
उपभोक्ता अदालतको निर्णयको विरोधमा देशभरका चिकित्सक आन्दोलित भएका छन् ।
नेपाल चिकित्सक संघले चिकित्सकीय लापरबाही सम्बन्धी उपभोक्ता अदालतका पछिल्ला फैसलाले नेपाल मेडिकल काउन्सिलको अधिकार क्षेत्रसँग बाझिएको भन्दै आन्दोलित भएका हुन् ।
यसैक्रममा नेपाल चिकित्सक संघ लुम्बिनी प्रदेशको अगुवाइमा बिहीबार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा विरोध कार्यक्रममा चिकित्सक, कानुनविद्, मानवअधिकारकर्मी, औषधि व्यवसायी लगायत सरोकारवालाहरूले ऐन परिमार्जनको माग गरे ।
कार्यक्रममा संघका अध्यक्ष डा.कृष्ण खरेलले ऐन चिकित्सकको मनोबल तोड्ने खालको भएको भन्दै यसको विरोधमा उत्रिनु परेको बताए । अस्पताल र मन्दिर भनेको आश गर्ने ठाउँमात्र भएको तर्क दिँदै उनले मानिसको भाग्य र आयु पहिले नै तोकिएको हुने बताए ।
उनले चिकित्सकबाट उपचारको क्रममा हुने सम्भावित त्रुटिबारे छानबिन गर्ने जिम्मा नेपाल मेडिकल काउन्सिलको रहेकोले यस्ता मुद्दा उपभोक्ता अदालतमा नलाने व्यवस्था मिलाउन उपभोक्ता संरक्षण ऐन, २०७५ मा संशोधन गर्न माग गरे ।
कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. इन्द्र ढकालले चिकित्सकहरूलाई मानसिक तनावमा पार्ने गरी कार्यस्थलमा असहज वातावरण सिर्जना गरिएको गुनासो गरे ।
‘चिकित्सकीय निर्णयमा त्रुटि भन्ने आधारविना करिब १ करोड क्षतिपूर्ति दिने व्यवस्था असह्य छ’ उनले भने ।
मानवअधिकार तथा शान्ति समाजका पूर्व केन्द्रीय अध्यक्ष गोविन्द खनालले यो ऐन नागरिकमैत्री र स्वस्थ्यमैत्री नभएको दाबी गरे ।
नेपालमा अहिले बाहिर गएर सेवा लिने अवस्था सिर्जना भएको उनले बताए । स्वास्थ्य क्षेत्रका अन्य संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा सरकारले चिकित्सकको मनोबल गिराउने गरि ल्याएको ऐन पुनरावलोकन गर्न र सरोकारवाला पक्षसँग छलफल गरेर नीति तय नगरे थप चरणवद्ध आन्दोलन गर्ने बताए ।