ला खाँ र जिल्ला इन्चार्ज सोनिया यादवको नाम चर्चामा छ । तर, भुसाल उठेको अवस्थामा माओवादीले यो क्षेत्र छाड्न सक्ने चर्चा राजनीतिक वृत्तमा छ ।

तीन वर्ष अघि समानुपातिक मत कस्को कति

विस.२०७९ सालको चुनावमा रुपन्देही–३ मा कांग्रेसले समानुपातिकमा २० हजार २७८ मत ल्याएको थियो । एमालेले १६ हजार ९८६ मत पाउँदा रास्वपाको १४ हजार १५४ मत छ । राप्रपाले भने, जम्मा ९ हजार १८३ मत पाएको थियो । त्यस्तै नागरिक उन्मुक्ति पार्टीले ६ हजार र जनता समाजवादी पार्टी (जसपा) ले ५ हजार मत ल्याएका थिए । लोसपाले ५ हजार, जनमत पार्टीले ३ हजार ७००, माओवादी केन्द्रले २ हजार ६०० सय, जनमुक्ति पार्टीले १ हजार ९००, हाम्रो नेपाली पार्टी (लौरो) ले १ हजार ३४७ र नेकपा एकीकृत समाजवादीले ७८१ समानुपातिक मत पाएका थिए । रूपन्देही–३ मा १ लाख ३९ हजार ७६४ मतदाता छन् । मतदाता नामावली अध्यावधिकसँगै मतदाता एक लाख ५० हजार पुग्ने अनुमान छ ।

त्यसलाई निर्वाचन आयोगले अद्यावधिक गर्न लागेको छ । यो क्षेत्रमा बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र सिद्धार्थनगर नगरपालिका, सियारी, शुद्धोधनलाई समेटिएको छ । नेपाल–भारत सीमा क्षेत्र बेलहिया नाकादेखि बुटवल उपमहानगरको वडा नम्बर १४ देखि १९, सिद्धार्थनगर नगरपालिका, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिकाको वडा नम्बर ७ र ८, ओमसतिया गाउँपालिकाको वडा नम्बर २, सियारी गाउँपालिकाका वडा नम्बर १, २, ३, ६ र ७ तथा तिलोत्तमा नगरपालिकाका वडा नम्बर १३ र १४ पर्छन् । स्थानीय तहको परिणामअनुसार यो क्षेत्रमा कांग्रेस बलियो देखिन्छ । सात पालिकामध्ये कांग्रेसले माओवादीसँगको गठबन्धनमा ६ वटामा प्रमुख र २ पालिकामा उपप्रमुख जितेको छ । एमालेले १ पालिकामा प्रमुख र ४ पालिकामा उपप्रमुख जितेको छ । लोकतान्त्रिक समाजवादीले १ पालिकामा उपप्रमुख जितेको छ ।

घनश्याम भुसाल

विगत ३२ वर्षको को कस्को जीतहार

यो क्षेत्रमा कांग्रेस र एमालेले राप्रपालाई साथमा लिएर चुनाव लड्दै आएका छन् । निर्वाचन क्षेत्र निर्धारण आयोगले २०७४ अघि क्षेत्र निर्धारण गर्नुपूर्व रुपन्देहीमा ७ वटा निर्वाचन क्षेत्र थिए । २०७४ मा निर्वाचन क्षेत्र पुनर्संरचना भएर ५ वटा क्षेत्र बनेपछि  रुपन्देहीमा निर्वाचन क्षेत्र नम्बर ३ को नयाँ भूगोल कायम भएको हो । आजभन्दा ३२ वर्षअघि २०४८ सालमा कांग्रेसका रामकृष्ण ताम्राकारले चुनाव जितेका थिए ।

त्यसपछि २०५१ को मध्यावधि निर्वाचनमा एमालेका धनपति उपाध्यायले चुनाव जिते । एमालेका उपाध्यायको निधनपछि रिक्त रहेको सो क्षेत्रमा उपचुनाव हुँदा २०५२ मा एमालेकै घनश्याम भुसालले जितेका थिए । फेरि २०५६ सालमा फेरि कांग्रेसका ताम्राकार जित हासिल गरे । २०६४ सालमा क्षेत्र पुनर्संरचना भएपछि अहिले क्षेत्र नम्बर ३ मा नै पर्ने तत्कालीन क्षेत्र नम्बर २ बाट बोहरा र क्षेत्र नम्बर ३ बाट खाँण विजयी निर्वाचित भए । खाँणले एमालेका लिला गिरीलाई पराजित गरेका थिए ।

२०७४ सालमा नेपाली कांग्रेसले दीपक बोहरालाई उम्मेदवार बनाएर बालकृष्ण खाँणलाई समानुपातिक सांसद बनाएको थियो । तर, एमालेका तर्फबाट घनश्याम भुसालले ३२ हजार ८६६ मत ल्याएर जिते । बोहराले २७ हजार ४२२ मत ल्याएका थिए । त्यतिबेला एमाले र माओवादी केन्द्र सहकार्य गरेर चुनाव लडेका थिए । २०७९ सालमा दीपक बोहरा राप्रपाबाट एमालेको साथ पाउँदै विजयी हुँदा कांग्रेसका बालकृष्ण खाँण दोस्रो भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्